तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेली हमलामा मृत्यु भएकी महिलाको गर्भबाट शिशुलाई जीवितै निकालियो
- Author, फर्गल कीन
- Role, बीबीसी न्यूज
बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो।
ती प्यालेस्टिनी युवती साढे सात महिनाकी गर्भवती थिइन्। युद्धका कारण रातदिन त्रासमा बस्नुपरे पनि आफ्नो परिवारलाई केही नहुने उनको आश थियो।
तर एप्रिल २० मा मध्यरात पर्नुअघि विस्फोटन हुँदा उनको परिवारमाथि वज्रपात भयो।
इजरेली सेनाले प्रहार गरेको बम रफाहमा बस्ने अल-सकानी परिवारको घरमा खस्यो। त्यतिबेला गर्भवती सबरीन, उनका पति र उनीहरूकी तीनवर्षेछोरी मलाक निदाएका थिए।
सब्रीन गम्भीर घाइते भइन् भने उनका पति र छोरीको घटनास्थलमै मृत्यु भयो। उद्धारकर्मी त्यहाँ पुग्दा सबरीनको गर्भको बच्चा भने जीवितै भएको पत्ता लाग्यो।
उनीहरूले सबरीनलाई अस्पताल दौडाए। आपत्कालीन शल्यक्रियामार्फत् बच्चालाई गर्भबाट बाहिर निकालियो।
तर चिकित्सकहरूले सबरीनलाई बचाउन सकेनन्।
चिन्तामुक्त छैन बालिकाको अवस्था
उनीहरूले नवजात बालिकालाई बिस्तारै छातीमा थपथपाएर सास फेर्न सक्ने बनाए। उनको फोक्सोमा 'पम्प' गरेर हावा पुर्याइयो।
“उनी श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्यासहित जन्मिएकी थिइन्,” रफाहको अमिराती अस्पतालका नवजातशिशु एकाइका प्रमुख डा मोहम्मद सलमाले भने।
प्रतिकूल अवस्थामा जन्मिएकी यी शिशुको तौल जम्मा १.४ किलोग्राम छ।
डाक्टरहरूले बच्चाको पहिचानका लागि उनको शरीरमा एउटा टेप बेरिदिए। त्यसमा लेखिएको थियो, “शहीद सबरीन अल-सकानीकी छोरी।”
त्यसपछि ती बालिकालाई इन्क्यूबेटरमा राखियो।
“हामी के भन्न सक्छौँ भने उनको अवस्थामा केही सुधार भएको छ,” सलमा भन्छन्।
“तर अझै जोखिम छ। श्वासप्रश्वाससम्बन्धी समस्या अवधि पूरा नभई भएको जन्मका कारण निम्तिएको हो। यी बच्ची अहिले आमाको गर्भमा हुनुपर्ने हो। तर उनी त्यो अधिकारबाट वञ्चित हुनपुगिन्।”
चिकित्सकहरूले उनलाई अझै एक महिनासम्म अस्पताल राख्नुपर्ने देखेका छन्।
“त्यसपछि उनलाई यहाँबाट पठाउन सकिन्छ कि भनेर हामी विचार गर्छौँ। सबैभन्दा ठूलो दुःखको कुरा के हो भने यी बालिका बाँचिन् भने पनि उनी गर्भेटुहरी हुन्,” सलमा भन्छन्।
आमाकै नाम
बच्चीको नाम राख्नका लागि उनका बुवाआमा कोही छैनन्। बुवा र आमासँगै ज्यान गुमाएकी उनकी दिदीले आफ्नी बहिनीको नाम 'रूह' राख्न चाहेकी थिइन्। अरबी भाषामा त्यसको अर्थ 'आत्मा' हुन्छ।
तर उनकी आमाको स्मृतिमा उनको नाम सबरीन राखिएको छ।
उनको परिवारमा बाँचेका अन्य सदस्यहरू अस्पतालमा भेला भएका थिए। उनीहरूले शोक र क्रोधबीच त्यहीँ टुहुरी सबरीनको जन्मपछि गरिने पारिवारिक संस्कार पूरा गरे।
ती बालिकाकी मावलकी हजुरआमा मिरभात अल-सकानी “कुनै कुरासँग केही सरोकार नभएका” मानिसहरूमाथि “अन्याय र निन्दनीय” घटना भएको ठान्छिन्।
“मेरी छोरी गर्भवती थिइन् र उनको पेटमा भ्रूण थियो। उनीसँग उनकी छोरी थिइन्। मेरा छोरा पनि उनीहरूसँगै थिए,” उनले भनिन्।
“मेरा छोराको शरीरका अङ्गहरू टुक्राटुक्रा भएका छन् र अझैसम्म भेटिएका छैनन्। उनलाई चिन्नै सकिएको छैन…। उनीहरूले किन यिनीहरूलाई निसाना बनाइएका हुन्? हामीलाई यो किन र कसरी भइरहेको छ थाहा छैन। उनीहरू महिला र बालबालिकालाई किन निसाना बताउँछन् भन्ने पनि हामीलाई थाहा छैन।"
'उनीहरूको के गल्ती थियो?'
