स्याम्पेन बोतलका 'स्पार्कलर'ले स्विट्जरल्यान्डको बारमा घातक आगलागी भएको आशंका

    • Author, निक जोन्सन
    • Reporting from, क्रान्स-मोन्टाना
    • Author, अन्ना लामेक

स्विट्जरल्यान्डको एक स्की रिजोर्टस्थित बारमा लागेको आगलागी स्याम्पेनको बोतलमा राखिएका स्पार्कलर "सिलिङको अत्यन्तै नजिक" पुगेपछि भएको देखिएको अधिकारीहरूले बताएका छन्।

नयाँ वर्षको दिन सबेरै क्रान्स-मोन्टानामा भएको उक्त आगलागीमा ४० जनाको ज्यान जानुका साथै ११९ जना घाइते भएका थिए।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भ्यालेकी एटर्नी जेनरल बिअट्रीस पीलूले घटनास्थलमा प्रयोग भएका सामग्री, बारको अग्निसम्बन्धी सुरक्षा व्यवस्था, त्यसको क्षमता तथा आगलागीका बेला त्यहाँ रहेका मानिसहरूको संख्यामाथि अनुसन्धान केन्द्रित हुने बताइन्।

अनुसन्धानले कानुनी कारबाही आवश्यक पर्छ कि पर्दैन भन्ने विषय पनि खोतल्नेछ।

"यदि त्यस्तो देखियो र ती व्यक्ति अझै जीवित रहेछन् भने उनीहरूविरुद्ध मुद्दा दायर गरिने छ," उनले भनिन्।

"सबै सङ्केतहरूले स्याम्पेनका बोतलमा राखिएका स्पार्कलिङ क्यान्डल वा स्पार्कलर सिलिङको अत्यन्तै नजिक पुर्‍याइएसँगै आगलागी सुरु भएको देखाउँछन्। त्यसपछि आगो निकै छिट्टै फैलियो," पीलूले पत्रकार सम्मेलनमा भनिन्।

घाइतेको पहिचान र उपचार

बारका एकजना सञ्चालकले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार पछिल्लो दश वर्षमा उक्त बारको तीन पटक निरीक्षण गरिएको थियो र सबै काम नियमअनुसार भएका थिए।

अधिकारीहरूले आगलागीमा ज्यान गुमाएका ४० जनाको आधिकारिक पहिचान गरिरहेका छन्। प्रहरी कमान्डर फ्रेड्रिक गिस्लरले उक्त कार्य "प्राथमिकतामा रहेको" बताएका छन्।

घाइते भएका धेरैको अवस्था अझै गम्भीर छ। उनीहरू "जीवनका निम्ति सङ्घर्ष गरिरहेका" भ्याले क्षेत्रका प्रमुख म्याथिस रेनर्डले बताए।

घाइतेमध्ये ११३ जनाको पहिचान भइसकेको गिस्लरले बताए। तिनीहरूमा ७१ जना स्विस नागरिक, १४ फ्रान्सेली, ११ इटालियन, चार जना सर्ब नागरिक तथा अन्य छन्।

अझै छजनाको पहिचान कार्य चलिरहेको र तथ्याङ्कहरू फेरबदल हुन सक्ने उनले बताए।

रेनर्डका अनुसार करिब ५० जना घाइतेलाई "गम्भीर जलनको उपचारका लागि युरोपका विभिन्न देशका विशेष केन्द्रमा सारिएको वा छिट्टै सारिनेछ।"

घाइतेहरूमा १९ वर्षीय फ्रान्सेली फुटबल खेलाडी तहिरिस डुस सान्तुस पनि रहेका उनको क्लब एफसी मर्ट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

क्लबका अनुसार उनी "गम्भीर रूपमा जलेका" छन् र उपचारका लागि उनलाई हेलिकप्टरमार्फत जर्मनी लगिएको छ।

खोजीकार्य

आगलागीपछि हराइरहेका व्यक्तिहरूका परिवारजन शुक्रवार साँझसम्म पनि अधिकारीहरूबाट जानकारीको व्यग्र प्रतीक्षामा थिए।

