देउवा हटाउन गगन थापाको प्रस्ताव, शेखर कोइराला ‘अगुवाइ गर्न तयार’

शेरबहादुर देउवा र शेखर कोइराला

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व गरिरहेको संस्थापनइतर खेमाको बैठक बुधवार भइरहेको थियो। त्यही बेला महामन्त्री गगनकुमार थापालाई सभापति शेरबहादुर देउवाको तर्फबाट तारन्तार फोन आइरहेको थियो।

एक नेताका अनुसार त्यसपछि थापाले छिटो निस्किने भन्दै आफ्नो धारणा राखे। त्यस क्रममा उनले संसदीय दलको नेता परिवर्तन गर्न कोइरालाको नाम प्रस्ताव गरे।

त्यसको अर्थ र प्रभावबारे नेताहरूले आआफ्नै ढङ्गले व्याख्या र विश्लेषण गरिरहेको पाइन्छ।

“गगनजीले पहिला म उठेँ, मैले पार गर्न सकिनँ। विकल्पमा शेखरजी नै तयार भएर पनि संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभएको हो,” नेता अर्जुन नरसिंह केसीले बीबीसीलाई जानकारी दिए।

शेखर कोइरालाको मन्जुरी र अरूको समर्थन

महाधिवेशनमा देउवालाई सभापतिमा चुनौती दिएका कोइरालाको खेमाबाटै थापा महामन्त्री उम्मेदवार बनेका थिए।

संसदीय दलको नेताको चुनावमा भने कोइरालाको समर्थनमा थापा उम्मेदवार भएका थिए।

थापाको प्रस्तावमा आफूहरूको पनि समर्थन रहेको नेता केसीले बताए।

शेखर कोइराला

तस्बिर स्रोत, RSS

उनले भने, “वस्तुगत परिस्थितिको विश्लेषण र समीक्षा गरेर त्यसलाई अघि बढाउन हामी पनि गम्भीर नै छौँ।”

कोइरालानिकट नेताहरूमा पनि त्यसले एक खालको उत्साह थपिदिएको पाइन्छ।

उनीनिकट सांसद राजेन्द्र बजगाईँले थापाको प्रस्तावमा आफूहरूले समर्थन जनाएको सुनाए।

उनका अनुसार देउवाको विकल्प खोज्न अगुवाइ गर्ने प्रस्तावमा कोइरालाले पनि मन्जुरी दिएका छन्।

“उहाँले पनि प्रस्ताव स्वीकार गर्नुभयो र म नेतृत्व गर्छु भन्नुभयो,” सांसद बजगाईँ भन्छन्, “जसरी गाडी गुडाउन बाटो बनाउनुपर्छ, नेतृत्व लिन अग्रसर भए पछि नै वातावरण अनुकूल हुन्छ।”

गगन थापाको उमेर हद र शेखर कोइरालाको नारा

पछिल्ला दिनहरूमा कोइराला खेमामा विभाजन देखा परेको समाचार आइरहेका थिए।

गगन थापा सहभागी नहुने खबरहरूबीच सहमति गरेर बैठक सारेर एक दिन पछि गरिएको बताइएको छ।

उक्त बैठकपछि आपसी संवादको कमी भएको स्वीकार समूह "एक ढिक्का" रहेको नेताहरूले बताएका छन्।

गगन थापा र शेरबहादुर देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, महामन्त्री गगन थापाले प्रतिनिधिसभाको निर्वाचनका बेलामै आफू प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका थिए

तर संसदीय दलको नेतामा कोइरालालाई अघि सारेर के थापा आफू सभापतिमा अघि सर्न खोजेका त हैनन्?

सांसद बजगाईँका अनुसार अघिल्लो पटक संसदीय दलको नेताको उम्मेदवार बन्दा महामन्त्री थापाले आगामी महाधिवेशनमा कोइराला सभापतिको उम्मेदवार हुने बताएका थिए।

“गगन थापाको ५५ वर्षको उमेर हद र शेखर कोइरालाको 'यसै पटक एकै पटक' भन्ने नारा त्यही बेला खारेज गरिएको हो, त्यसमा बेइमानी नहोला,” उनले भने।

भावी सभापतिबारे केसी मौन

नेता अर्जुन नरसिंह केसीले भने अहिले भावी सभापतिबारे कुनै प्रतिबद्धता नजनाउने बताए।

एक दाबेदारको रूपमा रहेका थापा आफैँले "सामूहिक रूपमा अघि बढौँ" भन्ने प्रस्ताव राखेको कुरालाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको उल्लेख गर्दै केसीले भने, “पछि कसरी जाने भन्नेबारे बसेर छलफल गरेर टुङ्ग्याउँछौँ।”

उनले अरू पार्टीहरूले 'मिशन २०८४' भने पनि आफ्नो पार्टीको निम्ति 'मिशन २०८२' भएको बताए।

“अहिले देखिएका निराशा र अविश्वासको खाडल पुर्ने गर्ने गरेर नयाँ दिशा दिने सङ्कल्पका साथ नीति, संरचना र नेतृत्वमा परिवर्तन भयो भने हामीले जुनसुकै परिस्थितिको पनि मुकाबिला गर्न सक्छौँ,” केसीको धारणा छ।

आगामी महाधिवेशनमा देउवा सभापतिमा चुनाव नलड्ने अनुमानबीच भावी समीकरणबारे अन्योल र अनुमान जारी छ।

देउवाले आफ्नै खेमाबाहिरबाट समेत उत्तराधिकारी खोज्न सक्ने एक थरीको आकलन पाइन्छ।

त्यसलाई ध्यानमा राखेर कोइराला खेमामा विकल्पको नयाँ बहस सुरु भएको विश्लेषण गर्नेहरू पनि छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।