शेरबहादुर देउवा: सरकार मिलेर चलाउँदै तर दलभित्र ‘दमनकारी’को छवि किन?

देउवा र कोइराला

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेसको सभापतिको चुनावमा शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले काठमाण्डूमा दुई दिन आफू निकटहरूको भेला गरे।

महाधिवेशन सकिएको केही दिनपछि पनि उक्त समूहले त्यस्तै सामूहिक छलफल गरेको थियो।

जानकारहरूका भनाइमा पहिलो भेला सभापतिको दोस्रो चरणको चुनावमा आफ्नै ठानिएको समूहभित्रको विभाजन बिर्साउने अठोट थियो भने यसपालि सभापति र प्रधानमन्त्रीको रूपमा देउवाका कामको खोट खोज्ने आरम्भ हो।

पार्टी प्रवक्ता प्रकाशशरण महतले उनीहरूको भेलालाई सामान्य रूपमा लिए। उनले भने, "विभिन्न साथीहरू आफ्नो हिसाबले बसिरहनुभएको छ, केन्द्रीय समितिको बैठकमा राख्ने विषयबारे छलफल गर्नु भएको हुनसक्छ। तर निर्णय त विधिपूर्वक हुन्छ।"

न्यायको खोजी?

तर कोइराला पक्षका नेताहरूलाई देउवाले पार्टीको नभई गुटको सभापति जस्तो व्यवहार गरिरहेको महसुस गरेको पाइन्छ।

कोइरालाले सभापतिमा पराजित भएपछि भागबन्डा नमाग्ने तर पार्टीमा न्याय हुनुपर्ने बताएका थिए।

कोइरालानिकट सहमहामन्त्री जीवन परियारका बुझाइमा सभापतिबाट न्याय भएको छैन। उदाहरण दिने क्रममा उनले भने, "जस्तो भातृ संस्थाहरू एकलौटी गर्नुभयो, पदाधिकारीहरूको सल्लाह सुझाव लिन आवश्यक ठान्नु भएन। त्यसैले बैठक राख्नुपर्ने हाम्रो बाध्यता हो।"

आफूहरूको बैठक बसेपछि नै सभापतिले पार्टी बैठक राख्न बाध्य भएको बुझाइ उनले सुनाए।

देउवाले नेपाल विद्यार्थी सङ्घ, तरूण दल, आदिवासी जनजाति सङ्घ र किसान सङ्घको अध्यक्ष परामर्शबिना तोकिएको कोइराला पक्षको गुनासो छ।

विधानमाथि बलमिचा

सभापति देउवामाथि विधानको अवज्ञा गरेको आरोप पनि छ। अर्का सहमहामन्त्री बद्री पाण्डेका भनाइमा तीन महिनाभित्र पदाधिकारी नियुक्त गरिनुपर्ने तर त्यसो भएको छैन।

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार

तस्बिर स्रोत, RSS

उनी भन्छन्, "छ महिनाभित्रि विभागहरू गठन भइसक्नुपर्ने थियो, भएको छैन। म्याद सकिएका भातृ संस्थाको म्याद थपिएन। जुन गठन गरिए तीनले पूर्णता पनि पाएका छैनन्।"

महाधिवेशनअघि विधानको अक्षरश: पालनालाई जोडतोडले उठाइएको थियो। त्यसमा जोड दिनेमा महामन्त्री विश्वप्रकाश शर्माले पनि एक हुन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, शेखर कोइराला भन्छन्, 'म हारेर पनि जितेँ, देउवालाई साढे चार वर्षभन्दा एक दिन पनि चलाउन दिन्नौँ'

विधानको कार्यान्वयनको जिम्मेवारी सभापति सहित पदाधिकारीहरूको पनि रहेको र त्यसकै निम्ति दुईजना महामन्त्रीले समयमै सभापतिसँग भेटर कुराकानी गरेको उनको भनाइ छ।

महामन्त्री शर्मा भन्छन्, "केन्द्रीय समितिको आगामी बैठकलगत्तै थाती रहेका कामको सम्पादन गर्ने कुरालाई गति दिएर जानुपर्नेमा छौँ।"

मर्यादाक्रम

प्रवक्ता महतले पनि चुनाव लगायतका कतिपय कारण दर्शाउँदै विधानको व्यवस्था अनुसार काम गर्न ढिला भएको स्वीकार गरे। तर अब छिट्टै विभाग लगायत सबै कुराले पूर्णता पाउने उनको विश्वास छ।