काका रमि अल-शेखका अनुसार ती बालिकाका बुवा र उनी सँगसँगै हजामको काम गर्थे।
“एउटी बच्चीबाहेक सबै परिवार सखाप भएको छ। उनीहरूको के गल्ती थियो र?” उनले प्रश्न गरे।
“यिनीहरू साधारण नागरिकहरू हुन्।”
सबरीनाकी हजुरआमा अहालम अल-कुर्दीले बालिकालाई राम्रोसँग हुर्काउने वाचा गरेकी छन्।
“उनी मेरो माया हुन्, मेरो मुटु हुन्। उनको बुवाकी निसानी हुन्। म उनको हेरचाह गर्छु,” उनले भनिन्।
हमासले इजरेलमाथि गत अक्टोबर ७ मा गरेको आक्रमणपछि सुरु भएको युद्धमा अहिलेसम्म गाजातर्फ ३४,००० जनाभन्दा धेरैको मृत्यु भएको र त्यसमध्ये दुईतिहाइ महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासको आक्रमणमा इजरेली र विदेशीहरू समेत गरी १,२०० जनाको ज्यान गएको थियो र त्यसमा पनि अधिकांश सर्वसाधारण थिए।
इजरेलका अनुसार हमासको आक्रमणका क्रममा २४० जनालाई बन्धक बनाएर गाजा लगिएको थियो।
हमलाबारे इजरेल के भन्छ
इजरेली सेनाले आफूले सर्वसाधारणमाथि निसाना नबनाएको तर हमासले उनीहरूलाई "मानवढाल" बनाएको दाबी गर्दै आएको छ।
एप्रिल २० मा इजरेलले रफाहमा गरेको हवाई आक्रमणमा अल-आलको ठूलो परिवारका १५ जना बालबालिका मारिएका थिए। तीमध्ये कैयौँ बालबालिकाका बुबा अबेद अल-आलले आफ्ना सबै बालबच्चा र श्रीमती मारिएको बताएका थिए।
“त्यहाँ मलाई एक जना पुरुष देखाउनुहोस्! सबै बालबच्चा र महिला छन्,” उनले भने।
आक्रमणपछि बीबीसीलाई पठाइएको इजरेली विज्ञप्तिमा भनिएको छ, “पहिले नै तय गरिएको समयमा इजरेल डिफेन्स फोर्सेसले आतङ्कवादी सङ्गठनका गाजामा रहेका सैन्य परिसर, क्षेप्यास्त्र प्रक्षेपणस्थल र सशस्त्र आतङ्कवादीसहित कैयौँ सैन्य निसानामा प्रहार गरेको थियो।”
अहिले रफाहमा १४ लाख मानिस जम्मा भएको ठानिएको छ। इजरेली सेनाले मानिसहरूलाई सुरक्षित हुन सकेसम्म छिटो दक्षिणतर्फ जान भनेको छ।
पछिल्ला दिनहरूमा इजरेली फौज छिट्टै रफाह प्रवेश गरेर हमाससँगको लडाइँलाई निरन्तरता दिने अनुमान गरिएको छ।
अमेरिकाले भने रफाहमा पूर्णस्तरको आक्रमण गर्नुभन्दा निश्चित लक्ष्य बनाइर प्रहार गर्ने शैली अपनाउन इजरेललाई भनिरहेको छ।
पूर्णस्तरको आक्रमण भए अझै ठूलो मानवीय सङ्कट आइपर्ने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।