ट्रम्प गोलीकाण्डपछि गुप्तचर निकाय प्रमुखद्वारा राजीनामा

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्।

"तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु," उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्।

घटनाका बारेमा सोमवार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्र्याट र रिपब्लिकन सांसदले उनको राजीनामा माग गरेका थिए।

पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्‍यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए।

राजीनामामा के छ

सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले “गह्रुँगो मन बनाएर” राजीनामा दिएको उल्लेख गरेकी छन्। मङ्गलवार राति दिएको राजीनामामा उनले “निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको” जनाएकी छन्।

“गत साता निकै सघन निगरानी थियो अनि हाम्रो सञ्चालन गति बढ्ने हुँदा त्यो कायम रहन्छ,” उनले भनेकी छन्।

“मेरो राजीनामाको मागबाट महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने मेरो चाहना छ।”

राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन्।

“जुलाई १३ मा भएको के हो भन्नेबारे स्वतन्त्र समीक्षाको काम जारी नै रहन्छ र म त्यसको निष्कर्षका लागि सहयोग गर्न आग्रह पनि गर्छु। हामी सबैलाई थाहा छ त्यो दिन जे भयो त्यो अब कहिल्यै दोहोरिने छैन,” बाइडनले भनेका छन्।

छिट्टै नयाँ निर्देशक

अमेरिकी राष्ट्रपति जो बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन्।

तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रोलाई कार्यवाहक निर्देशक नियुक्त गरेका छन्।

सीक्रेट सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत रोनल्ड रो सन् २०२३ मा उपनिर्देशक भएका थिए।

राष्ट्रपति बाइडनले सन् २०२२ मा चीटललाई सीक्रेट सर्भिसको प्रमुख नियुक्त गरेका थिए। उनले उक्त निकायका लागि विभिन्न भूमिकामा २७ वर्ष काम गरेकी छन्।

अमेरिकी सीक्रेट सर्भिसले वर्तमान र पूर्वराष्ट्रपतिसहित अन्य अधिकारीहरूको सुरक्षा हेर्ने गरेको छ।

चीटलको करिअर

एजेन्टको रूपमा रहँदा सन् २००१ को सेप्टेम्बर ११ मा पेन्टागन र वर्ल्ड ट्रेड टावरसहितका स्थानमा भएको हमलापछि तात्कालिक अमेरिकी उपराष्ट्रपति डिक चेनीलाई ह्वाइट हाउसबाट उद्धार गर्ने काममा उनी संलग्न थिइन्।

पछि बाइडन उपराष्ट्रपति बनेपछि चीटल उनको सुरक्षा हेर्ने सुपरीवेक्षक बनिन्। उनी सुरक्षा कारबाहीको उपसहायक निर्देशक भएपछि बाइडनको सुरक्षा जिम्मेवारीबाट अलग भइन्।

एक साताअघि पूर्वराष्ट्रपति ट्रम्पको हत्या गर्ने उद्देश्यले प्रहार गरिएको गोली उनको कानको छेउमा लागेपछि सीक्रेट सर्भिसकी प्रमुखमाथि प्रश्नहरू सोझिए।

उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भयो अनि दुई जना गम्भीर घाइते भए।

संसदीय समितिमा सांसदहरूले चुनावी प्रचार रसारको सुरक्षाबारे छ घण्टासम्म चीटललाई प्रश्न गरेका थिए।

चीटलले सुरक्षा कमजोरी भएको स्वीकार गरे पनि राजीनामा गर्न भने अस्वीकार गरेकी थिइन्।

यद्यपि उनले उक्त गोलीकाण्ड सीक्रेट सर्भिसबाट दशकौँमा भएको सबैभन्दा उल्लेख्य विफलता भएको स्वीकार गरेकी थिइन्।

ट्रम्पलाई गोली प्रहार गर्ने सन्दिग्ध आक्रमणकारीको पनि सुरक्षा कारबाहीका क्रममा मृत्यु भएको थियो।

ट्रम्पको सभा आयोजना गरिएको स्थानमा विभिन्न सुरक्षा निकायका अधिकारीहरू थिए।

"बाइडन/ह्यारिस सरकारले मलाई राम्ररी सुरक्षा गरेन अनि म प्रजातन्त्रका लागि गोली खान बाध्य भएँ," मङ्गलवार आफ्नो छुट्टै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।