संसदीय दलको नेतामा पराजित भएपछि गगन थापासँग कस्तो विकल्प

गगन थापा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अघिल्लो वर्षको महाधिवेशनमा गगन थापा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका थिए

संस्थापनइतर समूहबाट नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टीका महामन्त्री गगन थापाले बेहोरेको पराजयले देशको सबैभन्दा पुरानो पार्टीको रूपान्तरणबारे केही प्रश्नहरू उठाएको कतिपय विज्ञहरूले बताएका छन्।

चौथो पटक सांसद्‌मा निर्वाचित भएका ४६ वर्षका थापा पाँच पटक प्रधानमन्त्री भइसकेका ७६ वर्षका पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मत अन्तरले पराजित भएका थिए।

छैटौँ पटक सरकारको नेतृत्व गर्ने आकाङ्क्षा देखाएका देउवालाई पार्टीले संसदीय दलको नेतामा चुनेपछि कतिपयले भावी सरकारको नेतृत्व गर्ने घोषणा गर्दै यसपटक चुनावी अभियान गरेका थापालाई ‘तात्कालिक रूपमा क्षति’ पुगेको टिप्पणी गरेका छन्।

तर पछिल्लो आमचुनावको जनमत परिवर्तन र पुस्तान्तरणको पक्षमा देखिएको भन्दै केहीले ढिलो चाँडो कांग्रेस पनि त्यही मार्गमा अग्रसर हुने टिप्पणी गरेका छन्।

उम्मेदवारी दर्ता गराउँदाको जोस मतदानमा किन कायम रहेन

देउवा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शेरबहादुर देउवा र थापाबीचको उमेरको अन्तर ३० वर्ष भन्दा बढी छ

पार्टी सभापति विरुद्ध थापाले उम्मेदवारी दिँदा उनको प्रस्तावकमा डा. शेखर कोइराला थिए भने उपसभापति धनराज गुरुङ समर्थक बनेका थिए।

त्यसबाहेक अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि थापाको समर्थकका रूपमा हस्ताक्षर गरेका थिए।

तर बुधवार बिहान भएको मतदानमा ६४ जना सांसद्को समर्थन पाएर देउवा विजयी हुँदा थापाले जम्मा २५ मत पाए।

उक्त मत सङ्ख्यालाई कतिपयले कांग्रेसभित्र युवा विचारधारा समूह कमजोर रूपमा प्रकट भएको अर्थ लगाएका छन्।

तर थापा निकट नेता शङ्कर तिवारी संस्थापन इतर समूहबाट ‘एकल उम्मेदवार बन्नु’ र दलभित्र आफ्नो विचार समूहभन्दा बाहिर रहेका भनिएका महामन्त्री विश्वप्रकाश शर्मा देखि प्रदीप पौडेलसम्मको समर्थन पाउनु महत्त्वपूर्ण उपलब्धि भएको बताउँछन्।

उनले भने, “तर अनेपक्षित कुरा भनेको चाहिँ परम्परागत रूपमा कोइराला विचार समूहमा रहेको ३०-३५ मत थियो, त्यो किन घट्यो भन्ने हो। विगतमा कांग्रेसमा संसदीय दलको व्यक्ति एउटा र पार्टी सभापति अर्को भएको बेला विग्रह भएको इतिहास छ। त्यो धङधङी पनि देखिएको हुनसक्छ र सत्ताको राप र तापको प्रभाव पनि परेको हुनसक्छ।”

संसदीय अङ्कगणित कसैको पनि पक्षमा नरहेको देखिँदा सबैभन्दा ठूलो दलको नेताका रूपमा आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि देउवाले सक्रियता बढाइसकेको उनी निकट नेताहरूले बताउने गरेका छन्।

अघिल्लो वर्षमा भएको कांग्रेसको महाधिवेशनको समयमा देउवाले पार्टी सभापति र प्रधानमन्त्री एउटै बन्नुपर्ने धारणा राखेका थिए।

सभापतिको त्यस्तो दृष्टिकोण हुँदाहुँदै ‘करिब एकतिहाइ सांसदहरूले परिवर्तनको पक्षमा मत दिएको' भन्दै तिवारीले निराश हुनुपर्ने अवस्था नरहेको बताए।

‘जित्दा हार्दा दुवै अवस्थामा फाइदा’

सुरुबाटै समर्थन गरेका महामन्त्री विश्वप्रकाश शर्माले रूपान्तरणका लागि ‘उमेर र मुद्दा’ दुवैका हिसाबले गगन थापाले सक्ने भन्ने विश्वासका साथ उनलाई समर्थन गरेको बताएका थिए।

थापाको सम्भावित हारका बारेको एउटा प्रश्नमा उनले ‘आफूहरू अहिले पनि निश्चित जिम्मेवारीमा रहेको’ भन्दै भूमिका कमजोर नहुने तर्क गरेका थिए।

उनको भनाइ थियो, “गगन थापालाई उम्मेदवार बनाइसकेपछि एकजना साथीले रमाइलो लेखेको पढेको थिएँ। जिते मेस्सी हारे एम्बाप्पे। विजयी बन्दा त्यसले लिने मार्ग र सन्देश एउटा हुन्छ तर उपविजेता बन्दै गर्दा त्यसले एउटा लोकतान्त्रिक अभ्यासबाट भोलि नेपाली कांग्रेसमा युवाहरू नेतृत्वदायी हस्तक्षेपका साथ आइरहेका छन् भन्ने एउटा सन्देश जान्छ। कुनै पनि अवस्थामा हामी नोक्सानमा हुँदैनौँ।”

