सूर्यग्रहण पछ्याउन दुइटा विमान उडाउँदै नासा

नासाको विमान

तस्बिर स्रोत, NASA

अब केही घण्टापछि उत्तर अमेरिकामा करोडौँ मानिसले सूर्यग्रहण देख्न पाउने छन्। तर ग्रहण हेर्ने कुरा मौसममा पनि भर पर्छ। बादल लाग्यो भने ग्रहणले छोपेको सूर्य नै छेकिन्छ।

कुनै ठाउँमा सरदर ३७५ वर्षपछि खग्रास सूर्यग्रहण पर्छ। त्यो हेर्ने अवसर नगुमाउन के गर्नुपर्ला त?

बादलमाथि आकाशमा जाने!

अमेरिकी अन्तरिक्ष निकाय नासाका चार पाइलटले त्यसै गर्न लागेका छन्। उनीहरू मेक्सिकोको तटबाट नासाका दुइटा विशेष विमान डब्ल्यूबी-५७ उडाएर सूर्यग्रहण अवलोकन गर्ने योजनामा छन्।

उनीहरू ग्रहणका बेला चन्द्रमाले सूर्यलाई छेक्दा दक्षिणपश्चिम दिशाबाट उत्तरपूर्वतिर अघि बढ्ने ‘पाथ अफ टोट्यालिटी’ अर्थात् पूर्ण छाया पर्ने मार्गमा सात मिनेट रहन पाउने छन्। जमिनमा भने उक्त अवधि चार मिनेटको मात्र हुने छ।

पृथ्वीको सतहबाट १५ किलोमिटर (५०,००० फीट) माथि आकाशमा हुँदा उनीहरूले विभिन्न उपकरण प्रयोग गरेर ग्रहणको अध्ययन गर्ने छन्।

सन् २०१७ मा सूर्यग्रहण हेर्दै एक बालक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१७ मा पनि खग्रास सूर्यग्रहण लागेको थियो तर यसपालि उत्तर अमेरिका महादेशमा बढी मानिसले देख्न पाउने छन्

उत्साह र अपेक्षा

“यो निकै उत्साहवर्धक छ,” नासा पाइलट तथा सेन्सर इक्विप्मन्ट अपरेटर (एसईओ) टोनी केसीले भने।

“यो अभियानमा सहभागी हुन पाउँदा म निकै उत्साहित छु। यो क्षणमा त्यहाँ पुग्न र छायामा पर्न पाउने अनुभवको प्रतीक्षामा छु।”

केसीको जिम्मेवारी एउटा विमानमा राखिएको ग्रहण अध्ययन गर्ने उपकरणहरू चलाउनु हो।

विमानको चुच्चो भागमा एउटा क्यामरा र टेलिस्कोप प्रणाली जडान गरिएको छ। त्यसको प्रयोग गरी उनी इन्फ्रारेड र देखिने प्रकाशमा सूर्यका अनेकौँ तस्बिरहरू खिच्ने छन्। चन्द्रमा नजिक आइपुग्दा सूर्यको ‘कोरोना’ अर्थात् वायुमण्डलको अध्ययन गर्न ती तस्बिरहरू उपयोगी हुने छन्। तिनले सूर्यनजिकै धुलोका गोला घेरा र क्षुद्रग्रह खोज्न पनि सघाउँछन्।

कोलराडोस्थित साउथवेस्ट रिसर्च इन्स्टिट्यूटका सौर्य भौतिकशस्त्री अमिर कास्पीका अनुसार ती विमानको चुच्चो भागमा जडित प्रणालीमा टेलिस्कोप राख्न मिल्छ। उनकै योजना र विज्ञतामा केसीले विमानमा वैज्ञानिक प्रयोग सञ्चालन गर्न लागेका हुन्।

सन् २०१७ मा खग्रास सूर्यग्रहण पर्दा पनि त्यस्तै प्रयोग गरिएको थियो।

नासाका डब्ल्यूबी-५७ विमान

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, नासाका डब्ल्यूबी-५७ विमान सन् १९४० को दशकमा निर्माण गरिएको बमवर्षक विमानका उन्नत संस्करण हुन्

