प्रचण्डद्वारा 'प्रधानमन्त्रीले प्रयोग गर्ने जस्तो भाषा प्रयोग नगरेकोमा' कमजोरी स्वीकार

प्रचण्ड

तस्बिर स्रोत, Comrade Prachanda/Facebook

तस्बिरको क्याप्शन, प्रधानमन्त्रीले सोमबार संसद्‌मा स्पष्टीकरण दिएका थिए

प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो साता एक जना व्यवसायीको पुस्तक विमोचन कार्यक्रममा आफ्नो पदीय हैसियतसँग मेल खाने किसिमको टिप्पणी गरेको भन्दै आत्मसमीक्षा गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले "प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोलेको भए हुन्थ्यो" भन्दै आफूले "भावना आएर" त्यस्तो धारणा राख्न पुगेको बताए।

उनले यस्ता अभिव्यक्तिका लागि आफूले आगामी दिनमा ‘आत्मसमीक्षा’ गर्ने बताए तर आफूले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको माग तर्कपूर्ण नरहेको उनको जिकिर थियो।

प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा "आफूलाई प्रधानमन्त्री बनाउन" विगतमा एक जना व्यवसायी "धेरै चोटि दिल्ली गएको र उनले काठमाण्डूमा पनि दलहरूसँग कुरा गरेको" बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

प्रधानमन्त्रीले के भने?

प्रचण्ड

तस्बिर स्रोत, RSS

उनले आफूले गम्भीर प्रश्न उठेपछि यथार्थ के हो भनेर सदनमा स्पष्टीकरणको अवसर दिनुपर्छ भनेर माग गरेको बताए।

उनले भने, “राजीनामा नआएसम्म सदन चल्न दिइँदैन भनियो। नैतिकताको प्रश्न उठाउन सकिन्छ, राजीनामा दिनुपर्छ भन्न सकिन्छ। तर मेरो कमजोरी कहाँनेरि हो मैले भन्न पाउनुपर्दैन?”

उनले शान्ति प्रक्रियामा आइसकेपछि आफ्नातर्फबाट भएका कमी कमजोरीका बारेमा आत्म समीक्षा गर्ने र सच्च्याउने प्रतिवद्धता विगतदेखि नै गरेको ‘रिकर्ड’ मा रहेको बताए।

उनले २०६८/२०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सरबाट पीडित भएर जीवन मरणको दोसाँधमा रहेका बेला दिल्ली लैजानुपर्ने अवस्थामा आफ्नो परिवारसँग निकट सम्बन्ध भएका प्रीतम सिंहको दिल्लीमा रहेको फ्ल्याटमा राखेर उपचार गरिएको बताए।

त्यही क्रममा छोरीको स्वास्थ्य अवस्था बुझ्न आफू पनि दिल्ली गएको र त्यसबेला सिंहले ‘प्रधानमन्त्री त तपाईँ नै हुनुपर्ने हो’ भन्दै भावनात्मक रूपमा कुरा उठाएको उल्लेख गरे।

उनले आफ्नो अनुरोधका कारण नभई सदाशयतासहित सिंहले त्यस्तो भनेको उल्लेख गर्दै आफूले धन्यवाद दिएको उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, Comrade Prachanda/Facebook

तस्बिरको क्याप्शन, फाइल फोटो: आफ्ना अभिव्यक्तिका कारण प्रधानमन्त्री प्रचण्ड विवादमा परिरहन्छन्

“मैले मनमा आयो भने। नभनेको भए पनि हुन्थ्यो। प्रधानमन्त्रीको हैसियतमा मैले त्यो कुरा नबोल्नु पर्थ्यो। म ज्ञानुको बुवा बन्न पुगेँ र प्रीतमको सदाशयताप्रति धन्यवाद भने। के एउटै भावनात्मक अभिव्यक्तिले मेरो सबै सकियो त?”

प्रधानमन्त्रीले भने, “मेरो प्रीतम सिंहसँग कुनै राजनीतिक सम्बन्ध छैन। उनी शक्तिकेन्द्र होइनन्। सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पनि मलाई पर्छ। त्यो मेरो कमजोरी पनि हो। सबल पक्ष पनि हुनसक्छ। म मनले बोल्छु…. मान्छेको जीन, विशेषता जसले हामीलाई अलग अलग बनाएको छ, म दिमाग र मन दुवैले बोल्छु।”

विभिन्न पक्षबाट त्यसलाई बदल्न सुझाव आएको उल्लेख गर्दै उनले भने, “६९/७० वर्षमा त्यसलाई बदल्नु फलामको चिउरा जस्तै हुने रहेछ। स्वभावजन्य भावुकताका लागि म सदनसमक्ष आत्मसमीक्षा गर्न चाहन्छु।”

आफ्नो पछिल्लो भनाई नै सबैभन्दा आधिकरिक भएको भन्दै उनले संसद्लाई पूर्ण एकतासाथ अघि बढाउन सबै सांसदहरूलाई अनुरोध गरे।

उनले भने, “मेरो भाषा प्रधानमन्त्रीको रुपमा जसरी बोल्नुपर्थ्यो त्यसरी नभएकोमा रियालाइज (महसुस) गर्दै भविष्यमा तपाईँहरूले गराउनुभएको ध्यानाकर्षणप्रति म सतर्क रहने विश्वाससहित विदा हुन्छु।”

विवाद के हो?

