तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साफ महिला च्याम्पिअनशिपमा नेपाल पाँच पटक फाइनलमा, अब उपाधि जित्ला?
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
‘महिला साफ च्याम्पिअनशिप’ को फाइनल खेलको इतिहास हेर्नुपर्छ, नेपालको निम्ति 'मन कटक्क दुख्ने' खालको छ।
दक्षिण एसियाको महिला फुटबलको यो सबैभन्दा ठुलो प्रतियोगिताको छैटौँ संस्करण सम्पन्न भइसक्दा नेपालले पाँच पटक फाइनल खेलिसक्यो, तर कहिल्यै उपाधि जित्न सकेको छैन।
कैयौँ फुटबलप्रेमी आशायुक्त जिज्ञासु सुनिन्छन्, नेपाल दक्षिण एसियाको च्याम्पिअन कहिले बन्ला?
काठमाण्डूको दशरथ रङ्गशालामा बिहीवारबाट सुरु हुने प्रतियोगितामा आयोजक नेपालले त्यसको जबाफ दिने प्रयास गर्ने छ।
नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन्, “हाम्रो उद्देश्य भनेकै फाइनल जित्नु हो।”
त्रिपक्षीय भिडन्त
दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा छ। छ संस्करणमा ऊ पाँच पटकको विजेता हो।
सन् २०१० बाट सुरु भएको साफ च्याम्पिअनशिपको एक दशकमा भारतले जति पटक उपाधि उचालेको छ, त्यति नै पटक फाइनलमा पुगेर नेपाल पराजित भएको छ।
पाँचौँ संस्करणदेखि बाङ्ग्लादेशको सशक्त उपस्थिति देखिन्छ। त्यसपछि प्रतियोगितामा रोमाञ्च थपिएको अनुभव गरिए पनि दुई वर्ष अगाडि भएको छैटौँ संस्करणमा मात्र भारतको हैकम तोडिएको हो।
त्यस बेला काठमाण्डूको दशरथ रङ्गशालामा बाङ्ग्लादेशले भारतलाई लीग चरणमा पराजित गर्यो। अनि सेमिफाइनलमा नेपालसँग स्तब्ध हुँदै भारत पहिलो पटक फाइनल नखेली घर फर्कियो।
तैपनि नेपालले फाइनल ‘जिङ्क्स’ तोड्न सकेन र बाङ्ग्लादेशसँग पराजित हुँदै पुनः उपविजेतामै सीमित हुनुपर्यो।
दोस्रो पटक फाइनल खेलेको बाङ्ग्लादेशले उपाधि जितेर इतिहास बनायो।
यसपालिको उपाधि भिडन्त पनि भारत, नेपाल र बाङ्ग्लादेशबीच हुने जानकारहरूको आकलन पाइन्छ।
दबदबा तोडिएको भारतीय टोली आफ्नो वर्चस्व फर्काउने योजनामा हुने छ। डिफेन्डिङ च्याम्पिअन बाङ्ग्लादेश उपाधि रक्षाको लक्ष्यमा हुने नै भयो।
नेपाली खेल अधिकारीहरू भन्छन्, आयोजक नेपालको एक मात्र लक्ष्य भनेको उपविजेता को ‘ट्याग’ हटाउनु हो।
बाँकी चार राष्ट्र भुटान, श्रीलङ्का, पाकिस्तान र मालदिभ्सबीच भने शीर्षस्थ चार स्थानमा अटाउनका निम्ति प्रतिस्पर्धा हुने विश्लेषण गरिन्छ।
भारतीय प्रशिक्षक सन्तोष कश्यपले खेलअघिको पत्रकार सम्मेलनमा भनेका छन्, “नयाँ प्रतियोगिता खेल्दा इतिहास बिर्सिनुपर्छ।”
कस्तो छ नेपाली टोली?