उनले यस्तो हस्तक्षेप र फरक मतले नेपाली कांग्रेसमाथिको विश्वासलाई थप बढाउने समेत टिप्पणी गरेका थिए।

कांग्रेसको महाधिवेशनमा अलग अलग खेमामा निर्वाचन लडेका थिए थापा र शर्मा

तस्बिर स्रोत, File Photo: RSS

तस्बिरको क्याप्शन, महाधिवेशनमा अलग अलग खेमाबाट लडेको भएपनि संसदीय दलको नेता चुन्ने समयमा दुवै महामन्त्री एक ठाउँमा उभिएका थिए

संसदीय दलमा भएको पराजयसँगै सरकारको नेतृत्व गर्ने थापाको आकांक्षा तत्कालका लागि विराम लाग्ने देखिन्छ।

कान्तिपुर टेलिभिजनको टफ टक कार्यक्रमलाई दिएको अन्तरवार्तामा थापाले आफूले ५५ वर्षको उमेरपछि राजनीतिबाट अवकाश लिने बताएका थिए।

उनले त्यस बेलासम्म आफूले सरकार र पार्टी दुवैको नेतृत्व गर्न चाहेको धारणा राखेका थिए।

“अर्को १० वर्षसम्ममा छाड्दै गर्दा मैले केही विरासत बनाइसकेको हुनेछु। त्यो भन्दा बढी मैले गर्नै सक्दिनँ।त्यो भन्दा बढी मैले गर्ने भनेको नयाँ मानिसको बाटो छेक्ने हो।”

तर महामन्त्री थापासमक्ष ‘धेरै विकल्प रहेको’ उनीनिकट नेता तिवारी बताउँछन्।

थापाले थप सांसदहरूको मन जित्ने कोसिस आगामी दिनमा गर्ने भन्दै उनले थापाले संसद्को जारी कार्यकालमा मौका पाउन सक्ने बताए।

उनले थपे, “शेरबहादुर देउवाले टिकट बाँडेर, अन्तिम पटक म काम गर्न चाहन्छु भनेर पनि समर्थन पाउनुभएको हो। तर जब समय घर्कँदै जान्छ उहाँको पुरानै काम गर्ने शैलीबाट जनता आजित हुन्छन्। मलाई लाग्छ यो संसद्को कार्यकालमा नै दोस्रो पटक संसदीय दलको नेता चुन्नुपर्ने अवस्था आउँछ र त्यसबाट गगन थापा आउने सम्भावना म देख्छु।”

देउवा निकटस्थ नेता के भन्छन्

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देउवाकै नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको र गठबन्धनले ‘सफलता’ पाएको भन्दै संसदीय दलको नेतामा उनको जित स्वाभाविक भएको बताए।

उनी भन्छन्, “अहिले जोड्ने नेतृत्वको आवश्यक छ। ताकि कसैलाई अनावश्यक लाञ्छना नलगाउने, गाली नगर्ने बरु जायज नाजायज आलोचना र समालोचना ग्रहण गर्ने र सकेसम्म सहमति नभए प्रक्रियाले निर्णय गर्ने उदार व्यक्तित्व उहाँ हुनुहुन्छ। कसैको पनि बहुमत नभएको अवस्थामा पार्टी भित्र र बाहिर पनि विश्वास आर्जन गर्ने नेतृत्व उहाँ भएकाले मलाई संसदीय दलको परिणाम स्वाभाविक नै लागेको छ।”

उनले ‘आयुको सिद्धान्तले देश नचल्ने’ भन्दै ‘आवश्यकताको सिद्धान्त’ अनुसार देउवालाई सांसदहरूले समर्थन गरेको बताए।

संसदीय दलको नेतामा देउवा भारी बहुमतले विजयी भएका हुन्

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, संसदीय दलको नेतामा देउवा बहुमतले विजयी भएका हुन्

संसदीय दलको चुनावमा विगतमा नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका कांग्रेस नेता रामचन्द्र पौडेलले देउवालाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावको समर्थन पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए।

देउवा निकट नेता महत भावी दिनमा पनि पार्टीमा महामन्त्री थापा महत्त्वपूर्ण भूमिकामै रहने बताउँछन्।

उनले थपे, “उहाँ महामन्त्री हुनुहुन्छ। सांसद हो। नेतृत्वका लागि महत्वाकांक्षी हुनुहुन्छ। धैर्यता राखिरह्यो भने कुनै बेला नेतृत्व गर्नसक्ने ठाउँमा पनि पुग्न सक्नुहोला। त्यसैकारण उहाँको भविष्य राम्रै छ। कतिपय धेरै योगदान गरेका साथीहरू भन्दा उहाँ सुरक्षित ठाउँमा हुनुहुन्छ।”

विक्रम संवत् २०५१ सालमा ४८ वर्ष नाघेपछि देउवा पहिलो पटक कांग्रेसको संसदीय दलको नेतामा चुनिएका थिए।

सुरुमा विपक्षी दलका नेता रहेका उनी गणतन्त्र आउनुभन्दा अघि तीन पटक र नयाँ संविधान जारी भएयता दुई पटक प्रधानमन्त्री बनिसकेका छन्।

संसदीय दलको नेतामा पराजित भएपनि आफ्नो दल नेपाली कांग्रेस र संसदभित्र थापाको भूमिका ‘सशक्त निगरानीकर्ताको रूपमा’ मुखरित हुन सक्ने कतिपयको विश्लेषण पाइन्छ।