आइतवार पनि तीन दलका नेताहरू संसद् अवरोध हटाउने प्रयासमा बैठकमा बसेका थिए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, तीन दलका शीर्ष नेताहरूले संसद् अवरोध हल गर्ने विषयमा छलफल गरेका थिए

गत सोमवार सिख समुदायका व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए।

“उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो काठमाण्डूका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो,” विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा प्रचण्डले भनेको सुनिन्छ।

ती भिडिओमा "राजनीति सफल भए मात्रै देश विकास हुने" सिंहको विश्वासको प्रशंसा गर्दै प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको सुनिन्छ।

उनका अनुसार पूर्वमन्त्री समेत रहेकी माओवादी नेत्री पम्फा भुसालसँग नजिकै घर भएका कारण पनि सिंहसँग उनको “लगातार अन्तरक्रिया र सहकार्य” भयो।

आफ्नो परिवारमा दुःख पर्दा सिंहले “धेरै ठूलो सहयोग” गरेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले भने, “ठूली छोरीलाई क्यान्सर हुँदा ठूलो सहयोग गरेका कारण मेरो परिवार उहाँप्रति नतमस्तक छ।”

नेपालमा सरकार बनाउन र हटाउन छिमेकी देशहरूको हस्तक्षेप हुने गरेको चर्चाबीच त्यस्तै आशङ्कालाई बल पुग्ने प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्को आलोचना निम्त्याएको थियो।

प्रमुख विपक्षी नेकपा एमालेले उक्त अभिव्यक्तिलाई ‘अशोभनीय’ भन्दै त्यसप्रति विरोध जनाउँदै राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै अवरुद्ध तुल्याएको थियो। अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा विरोध जनाएका थिए।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता कमजोर तुल्याउने कोसिस गरेको टिप्पणी गरेको थियो।

प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सो भनाइको प्रतिरक्षा गर्दै विज्ञप्ति जारी गर्दै एक जना व्यवसायीसँगको “सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बङ्गाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुखद’ रहेको उल्लेख गरेको थियो।

नेकपा एमालेले उक्त विज्ञप्ति फिर्ता लिनुपर्ने माग राखेपछि त्यसअनुसार सोमबारको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका थिए।

अन्य नेताहरूले के भने?

राजेन्द्र लिङ्देन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए

प्रधानमन्त्रीले बोल्नुअघि एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको अभिव्यक्तिले लघुताभास अभिव्यक्त गराएको भन्दै राष्ट्रिय आत्मसमर्पणवाद स्वीकार्य नहुने बताएका थिए। उनले प्रधानमन्त्रीले आफ्नो भनाइलाई स्पष्ट गर्नुपर्ने भन्दै राजीनामाको माग दोहोर्याएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनले प्रस्ट पार्नुपर्ने बताएका थिए।

उनले भने, “भविष्यमा पनि फिर्ता लिनुपर्ने अभिव्यक्तिका बारेमा सचेत हुन म प्रधानमन्त्रीलाई यहीँबाट नै अनुरोध गर्छु।”

संसद्लाई तीन दलले बन्धक बनाउन नमिल्ने भन्दै आफ्नो दललाई उपेक्षा नगर्न पनि उनले ध्यानाकर्षण गराएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसद्मा एउटा मात्रै प्रतिपक्षी दल नभएको भन्दै सभामुखबाट अघिल्लो बैठकमा बोल्न नदिइएको भन्दै त्यसप्रति खेद व्यक्त गरेका थिए।

उनले "प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज छ भने राजीनामा दिनुपर्ने" बताएका थिए। “राष्ट्रको सार्वभौमसत्तासँग जोडिएको विषयमा त्यस्तो धारणा आउनु सामान्य होइन। नैतिकता भन्ने कुरा जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ।”

प्रधानमन्त्रीको सचिवालयबाट जारी गरिएको विज्ञप्तिले आफूहरूप्रति मिटर व्याज पीडितहरूलाई न्याय दिलाउने सरकारको प्रयासमा बाधा पुर्‍याएको उनले बताए।

तर प्रधानमन्त्रीले आफ्नो आशय त्यस्तो नरहेको भन्दै स्पष्टीकरण दिए।