अमेरिकामा जन्मेका आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेशमा अस्थायी रोक

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकी भूमिमा जन्मेका शिशुहरू स्वतः त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेशमा सिआटलका एक सङ्घीय न्यायाधीशले अस्थायी रोक लगाइदिएका छन्।

यूएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश "स्पष्ट रूपले असंवैधानिक" रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्नमा तत्काल रोक लगाएका छन्।

उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो।

ट्रम्पले आफ्नो प्रशासनले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

बिहीवार २५ मिनेट लामो सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको थियो।

यसको अर्थ अबको १४ दिन थप कानुनी प्रक्रियाहरू रोकिनेछन्।

चार राज्यको तर्क

चार अमेरिकी राज्यहरू वाशिङ्टन, एरिजोना, इलिनोई र ओरिगनले उक्त मुद्दा अघि सार्दै जन्मका आधारमा नागरिकता प्राप्त गर्ने हक संवैधानिक रहेको र राष्ट्रपतिसँग संविधान संशोधन गर्ने अधिकार नभएको बताएका थिए।

उनीहरूले उक्त आदेश कार्यान्वयन भएमा आफ्ना राज्यहरूले "तत्काल र अपूरणीय क्षति बेहोर्ने" तर्क गरेका थिए।

न्याय मन्त्रालयले ती राज्यहरूले अघि सारेका मुद्दाले अस्थायी रोक लगाउने कुनै अभूतपूर्व कदम चाल्न आवश्यक नरहेको तर्क गरे तापनि न्यायाधीश त्यसमा असहमत भए।

कागजातबिना अमेरिकामा रहेका आप्रवासी र विदेशी आगन्तुकबाट जन्मिएका शिशुले पाउने नागरिकताको अधिकार अन्त्य गर्ने ट्रम्पको प्रयासविरुद्ध त्यहाँ अन्य कैयौँ मुद्दाहरू समेत परेका छन्।

संवैधानिक व्यवस्था

चार अमेरिकी राज्यले ट्रम्पको आदेशविरुद्ध मुद्दा दर्ता गरेका थिए
तस्बिरको क्याप्शन, चार अमेरिकी राज्यले ट्रम्पको आदेशविरुद्ध मुद्दा दर्ता गरेका थिए

अमेरिकी भूमिमा जन्मने सबै जनाले स्वतः त्यहाँको नागरिकता पाउने व्यवस्था अमेरिकी संविधानमा सुरुमा थिएन।

तर गृहयुद्ध अन्त्य भएपछि स्वतन्त्र पारिएका, अमेरिकामा जन्मिएका 'पूर्वदास'हरूलाई सम्बोधन गर्ने गरी सन् १८६८ मा यस व्यवस्था थपिएको थियो। अमेरिकी संविधानको १४औँ संशोधनमा यो विषय समावेश छ।

बहसका क्रममा न्यायाधीश कफ्नरले ट्रम्प प्रशासनका एक वकिललाई कार्यकारी आदेशको मस्यौदा बनिरहँदा "वकिलहरू कहाँ थिए" भनेर सोधेका थिए।

यो आदेश संवैधानिक भएको उनको दाबीका लागि आलोचना गर्दै न्यायाधीशले सचेत गराए।

"यसले मेरो दिमागमा अन्योल सिर्जना गर्छ," ती न्यायाधीशले भने।

सङ्घीय सरकारको तर्क

ह्वाइट हाउस

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्प यसै साता ह्वाइट हाउस फर्किएका छन्

ह्वाइट हाउस फर्किएयता चरणबद्ध रूपमा एकतर्फी आदेशहरू दिइरहेका ट्रम्पले लामो समयदेखि यस्तो परिवर्तन गर्ने बताउँदै आएका थिए।

खबरहरूका अनुसार ट्रम्प प्रशासनले उक्त आदेश कार्यान्वयन गर्ने क्रममा अयोग्य हुने भनिएकाको राहदानीजस्ता कागजातहरू रोक्का गर्ने योजना बनाएको थियो।

तर न्यायाधीशले ती सबै खाले कार्यान्वयनका उपायमा अस्थायी रोक लगाउन भनेका छन्।

वाशिङ्टन राज्यका तर्फबाट बहस गरेका एक वकिलले ट्रम्पको उक्त आदेशले देशलाई "देशको एउटा अँध्यारो अध्यायमा फिर्ता पुर्‍याउने" तर्क गरेका थिए।

ती राज्यहरूको मुद्दासम्बन्धी दस्ताबेजमा अमेरिकामा सन् २०२२ मा मात्र कागजात नभएका आमाहरूबाट २ लाख ५५ हजार बालबालिकाहरू जन्मिएको उल्लेख गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।