शेखर: शिखर हैन फेदमा

कोइराला पक्षका कतिपय नेता विभिन्न पार्टीलाई एकसाथ लिएर सरकार हाँक्दा उदार देखिने देउवा दलभित्र दमनमा उत्रिएको ठान्छन्। र, त्यसको मूल निसानामा शेखर कोइराला परेको उनीहरूको अनुभव छ।

महाधिवेशन लगत्तै मर्यादाक्रम निर्धारणदेखि त्यो सुरु भएको उनीहरू बताउँछन्।

सामान्यता सभापतिका निकटतम प्रतिद्वन्द्वी केन्द्रीय समितिमा दोस्रो मर्यादाक्रममा राखिने गरेका थिए।

सुशील कोइरालाको पालामा देउवा र देउवाको पहिलो कार्यकालमा रामचन्द्र पौडेललाई त्यही भूमिका दिइएको थियो।

उपसभापति, महामन्त्री र मुख्य सचिव लगायतबीचको अनौपचारिक परामर्शमा पौडेलपछिको मर्यादाक्रममा कोइरालालाई राख्नुपर्ने कुरा उठेको थियो।

तर तेस्रो त के देउवाले उनलाई २६ औं स्थानमा राखेका छन्। उनले पदाधिकारीहरूपछि पूर्वपदाधिकारी राख्ने मापदण्ड बनाएका हुन्।

त्यसपछि नामको अर्थ जस्तै महाधिवेशनमा पार्टीको शिखर उक्लिन खोजेका शेखर कोइराला फेदमा रहेको सदस्यहरूको सतहमा झर्न पुगेका हुन्।

पछि हटेका रामचन्द्र अघिअघि

कोइराला पक्षको भेला

तस्बिर स्रोत, .

महाधिवेशनमा मतदान नगरेका रामचन्द्र पौडेल विधानमै व्यवस्था नरहेको नेताको रूपमा मर्यादाक्रममा दोस्रो स्थानमा राखिएका छन्।

अन्तिम घडीमा देउवालाई साथ दिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा हारेका प्रकाशशरण महत मात्र होइन राप्रपाबाट प्रवेश गरेका सुनिल थापा कोइरालाभन्दा मर्यादाक्रममा अघि परेका छन्।

पूर्वपदाधिकारीको हैसियतले उनीहरूले कोइरालालाई उछिनेका हुन्।

प्रवक्ता महत विगतमा पनि निकटतम प्रतिद्वन्द्वीको हैसियतले मर्यादाक्रम निर्धारण नभएको बताउँछन्।

केन्द्रीय समितिमा पाएको जिम्मेवारी लगायतका आधारमा त्यसो गरिएको र अहिले पनि त्यही भएको उनले बताए।

एक अर्का नेताका भनाइमा जसरी गणेशमान सिंहले पार्टी छाडेपछि पार्टीले उनलाई छाडेन त्यसैगरी पौडेलले महाधिवेशनमा भोट नहालेपनि उनलाई नेताको सम्मान दिइएको हो।

तर पछिल्ला दिनहरूमा हुने गरेका महत्त्वपूर्ण सर्वदलीय र सत्तापक्षीय बैठकहरूमा पौडेल सक्रिय हुँदा देउवाले कोइरालालाई निम्त्याउने गरेको देखिँदैन।

आफ्नै भाइ शशाङ्क र बहिनी सुजाताले मात्र होइन विगतमा 'देउवा हटाइ छाड्ने अठोट' गर्ने गरेका पौडेल, सिंह र निधिले साथ नदिँदा पनि शेखर कोइरालाले दोस्रो चरणको मतदानमा मत बढाएका थिए।

कतिपय विश्लेषकहरूका अनुसार सम्भवत: उनलाई एक्ल्याएर कमजोर बनाउनु धेरै नेताको स्वार्थहितमा हुने भएकाले कोइरालालाई किरानामा पर्ने अघोषित साझा प्रयास भइरहेको हुनसक्छ।

त्यसैले त्यसलाई चिर्न आफ्ना समर्थकहरूको साथ जोगाइरहन उनी कति सफल हुन्छन् भन्ने कुरामा कांग्रेसभित्रको भावी समीकरण निर्धारण हुने ठानिएको छ।