प्रचण्डको राजीनामा माग शब्दका कारण कि गठबन्धनभित्रको खटपटको प्रतिविम्ब

पुष्पकमल दाहाल

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

एउटा अभिव्यक्तिका कारण सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को अभिव्यक्तिका कारण विवादमा परेका छन्।

उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध मात्रै गरेको छैन, उसले उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्ता साझेदार नेपाली कांग्रेसकै एक महामन्त्रीले आपत्ति व्यक्त गरेका छन्।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ सात राजनीतिक दलहरूको बैठकमा समेत प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको नेताहरूले बताएका छन्।

बैठकले राजीनामा माग्ने एमाले कदमको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको माओवादीका महासचिव देव गुरुङले बताए।

प्रचण्डको अभिव्यक्तिपछि विकसित राजनीतिक घटनाक्रमलाई एक विश्लेषकले सत्तारूढ गठबन्धनभित्र चुलिँदै गरेको मतभेदको असरका रूपमा समेत व्याख्या गर्न सकिने बताए।

नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपसँग जोडिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र टेलिभिजन बहसहरूमा पनि प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले चाहिँ आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्।

बिहीवार प्रधानमन्त्रीका प्रेस सल्लाहकारले वक्तव्य जारी गर्दै उनको उक्त "अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको" जनाएका छन्।

प्रधानमन्त्रीले के भनेका थिए?

सदन अवरोध

तस्बिर स्रोत, RSS

गत सोमवार सिख समुदायका व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए।

“उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो काठमाण्डूका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो,” विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा प्रचण्डले भनेको सुनिन्छ।

ती भिडिओमा "राजनीति सफल भए मात्रै देश विकास हुने" सिंहको विश्वासको प्रशंसा गर्दै प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको सुनिन्छ।

रेड लाइन
रेड लाइन

उनका अनुसार पूर्वमन्त्री समेत रहेकी माओवादी नेत्री पम्फा भुसालसँग नजिकै घर भएका कारण पनि सिंहसँग उनको “लगातार अन्तरक्रिया र सहकार्य” भयो।

आफ्नो परिवारमा दुःख पर्दा सिंहले “धेरै ठूलो सहयोग” गरेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले भने, “ठूली छोरीलाई क्यान्सर हुँदा ठूलो सहयोग गरेका कारण मेरो परिवार उहाँप्रति नतमस्तक छ।”

के सत्ता गठबन्धनभित्रको खटपटले यो विषय चर्किएको हो?

नेपालमा सरकार बनाउन र हटाउन छिमेकी देशहरूको हस्तक्षेप हुने गरेको चर्चाबीच त्यस्तै आशङ्कालाई बल पुग्ने प्रचण्डको अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्को आलोचना निम्त्याइरहेको छ।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रचण्डको अभिव्यक्तिलाई “आलोच्य” भनेका छन्।

“हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती होl नेपालको प्रम (प्रधानमन्त्री) नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो। मित्रराष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रमकै हो,” उनले ट्वीट गरेका छन्।

गठबन्धन बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बिहीवार पनि गठबन्धनको बैठकमा प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको थियो

यसअघि नेपाली कांग्रेसको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका अरुणकुमार सुवेदी "पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट देखिएका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूका लागि" उनको अभिव्यक्ति "मसला" भएको ठान्छन्।

“शेरबहादुरजी, शेखर (कोइराला) र गगन(थापा)जीले संविधानका केही आधारभूत विषयमा पुनरवलोकनको प्रस्ताव अघि सारेपछि प्रचण्डले त्यसको विरुद्ध समाजवादी मोर्चा गठन गर्नुभयो,” उनले भने।

“त्यही बीचमा प्रधानमन्त्रीको यो अभिव्यक्तिले मसला चाहिँ भएको छ। तर यही कारण गठबन्धन टुट्ने वा सरकार ढल्ने भन्ने मलाई लाग्दैन।”

नेपाली कांग्रेस र माओवादीका नेताहरू के भन्छन्?

कांग्रेस संस्थापन निकट मानिने सहमहामन्त्री महेन्द्र यादवले पनि प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण गठबन्धनमा समस्या नआउने दाबी गरे।

“एमालेलाई बहाना चाहिएको छ तर हामी यो गठबन्धन टुटाउने पक्षमा छैनौँ। हामीबीच धेरै राम्रो सम्बन्ध छ,” उनले भने।

नेकपा माओवादीका महासचिव देव गुरुङ आफूहरूले कांग्रेसमाथि आशङ्का नगरेको बताउँछन्।

बिहीवार बिहान बालुवाटारमा भएको छलफलको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “एमालेले जबाफ नमागी राजीनामा माग्ने कुरा संसदीय विधि र परम्पराविपरीत हो भन्नेमा त्यहाँ कांग्रेसकै नेताहरूको जोडबल थियो।"

"त्यस कारण उहाँहरूले हामीलाई त्यस्तो शङ्का गर्ने ठाउँ नै दिनुभएको छैन।”

एमाले किन प्रचण्डको राजीनामा चाहन्छ?

