पानमा कनालमा चिनियाँ प्रभाव कम गर्न तत्काल कदम चाल्न अमेरिकी विदेशमन्त्रीको चेतावनी

तस्बिर स्रोत, Reuters
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पानामाले तत्कालै पानमा कनालको व्यवस्थापन गर्ने आफ्नो शैली नबदले वाशिङ्टनले कदम चाल्ने बताएका छन्।
उनले सो मुलुकले उक्त नहरमाथि 'चीनको प्रभाव र नियन्त्रण कम' गर्नुपर्ने बताए। विदेशमन्त्री भएपछिको आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले राष्ट्रपति होसे राउल मुलिनोसँग भेटेका थिए र पानमा कनालको पनि भ्रमण गरेका थिए।
उनले एउटा सन्धिका आधारमा जलमार्गको नियन्त्रण अमेरिकाले पानमालाई दिएको उल्लेख गर्दै अहिलेको चिनियाँ उपस्थितिले त्यसको उल्लङ्घन गरेको पनि धारणा राखेका थिए।
हङ्कङमा आधारित कम्पनीहरूले उक्त नहरको दुवैतर्फको बन्दरगाह पानमालाई हस्तान्तरण गरिनुअघिबाटै सञ्चालन गर्दै आएका छन्।
राष्ट्रपति मुलिनोले आफूले रुबिओको प्रतिक्रियालाई धम्कीका रूपमा नलिएको भन्दै उक्त नहर एउटा स्वायत्त कम्पनीले व्यवस्थापन गरिरहेको बताए।
उनले अमेरिकी चासोहरू सम्बोधन गर्न प्राविधिक स्तरको छलफलको प्रस्ताव गरेका छन्।
अमेरिकी विदेशमन्त्रीले के के भने?
अमेरिकाका वरिष्ठ कूटनीतिज्ञले पानमाले कदम चाल्नुपर्ने वा अमेरिकाले दुई देशबीचको सन्धि अनुसार आफ्नो अधिकार रक्षाका लागि आवश्यक निर्णयहरू लिने बताएका थिए।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुकले पुन: पानमा कनाल नियन्त्रणमा लिने बताउँदै आएका छन्। पानमाका अनुदारवादी राष्ट्रपति होसे राउल मुलिनोसँग पानमा सिटीमा आइतवार रुबिओले भेटेका थिए।
तर भेटघाटपछि दुवैजना नेताहरूले आफ्नो छलफलको फरक फरक व्याख्या सुनाए।
मुलिनोले उक्त नहर कब्जा गर्न अमेरिकी सैन्य शक्ति प्रयोग गरिने गम्भीर खतरा आफूले नदेखेको बताए। साथै राष्ट्रपति ट्रम्पले व्यक्त गरेको चिनियाँ प्रभावबारेका चिन्ता सम्बोधन गर्न प्राविधिक स्तरमा छलफलको प्रस्ताव गरेको उनको धारणा थियो।
तर उक्त नहरलाई फेरि अमेरिकाको नियन्त्रणमा ल्याउने राष्ट्रपति ट्रम्पको घोषणाले पानमामा उल्लेख्य विरोधहरू निम्त्याइरहेको छ। शुक्रवार प्रदर्शनकारीहरूले पानमा सिटीमा ट्रम्प र रुबिओको पुत्ला जलाएका थिए।

तस्बिर स्रोत, Reuters
दङ्गा प्रहरीहरूले प्रदर्शनकारीको भिडलाई अश्रुग्यास प्रयोग गरेर तितरबितर गराएको थियो। सानो स्तरमा झडपहरू भएका थिए तर अमेरिकी राष्ट्रपतिको अडानमाथिको प्रतिरोध व्यापक रूपमा महसुस भइरहेको छ।
बिहीवार राष्ट्रपति मुलिनोले पानमा नहरको स्वामित्वको विषय अमेरिकी विदेशमन्त्रीसँगको छलफलको मुद्दा नबन्ने बताएका थिए।
"म उक्त नहरको लेनदेन गर्न वा लेनदेन प्रक्रिया थाल्न सक्दिनँ। त्यो बन्द भइसक्यो, उक्त नहर पानमाको हो," उनले भनेका थिए।
अमेरिकाको धारणाले बढाएको राष्ट्रवाद
ट्रम्पले उक्त नहर चिनियाँ सैनिकहरूले सञ्चालन गरेको दाबी गर्ने गर्छन् जसको आधार पुष्टि भएको छैन। उनले अमेरिकी पानीजहाजहरूलाई अन्यको तुलनामा बढी शुल्क लिने गरिएको बताएका छन्। तर सन्धि सम्बन्धी व्यवस्थाका कारण त्यस्तो अभ्यास गैरकानुनी हुन्छ।
उक्त जलमार्ग पानमा सरकारको स्वामित्वमा र सञ्चालनमा छ। दशकौँअघि संयुक्त राज्य अमेरिकासँग भएको एउटा तटस्थतासम्बन्धी सन्धिका आधारमा उक्त नहर पानमाले सञ्चालन गर्दै आएको हो।
तर चिनियाँ कम्पनीहरूले नहर नजिकैका बन्दरगाह र टर्मिनलमा ठूलो लगानी गरेका छन्। हङ्कङमा रहेको एउटा कम्पनीले उक्त नहरको प्रवेश बिन्दु नजिकैका पाँचमध्ये दुई बन्दरगाह सञ्चालन गर्छ।