नेपाली टोली यसपालि बलियो मानिएको छ।
आठ महिनाअगाडि साउदी अरेबियामा भएको पश्चिम एशियाली फुटबल प्रतियोगिता ‘वाफ च्याम्पिअनशिप’मा नेपाली महिला खेलाडीहरूले पस्केको सुन्दर खेल नेपाली समर्थकहरूले बिर्सेका छैनन्।
त्यही टोली दशरथ रङ्गशालामा फर्किँदै छ, प्रशिक्षक पनि उनै राजेन्द्र तामाङ।
फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङ् गाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी स्ट्राइकर सावित्रा भण्डारी र युएईको अवुधावी कन्ट्री क्लबबाट खेलिरहेकी रेखा पौडेलसँग थप अनुभव हुने छ। रश्मिकुमारी घिसिङले त्यसमा साथ दिने छिन्।
नेपालको रक्षापङ्क्ति बलियो मानिन्छ। हिराकुमारी भुजेल, गीता राना, अमृता जैसी, पूजा राना अनुभवी खेलाडीहरू हुन्।
नेपाली प्रशिक्षक तामाङ भन्छन्, “विगतमा हाम्रो कमजोरी भनेको रक्षापङ्क्ति थियो। त्यो पर्खाल मजबुत बनाउनु आवश्यक छ।”
मध्यपङ्क्तिमा रेनुका नगरकोटे फर्किएकी छन्। पूर्वकप्तानसमेत रहेकी उनी चोटको कारण पछिल्लो संस्करणमा टोलीमा थिइनन्। उनीसँगै चर्चित प्रीति राई, दीपा शाही र सरु लिम्बू मध्य क्रमका मुख्य खेलाडी हुने छन्।
अनुभवी अनिता बस्नेतले उनीहरूलाई साथ दिने छिन्।
कप्तान गोलकीपर अञ्जिला तुम्बापो सुब्बाले नियमित पोस्ट सम्हाल्ने छिन्। तर यदि उनी खेल्न नसक्ने भएमा वैकल्पिक कीपर अञ्जना राना मगर पनि उतिकै क्षमतावान् मानिन्छिन्।
तर प्रतियोगिताको लागि नेपालले राम्रो तयारी गर्न नपाएको प्रशिक्षक राजेन्द्र तामाङको गुनासो छ।
साफअगाडि महिला खेलाडीहरू एन्फा महिला लीगमै व्यस्त थिए। टोलीले न कुनै बलियो टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्न पायो, न त दशरथ रङ्गशालामा नै कुनै प्रतियोगिताको अवसर नै।
टोली ४० दिनको प्रशिक्षण लिएर मैदानमा उत्रिन लागेको हो। टोलीसँग घरेलु दर्शकको साथ रहने छ। नेपालले भुटानसँग खेलेर प्रतियोगिताको सुरुआत गर्दै छ।
आयोजनामा 'ह्याट्रिक'
महिला साफ च्याम्पिअनशिपको आयोजकका रूपमा भने नेपाल यसपालि ह्याट्रिक गर्दै छ।
दक्षिण एसियाका महिला फुटबल टोलीबीच हुन गइरहेको प्रतियोगिताको यो सातौँ संस्करण हो। पाँचौँ र छैटौँ साफको पनि आयोजक राष्ट्र नेपाल नै थियो।
प्रतियोगितामा सात राष्ट्रले सहभागिता जनाउँदै छन्। त्यसमा समूह ‘ए’ मा बाङ्ग्लादेश, भारत र पाकिस्तान छन् भने समूह 'बी'मा नेपाल, भुटान, श्रीलङ्का र मालदिभ्स छन्।
समूह चरणका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्।
नेपालको खेल
कार्तिक २ गते : नेपालविरुद्ध भुटान
कार्तिक ५ गते : नेपालविरुद्ध मालदिभ्स
कार्तिक ८ गते : नेपालविरुद्ध श्रीलङ्का
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।