तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लोपोन्मुख आदिवासी हायू परिवारले थातथलो छाडेपछि उठेका प्रश्न
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
धेरै मानिसहरूसँग सङ्गत नगर्ने र लजालु स्वभावको मानिएको लोपोन्मुख आदिवासी हायू समुदायको परिवार सिन्धुलीको गोलन्जोर छोडेर पोखरा पुगेसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनीहरूको मनासयबारे विभिन्न अड्कलबाजी भइरहेको छ।
सिन्धुलीमा आफ्नो थातथलो छोडेर हिँडेको हायू परिवारले भने छोराछोरी पढाउन र कामको खोजीमा आफूहरूले गाउँ छोडेको प्रतिक्रिया दिएको छ।
छरछिमेकीलाई समेत खबर नगरी शनिवार गाउँबाट हिँडेका उनीहरू सम्पर्कविहीन भएपछि सोमवार दिनभरि १६ जनाको यो परिवारका सदस्यहरूको खोजी गरिएको थियो।
राति पोखरामा भेटिएको यो परिवार मङ्गलवार फेवातालको तालवाराही मन्दिर परिसरमा देखा पर्यो।
"खासगरी सीमान्तकृत आदिवासीहरूका लागि आफ्नो थातथलो दुई कारणले महत्त्वपूर्ण हुन्छ," त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका सहप्राध्यापक सुरेश ढकाल भन्छन्।
"एउटा आफू बसेको भूमिसँगको सम्बन्ध र अर्को त्यससँगै जोडिएर आउने जङ्गल, खोलानाला र स्थानीय स्थानमा पूजा गर्ने देउतासँग उनीहरूको सम्बन्ध हुन्छ।"
किराँत सम्प्रदायअन्तर्गतको मानिने हायू समुदायले उक्छिमी रानीको पूजा गर्ने प्रचलन छ।
आधुनिकताले डोहोर्यायो पोखरा
हायू समाजका अध्यक्ष लक्ष्मण हायू यो समुदायका मानिसहरूमा जग्गाको स्वामित्व राख्ने परम्परा नभए पनि अहिले घरजग्गा जोड्ने चलन बढ्दै गएको बताउँछन्।
सिन्धुलीबाट हिँडेको परिवार उनकै मावली हुन्।
"मामाहरू रामेछापबाट गोलन्जोर बसाइँ सरेर आउनुभएको हो। त्यहाँ पनि अर्कैको घरबारी कमाएर बस्नुभएको थियो। पछि जमिन किन्नुभएको भए थाहा भएन नत्र त्यहाँ उहाँहरूको केही थिएन," उनले भने।
लक्ष्मण हायूका अनुसार उनका मामाले बाँस र काठका सामग्री बनाएर गुजारा चलाउँदै आएका थिए। तर केही वर्षअघि बेपत्ता भएका अभिभावक लामो समयपछि जङ्गलमा मृत अवस्थामा भेटिएपछि परिवार बेचैन थियो।
"मामासँग भएको परम्परागत सीप भाइबहिनीहरूले सिकेनन्। एक जना वैदेशिक रोजगारीमा गए, अरू भाइहरू यतै ज्यालामजदुरी गर्न थाले," लक्ष्मण भन्छन्।
"अर्को कुरा अहिले समाज मिश्रित छ। बाहिरी दुनियाँ पनि उहाँहरूले देख्नुभयो होला, त्यसप्रति आकर्षण पनि भयो होला। गाउँमा बच्चाहरूलाई पढाउने सुविधा छैन, काम गर्न पनि धेरै अवसर छैन। त्यसकै लागि गाउँ छोड्नुभएको पनि हुन सक्छ।"
परिवारका माइला छोरा राजु हायूले गाउँमा काम नपाएको र विद्यालय टाढा भएकाले बालबच्चा पढाउन पनि समस्या भएका कारण पोखरा जाने निर्णयमा आफूहरू पुगेको सङ्क्षिप्त प्रतिक्रिया दिएका छन्।
त्यसअघि उनीहरूले उक्त ठाउँमा बालबच्चाहरू बिरामी पर्ने गरेका कारण गाउँ नफर्कने प्रहरीसँग बताएको विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए।
मानवशास्त्रका सहप्राध्यापक ढकाल शिक्षा रोजगारीसँगै देउता रिसाउने कुरालाई पनि कतिपय आदिवासीहरूको बसाइँसराइसँग जोडिने बताउँछन्।