तस्बिर स्रोत, EPA
तर उक्त नहरलाई नियन्त्रणमा लिन सेना परिचालनको सम्भावना अस्वीकार नगरेका ट्रम्पको शक्ति प्रदर्शन गर्ने अवधारणाले उक्त सानो रणनीतिक मुलुकमा देशभक्तिपूर्ण भावनालाई बलियो बनाइदिएको छ।
आफ्नो थर उल्लेख गर्न नचाहने पानमा सिटीकी बासिन्दा मरीले भनिन्, "त्यो हास्यास्पद छ।"
"त्यहाँ एउटा सन्धि छ जसलाई सम्मान गरिनुपर्छ र त्यहाँ हामीसँग चीनले सञ्चालन गर्न नपाउने गरी बन्दरगाह हुनु पर्छ भनेर कहीँ पनि भनिएको छैन," उनले भनिन्। उनले अमेरिकी बन्दरगाह र सहरहरूमा पनि चिनियाँ लगानी रहेको उल्लेख गरिन्।
मरीजस्ता धेरैले उक्त नहरमाथि अमेरिकी नियन्त्रण भएको समय अझै सम्झिरहेका छन् र आफूहरू पछि फर्कन नचाहेको उनीहरू बताउँछन्।
सन् १९७९ मा अमेरिका र पानमाले सन्धिमा हस्ताक्षर गरेका थिए जसअनुसार सुरु भएको सो नहर हस्तान्तरण प्रक्रिया सन् १९९९ मा आएर सम्पन्न भएको थियो।
मरी भन्छिन्, "हामी सबै अमेरिकी नियमहरूको पालना नगरी गिरफ्तार नभईकन उक्त नहरको क्षेत्र पार पनि गर्न सक्दैन थियौँ। सीमा पार गरेकै क्षणबाट तपाईँ अमेरिकामा हुनुहुन्थ्यो।"
"आफ्नै देशभित्र पनि हाम्रो अधिकार थिएन र हामी फेरि त्यही चाहँदैनौँ। हामी (ट्रम्पका) शब्दबाट धेरै अपमानित भएका छौँ।"
फरक दृष्टिकोण राख्नेहरू के भन्छन्?
सैन्य बल प्रयोग नगर्ने प्रतिबद्धता ट्रम्पबाट नआउनुलाई कतिपयले आशङ्का र भयका हिसाबले पनि हेरिरहेका छन्।
मार्को रुबिओ हिस्प्यानिक मूलका पहिलो अमेरिकी विदेशमन्त्री हुन् र उनी उक्त क्षेत्र र चीनप्रति कडा दृष्टिकोण राख्ने नेताका रूपमा चिनिन्छन्।
पानमा र अमेरिकाले कैयौँ सवालहरूमा सहकार्य गरेका छन्। तर उनको भ्रमणले अमेरिकाले आफ्नो नजिकको प्रभाव क्षेत्र ठान्ने गरेका देशमा चिनियाँ लगानीलाई स्वीकार गर्ने मामिलाप्रति वाशिङ्टनको असहिष्णुता झल्काएको विश्लेषण गरिएको छ।
पानमामा उनले चीनले अन्ततः बन्दरगाहमा आफ्नो स्वार्थ प्रयोग गरेर अमेरिकी व्यापारी वा युद्धका क्रममा प्रयोग हुने पानीजहाजहरूलाई लडाइँ वा व्यापार युद्धको समयमा अवरोध गर्न सक्ने बताएका थिए।
पानमाका आम नागरिकहरू उक्त नहर आफ्नो देशको स्वामित्वमा रहनु पर्छ भन्ने ठान्छन् तर कतिपयले आफ्नो देशको नेतृत्वप्रति पनि आशङ्का गर्ने गरेको पाइन्छ। उनीहरूको विचारमा उक्त जलमार्गबाट भइरहेको आम्दानी आम मानिसहरूसम्म पुगिरहेको छैन।
पानमा सिटीस्थित एउटा होटलमा कार्यरत एन्ड्रे होवेल भन्छन्, "तपाईँले के देखिरहुभएको छ भने, अमेरिका र डोनल्ड ट्रम्पले उक्त नहरलाई फेरि लिन चाहेका छन्, त्यसलाई हामी कारण र प्रभाव भन्छौँ।"
उनले थपे, "उनीहरूले सही ढङ्गले पानमा कनाल चलाइरहेका छैनन्…. पानमाका कोही पनि नागरिकले फाइदा पाएका छैनन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








