तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्ग्लादेशसँग पराजित
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
उन्नाइस वर्ष मुनिको महिला विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार मलेशियामा भएको खेलमा नेपाली टोली बाङ्ग्लादेशसँग पराजित भएको छ।
नेपाली महिला क्रिकेट टोलीले कुनै पनि स्तरमा खेलेको पहिलो विश्वकप भएकाले यसलाई निकै चासोपूर्वक हेरिएको थियो।
टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले प्रभावकारी ब्याटिङ प्रदर्शन गर्न सकेन। नेपाल १८.२ ओभरमा ५२ रन बनाएर अलआउट हुन पुग्यो।
बाङ्ग्लादेशले सहज लक्ष्य पछ्याउँदै पाँच विकेटको जित हात पार्यो। बाङ्ग्लादेशले १३.२ ओभर खेल्दै लक्ष्य पूरा गर्यो।
बाङ्ग्लादेशको बलिङसामु सङ्घर्ष गरेका नेपाली खेलाडीहरू सुरुदेखि नै दबाबमा परेका थिए।
नेपालका लागि प्रारम्भिक ब्याटर सना प्रविनले जोडेको १९ रन नै सर्वाधिक रन बन्यो।
त्यस्तै सीमाना केसीले १० रन जोडिन्। अन्य ८ खेलाडीहरूले दोहोरो अङ्क सम्म पुग्न सकेनन्।
कप्तान पूजा महतोसहित नेपालका पाँच खेलाडीहरू रन आउट भए।
अबका खेल
समूह 'डी' मा रहेको नेपालले अब अस्ट्रेलिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ।
स्कटल्याण्डसँग सोमवार र अस्ट्रेलियासँग बुधवार खेल हुँदैछ।
नेपालले अबका दुई खेलमध्ये कुनै एकमा जित हासिल गरेमा सुपर सिक्समा पुग्न सक्ने सम्भावना बाँकी रहन सक्छ।
यसै समूहमा अस्ट्रेलियाले स्कटल्याण्डलाई दश विकेटले पराजित गरेको छ।
नेपालको बलिङ
नेपालका तर्फबाट रचना चौधरी, रीया शर्मा, कप्तान पूजा महतो, सीमाना केसीले एक-एक विकेट लिएका थिए।
पहिलो ओभरको तेस्रो बलमै विकेट लिएर चौधरीले बाङ्ग्लादेशमाथि दबाब सिर्जना गर्न खोजेकी थिइन्।
त्यसैगरी दोस्रो ओभरमा शर्माले फहमिदा चोयालाई बोल्ड गरिन्। त्यसपछि भने बाङ्ग्लादेश सम्हालिएर खेल्न सफल भयो।
१६ देश सहभागी विश्वकपमा नेपाल छनौट चरण पार गर्दै प्रतियोगितामा प्रवेश पाएको हो। मलेशिया भने आयोजक राष्ट्रका हैसियतमा सहभागी भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।