"शिक्षा, रोजगारीसँगै भूमिको स्वामित्व नहुनु र विश्वास तथा परम्पराका कारण पनि उहाँहरूले देउता रिसाएको ठाउँमा नबस्ने भनेर त्यो ठाउँ छोडेको हुन सक्छ," ढकाल भन्छन्।
गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठ गाउँ छाडेर हिँडेको हायू परिवारसँग वर्षभरि खान पुग्ने खेती पनि नभएको बताउँछन्।
"वर्षभरि खान पुग्ने खेती चाहिँ उहाँहरूको थिएन, पशुपालन ज्याला मजदुरी गरेर घर चलाउँदै आएको विपन्न परिवार नै हो। तर गाउँ नै छोडेर हिँड्नुपर्ने अवस्था पनि थिएन जस्तो लाग्छ," उनले भने।
लोपोन्मुख आदिवासीमा अस्तित्वको सङ्कट
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर हायूजस्तै एकान्त क्षेत्रका कतिपय आदिवासी जनजातिहरूमा आधुनिकताको आकर्षण बढ्न थालेको छ।
"अहिले कतिपय आदिवासीहरूमा परम्परागत जीवनशैली र आधुनिकताको प्रभावको द्वन्द्व छ। राउटे, चेपाङ, हायूजस्ता घुमन्ते आदिवासीहरूमा नयाँ पुस्ताका मानिसहरू पढ्न र बाहिरी संसारसँग जोडिन चाहन्छन्," थापामगर भन्छन्।
"अर्को कुरा विकास पूर्वाधारका कारण उनीहरूको परम्परागत बसोबास क्षेत्र बिथोलिएको छ। वन संरक्षित हुँदै गएको छ र उनीहरूका उत्पादनको बजारीकरण पनि छैन।"
उनले आदिवासीहरूले थातथलो नै छोडेर आफ्नो समुदायको उपस्थिति नै नभएको ठाउँ रोज्नु सोचनीय विषय भएको बताए।
"सरकारले पनि सामाजिक सुरक्षा भत्ता दिएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नुहुँदैन। सँगसँगै उनीहरूको उत्थान र जीवनयापनमा सहजीकरणबारे पनि योजना बनाउनुपर्छ," थापामगर भन्छन्।
भाषा आयोगको एक प्रतिवेदनअनुसार हायू समुदायले लिखु नदीको शिरदेखि सुनकोसीसम्म र हालको रामेछाप जिल्लाको ओखनी, सुकाजोर र रामेछाप आदिलाई आफ्नो पुर्ख्यौली थातथलो भएको दाबी गर्छ।
आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल बाहिरी सम्पर्कसँगै वनजङ्गल क्षेत्रमा बसोबास गर्दै आएका कतिपय लोपोन्मुख आदिवासीहरू सहरी क्षेत्रतर्फ बसाइँ सर्न थालेको बताउँछन्।
"मैरै अवलोकनका क्रममा पनि घुमन्ते आदिवासीहरू नजिकको बजार र जिल्ला सदरमुकामनजिक बस्न थालेको पाएको छु। बाहिरी संस्कृति र शिक्षामा उनीहरूको आकर्षणले पनि यस्तो भइरहेको छ," उनले भने।
हायू समाजका अध्यक्ष लक्ष्मण हायू वनपैदावारको प्रयोगमा बढ्दो रोकावट, पछिल्लो पुस्तामा परम्परागत सीपप्रतिको विकर्षण र बजारीकरणको अभावले पनि हायू जातिका कतिपय परिवारमा निर्वाहको समस्या देखिएको बताउँछन्।
पछिल्लो जनगणनामा झन्डै ३,००० को सङ्ख्यामा रहेको हायू जाति सिन्धुली, सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहा आदि जिल्लाहरूमा फैलिएर बसेको छ। तर हायू समाजका अध्यक्ष लक्ष्मण हायू सिन्धुली र रामेछापमा बस्ने करिब १,५०० हायूले मात्रै आफ्नो भाषा बोल्ने गरेको बताउँछन्।
उनीहरूले नै चाहिँ आफूलाई 'वायू' भन्ने गरेको भाषा आयोगले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ। 'हायू' शब्द गैरहायूहरूले उनीहरूलाई सम्बोधन गर्न प्रयोग गर्ने भए पनि अहिले यही शब्द उनीहरूको जातीय पहिचान बनेको प्रतिवेदनमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।