ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा 'लगाउने' नयाँ भन्सार दर कस्तो छ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

    • Author, पिटर होस्किन्स
    • Role, बीबीसी व्यापार संवाददाता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने आयातमा शनिवाबाट नयाँ आयात शुल्क घोषणा गर्ने तयारी गरेका छन्।

यस्तो शुल्क मेक्सिको र क्यानडाका लागि २५-२५ प्रतिशत र चीनका लागि १० प्रतिशत पुर्‍याउन लागिएको ह्वाइटहाउसले जनाएको छ।

तर ट्रम्पले शुक्रवार बताए अनुसार क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो केही पछि अर्थात् १८ फेब्रुअरीबाट कार्यान्वयनमा आउने बताएका छन्।

ट्रम्पले भविष्यमा युरोपेली सङ्घ ईयूका लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन्।

उनले युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेको बताएका छन्।

ह्वाइटहाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क "उनीहरूकहाँबाट आएर अमेरिकामा वितरण गर्न दिइएको दशौँ लाख अमेरिकीहरूको ज्यान लिने गैरकानुनी फेन्टनिल [नामक औषधि]" को जबाफ भएको बताएकी छन्।

ट्रम्पले यो कदम अमेरिकी सीमासम्म आइपुग्ने ठूलो सङ्ख्यामा रहेका कागजातविहीन आप्रवासीलाई सम्बोधन गर्न र छिमेकीसँगको व्यापार घाटा कम गर्न चालिएको बताएका छन्।

लेभिटले शुक्रवार ह्वाइटहाउसमा आयोजित ब्रीफिङमा भनिन्: "यी राष्ट्रपतिले गरेका बाचा र तिनका कार्यान्वयन हुन्।"

चीनबाट घट्दो आयात र चिन्ता

आफ्नो चुनावी प्रचारप्रसारका क्रममा ट्रम्पले चीनमा निर्मित उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए। तर आफ्नो नयाँ कार्यकालको पहिलो दिनमै उनले त्यससम्बन्धी कुनै अपर्झट निर्णय गरेनन्।

बरु उनले आफ्नो प्रशासनलाई यस विषय अध्ययन गर्न आदेश दिए।

सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ।

अर्थशास्त्रीहरूले त्यस्तो आँकडालाई केही हदसम्म ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बढाएको भन्सार शुल्कसँग जोडेर हेर्ने गर्छन्।

अमेरिकामा चीनबाट हुने आयात देखाउने कन्टेनरहरू भएको पोर्ट

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पको अघिल्लो कार्यकालबाट नै अमेरिकामा चीनबाट हुने आयात खस्किएको छ

ज्यानुअरीमा ट्रम्पले सत्ता सम्हाले लगत्तै दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्धको जोखिम महसुस भइरहँदा एकजना शीर्ष चिनियाँ अधिकारीले अमेरिकाको नाम नलिईकनै 'संरक्षणवाद'विरुद्ध बोलेका थिए।

स्टीजरल्यान्डको डाभोस विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा चिनियाँ उपप्रधानमन्त्री डिङ सियासियाङले व्यापार सम्बन्धी तनावका विषयमा आफ्नो देशले "सबैले जित्ने" उपाय खोजिरहेको र बेइजिङले निर्यात विस्तार गर्न चाहेको बताएका थिए।

तीन देशको ४० प्रतिशत हिस्सा

चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन्। गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा मात्र ४० प्रतिशत थियो।

जसले गर्दा आयातमा बढाइएको शुल्कले एउटा मुख्य व्यापार युद्ध चर्कनुका साथै अमेरिकामा मूल्य बढ्ने चिन्ता भइरहेको छ।

एटगा गार्मेन्टमा काम गर्दै कामदारहरू

तस्बिर स्रोत, Xiqing Wang/ BBC

तस्बिरको क्याप्शन, महङ्गो खर्च घटाउन कैयौँ चिनियाँ लगानीका व्यावसाय अन्य देशमा सरेका छन्

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रवार भने: "यो हामीले चाहेको कुरा होइन, तर यदि उनी अघि बढ्छन् भने हामी पनि बढ्छौँ।"

क्यानडा र मेक्सिकोले आफ्नै तरिकाले अमेरिकी आयात शुल्कको जवाफ दिने बताइसकेका छन्।

र ती दुई देशले अमेरिकासँगको सीमालाई लिएर उठेका चिन्ता सम्बोधन गर्ने गरी काम गरिरहेकामा वासिङटनलाई आश्वस्त पार्न खोजिरहेका छन्।

बीबीसीले अमेरिकास्थित चिनियाँ दूतावासको प्रतिक्रिया लिने प्रयास गरेको थियो।

यदि आयातमा लाग्ने करको मारमा क्यानडा र मेक्सिकोबाट आउने तेल परेमा दैनिक जीवन धान्ने खर्च घटाउने ट्रम्पको यसअघिको बाचालाई असर पर्न सक्छ।

'असहजता'

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अनपेक्षित अमेरिकी कदमको जबाफ दिइने बताएका छन्

सिद्धान्तत: देशभित्र आउने सामानमा कर लगाउनुको अर्थ तिनको भाउ महँगिएर खरिद हुने सम्भावना कम हुने बुझिन्छ।

त्यसको अर्थ सस्ता स्थानीय सामग्रीहरूले बजार पाउँदै देशको अर्थतन्त्रमा टेवा पुग्छ भन्ने समेत बुझिन्छ।

तर आयातित ऊर्जामा लाग्ने शुल्कको लागत व्यवसाय र उपभोक्तामा सर्न सक्ने हुँदा त्यसले पेट्रोलदेखि खुद्रा सामानसम्मको मूल्य बढाउन सक्छ।

अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याइने झण्डै ४० प्रतिशत कच्चा तेल विदेशबाट आयातित हुने गर्छ र त्यसको भारी हिस्सा क्यानडाबाट आउँछ।

शुक्रवार ट्रम्पले आयातमा लगाइने शुल्कको भार कहिलेकाहीँ उपभोक्तासम्मै पर्न जाने र आफ्नो योजनाले छोटो समयका लागि असहजता हुनसक्ने स्वीकारेका थिए।

क्यानडा र इङ्ग्ल्याण्डका केन्द्रीय ब्याङ्कहरूका पूर्वप्रमुख रहेका मार्क कार्नीले बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्दै आयात शुल्कले आर्थिक वृद्धिमा मार पर्ने र महँगी बढाउने बताए।

"उनीहरूले संसारभर अमेरिकाको प्रतिष्ठा नष्ट पार्न गइरहेका छन्," क्यानडाको लिबरल पार्टीको नेताको तर्फबाट प्रधानमन्त्री ट्रुडोलाई विस्थापित गर्ने दौडमा रहेका उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।