हराइरहेकामा १६ वर्षीय इटालियन नागरिक अकिले बारो पनि छन्।

उनी नयाँ वर्षको दिन स्थानीय समयअनुसार बिहान १:३० बजे आफ्नो ज्याकेट र फोन लिन बारभित्र प्रवेश गरेका थिए तर त्यसयता परिवारको उनीसँग सम्पर्क हुन सकेको छैन।

"हामीलाई उनी अझै जीवित छन् कि छैनन् भन्ने थाहा छैन," उनकी काकी फ्रान्चेस्काले बीबीसी वर्ल्ड सर्भिसको 'ओएस' कार्यक्रममा भनिन्। उनका अनुसार बारो उत्कृष्ट चित्रकार थिए र मिलानको एक आर्ट स्कूलमा अध्ययनरत थिए।

शुक्रवारको पत्रकार सम्मेलनमा अधिकारीहरूले "डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन" नामको एउटा प्रक्रियामार्फत् मृतकको सनाखत कार्य भइरहेको बताएका छन्।

त्यसमा विधिविज्ञान विशेषज्ञ, चिकित्सक, दन्त चिकित्सक र अनुसन्धानकर्ताहरूको टोली संलग्न रहन्छन्।

पछि पत्रकार सम्मेलनमा पीलूले अनुसन्धानका क्रममा बारको सिलिङ बनाउँदा भवनसम्बन्धी नियमहरू पालना भए नभएको पनि खोजी गरिने बताइन्।

"हामीले कुनै अनुमान गर्नु हुँदैन… हामीलाई हाम्रो काम गर्न दिनुहोस्," उनले भनिन्।

उनले बारका दुई जना फ्रान्सेली व्यवस्थापकसँग र आगलागीबाट ज्यान जोगाएर निस्किएका व्यक्तिहरूसँग पनि सोधपुछ गरिएको बताइन्। उक्त सोधपुछले घटनाका बेला त्यहाँ उपस्थित व्यक्तिहरूको सूची तयार गर्न मद्दत पुगेको पीलूले बताइन्।

बारबाट निस्कन कठिन किन भयो?

अधिकारीहरूले बारबाट बाहिर निस्कने एकभन्दा बढी बाटो रहेको पुष्टि गरेका छन्। यद्यपि उनीहरूले घटनाका समयमा आपतकालीन निकास खुला भए नभएको "अहिल्यै भन्न नसकिने" बताएका छन्।

ले कन्स्टेलेशनमा उक्त घटना हुँदा २२ वर्षकी ली जेन्डर नजिकैको अर्को बारमा नयाँ वर्ष मनाउँदै थिइन्।

उनका अनुसार उनले ले कन्स्टेलेशनबाट मानिसहरू चिच्याएको आवाज सुनेकी थिइन्। त्यसपछि उनका ब्वाइफ्रेन्डले गम्भीर रूपमा जलेका व्यक्तिहरूलाई मद्दत गरेका उनले बताइन्।

"उनीहरू हिँड्न वा बोल्न सक्ने अवस्थामा थिएनन्," उनले भनिन्।

त्यस्तै २० वर्षका ट्रिस्टन फिसरले आगो फैलिँदा आफ्ना १७ वर्षीय भाइले बारका झ्याल फोडेर मानिसहरूलाई बाहिर तानेका बीबीसीसँग बताए।

घटनाले भाइको मानसिक स्वास्थ्य प्रभावित भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

"उनी त्यसपछि ठीकसँग बोल्न सकेका छैनन्, ठीकसँग सुत्न सकेका छैनन्," उनले भने

ले कन्स्टेलेशन निकै वर्षदेखि सञ्चालनमा रहँदै आएको एउटा विशाल बार हो।

त्यहाँ ३०० जना अट्न सक्छन्। उक्त बारमा एउटा सानो छत पनि छ, यद्यपि आगो लाग्दा त्यहाँ कति जना थिए भन्ने खुल्न सकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।