ग्रहण अघिअघि, विमान पछिपछि

ग्रहण सुरु हुनुभन्दा दुई घण्टाअघि नासाका दुई विमान टेक्ससको ह्यूस्टनस्थित जोन्सन स्पेस सेन्टरनजिकै रहेको एलिङ्टन फील्डबाट उडेर मेक्सिकोतिर जाने छन्।

केसीका अनुसार ग्रहणका बेला ती दुई विमान झन्डै पाँच वा छ माइलको दूरीमा हुने छन्।

ग्रहणको गति २,५०० किलोमिटर प्रतिघण्टा हुने छ। यद्यपि ती विमान ७४० किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने छन्। पृथ्वीको तुलनामा विमानले पूर्ण छाया परेर भएको अँध्यारोमा बढी समय व्यतीत गर्न पाउने छन्।

“हामी पक्कै पनि ग्रहणको गतिमा जान सक्दैनौँ,” उनले भने, “त्यसैले त्यहाँ पुग्न र सही ठाउँमा हेर्न चाहन्छौँ अनि पूर्ण छाया हराएपछि हामी फर्किन्छौँ।”

ग्रहण हिँड्ने बाटो

सूर्यमा के खोजिन्छ

ग्रहण विमानबाट दाहिनेपट्टि देखिने छ।

पृथ्वीमा भएका वैज्ञानिकहरूको टोलीसँग संवाद गर्दै तथा सूर्यका विभिन्न भागमा जूम गर्दै केसीले क्यामरा चलाउने छन्।

“[क्यामराबाट हेर्दा] देखिने भागमा एकतिहाइ सूर्य मात्र पर्छ,” उनले भने। त्यसैले ग्रहणका बेला सूर्यलाई पूरा नियाल्न सूर्यका दुवै छेउतिर क्यामरा घुमाउनुपर्ने छ। त्यस क्रममा देखिने रोचक सौर्य ज्वालालाई पनि उनी क्यामरामा कैद गर्ने प्रयास गर्ने छन्।

अनि उनी आफ्नै आँखाले पनि ग्रहण हेर्न समय मिल्छ कि भन्ने आशमा छन्। “यो महँगो वैज्ञानिक क्यामरा र उपकरण चलाउनुअघि पूर्ण ग्रहण आरम्भ भयो कि भएन भनेर हामीले निर्क्योल गर्नुपर्छ,” उनले भने। “तर बेलाबेलामा हेर्नुबाहेक म यो उपकरणले सही तरिकाले काम गरिरहेको पक्का गर्न स्क्रीनमा पनि हेरिरहन्छु।”

आकाशमा त्यति माथि वायुमण्डल पातलो हुन्छ। “तुवाँलोभन्दा माथि हुने भएकाले त्यहाँबाट अझ स्पष्ट दृश्य देखिनुपर्छ,” उनले भने।

प्रकाश वायुमण्डलमा छरिने हुँदा आकाश नीलो हुन्छ।

त्यसैले पृथ्वीमा गरिने अवलोकनमा भन्दा त्यहाँबाट प्राप्त परिणाम राम्रो हुने अपेक्षा गरिएको छ।

सूर्यग्रहण
सूर्यग्रहण

डब्ल्यूबी-५७ विमान नै किन

यी विमानलाई ग्रहणहरूको अध्ययन गर्न विविध कारणले उपयुक्त मानिन्छ। यी लामो दूरीमा झन्डै ४,००० किलोमिटर र लामो समय अर्थात् झन्डै ६.५ घण्टा उड्न सक्छन्।

तर यी विमानको प्रयोग ग्रहणको अध्ययनमा मात्र सीमित छैन। नासाले यिनलाई अन्य अनुसन्धान र रकेट प्रक्षेपणजस्ता घटनाको तस्बिर खिच्न पनि प्रयोग गर्छ।

सन् २०२२ को नोभेम्बरमा केसीले विमानबाट नासाको ‘आर्टमिस पहिलो’ अभियान प्रक्षेपण र एप्रिल २०२३ मा स्पेसएक्सको विशाल स्टारशिप रकेट प्रक्षेपणको तस्बिर खिचेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।