प्रचण्ड र ओली

तस्बिर स्रोत, Reuters

प्रचण्डको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको जबाफ नभई राजीनामा चाहिएको बताए।

प्रचण्डको भनाइलाई “राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक” भन्दै ओलीले थपे, “हामीलाई उहाँको जबाफ होइन राजीनामा चाहियो।”

एमालेका प्रमुख सचेतक पदम गिरी आफूहरूको सदन अवरोध सत्ताको लागि नभई देशको स्वाधीनतासँग जोडिएको दाबी गर्छन्।

"यो पहिलो पटक होइन यसअघि पनि उहाँबाट भारतको 'कम्फर्टेबल' सरकार बनाउने जस्ता अभिव्यक्ति आएका थिए। बहालवाला प्रधानमन्त्रीबाट बारम्बार यस प्रकारका अभिव्यक्ति आइरहने कुरा चाहिँ संवेदनशील विषय हो," उनले भने।

"अहिले हामीले प्रमुख प्रतिपक्षी दलको हैसियतले यो विषय उठाउनुपर्थ्यो, उठाएका छौँ। हामी सरकारमा जानका लागि उद्देश्य बोकेर होइन। नैतिक रूपमा उहाँ सत्तामा बस्न सुहाउने स्थिति भएन, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।"

रेड लाइन
रेड लाइन

एमालेले माग गरेजस्तै प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए नयाँ सरकार गठनका लागि एमालेलाई पनि पहल गर्ने बाटो खुल्न सक्छ।

त्यस बेला एमालेले के गर्छ भन्ने जिज्ञासामा प्रमुख सचेतक गिरी भन्छन्, "त्यसपछि भएका राजनीतिक पार्टीहरूले छलफल गरेर जसले बहुमत पुर्‍याउँछ उसले सरकारको नेतृत्व गरेर जाने कुरा त सामान्य र स्वाभाविक प्रक्रिया भयो।"

"त्यसमा एमालेले, कांग्रेसले वा अर्को पार्टीले पुर्‍याउला... त्यो अर्को कुरा भयो।”

विश्लेषक सुवेदी एमालेको विरोधको कारण अभिव्यक्तिको संवेदनशीलता मात्रै नभएर गठबन्धनभित्रको खटपट पनि भएको अवस्थामा प्रचण्डले माफी मागेर पनि समस्या समाधान नहुने ठान्छन्।

“अन्य अन्तर्निहित कारणले नै एमाले सङ्गठित भएर अघि बढेको हो भने माफीले पनि काम गर्ने स्थिति चाहिँ रहन्न,” उनले भने।

“त्यसको एउटा गन्तव्य संविधानका केही विषयवस्तुलाई संशोधनको सर्त सहित सरकार परिवर्तन हो।”

तर त्यसले सातै प्रदेशमा अस्थिरता आउने जोखिम भएका कारण कांग्रेस त्यो हदसम्म नजाने सुवेदी ठान्छन्।

प्रधानमन्त्री पक्षको भनाइ के छ?

प्रधानमन्त्रीका प्रेस सल्लाकार गोविन्द आचार्यले वक्तव्य जारी गर्दै प्रचण्ड र प्रीतम सिंह बीचको सम्बन्ध खुलाउँदै प्रचण्डको अभिव्यक्तिको बचाउ गरेका छन्।

उक्त वक्तव्यमा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरे लगत्तै प्रचण्ड र प्रीतम सिंहबीच भेटघाट र चिनजान भएको उल्लेख छ।

वक्तव्यमा आचार्यले “प्रचण्ड र सिंहबीचको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको” उल्लेख गरेका छन्।

उनले प्रचण्डले सिंहसँग भएका पारिवारिक सम्वादका कुरालाई “कार्यक्रममा स्मरण गरेको” दाबी गरेका छन्।

“सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बङ्गाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुखद् छ,” त्यसमा भनिएको छ।

उक्त वक्तव्यमा प्रधानमन्त्री प्रचण्ड “सदैव सङ्घीय संसद्‌प्रति जवाफदेही भएको” र उनलाई संसद्‌मा प्रष्टिकरणको मौकासमेत नदिइ उनको भनाइको आसयविपरीत एकपक्षीय ढङ्गले प्रचारप्रसार गरिएको दाबी पनि गरिएको छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद् अवरोध गर्दा महत्त्वपूर्ण विधेयकहरू पारित गर्न नसकिएको पनि उक्त वक्तव्यमा आचार्यले जनाएका छन्।

यसअघिका विवाद कस्ता?

प्रचण्ड

तस्बिर स्रोत, RSS

गत महिना भारत भ्रमणका क्रममा पनि नेपालको सीमा समस्या समाधानबारे प्रचण्डले भनेको कुराका कारण उनी आलोचित भएका थिए।

उनले आन्तरिक छलफल नगरी भारतले नेपाललाई बाङ्ग्लादेशसम्मको सडक पहुँच दिनुपर्ने र 'बाङ्ग्लादेश मोडल' बाट नेपाल र भारतसँगको सीमा समस्या समाधान गर्न सकिने बताएको भन्दै प्रतिपक्षी दलले सदनमा प्रश्न गर्‍यो।

अभिव्यक्तिकै कारण पटकपटक विवादमा आइरहने प्रचण्डविरुद्ध उनको सार्वजनिक भाषणलाई प्रमाणको रूपमा पेस गर्दै गत फागुनमा सर्वोच्च अदालतमा मुद्दा नै पर्‍यो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले जनयुद्धकालीन हत्यामा प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दिएका थिए।

उनीहरूले विसं २०७६ सालमा प्रचण्डले काठमाण्डूमा आयोजित माघी महोत्सवमा दिएको अभिव्यक्तिका आधारमा मुद्दा दर्ता गरेका थिए।

उक्त महोत्सवमा प्रचण्डले भनेका थिएः "मैले १७,००० मानिस मारेर आएको भन्ने तथ्याङ्क भनिन्छ। यो सत्य होइन। सत्य के हो भने हिजोको राज्यले १२,००० मारेको हो। तर ५,००० को जिम्मा मलाई दिनुहुन्छ भने म जिम्मा लिन्छु। राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने यो न्याय हुँदैन।"

उनीविरुद्धको मुद्दा अहिले विचाराधीन छ।