तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा बन्दुक आक्रमणमा ५ जनाको मृत्यु
- Author, बेन तोबाइअस र एल्सा माइसमेन
- Role, बीबीसी न्यूज
अमेरिकाको कोलोराडो राज्यस्थित एक समलिङ्गी क्लबमा शनिवार राति एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
घटनामा संलग्न आरोपितलाई प्रहरीले हिरासतमा लिएको छ र घाइतेको उपचार भइरहेको छ।
घटनास्थलमा दुई जना "साहसी" व्यक्तिहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कोलोराडो स्प्रिङ्ग्सस्थित क्लब क्यूले फेसबुकमार्फत् आफ्नो समुदायमथि "निरर्थक आक्रमणका कारण निकै दुखी" भएको जनाएको छ।
घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकीहरूले यस्तो "घृणा सहन नसक्ने र फैलाउन नहुने" बताए।
प्रहरीले पीडितको पहिचान र मृतकको सङ्ख्या निश्चित भइरहेको र अन्य मानिसलाई धैर्य गर्न आग्रह गरेको छ। उसले केही व्यक्ति आफैँ अस्पताल पुगेको समेत बताएको छ।
अधिकारीहरूले शनिवार स्थानीय समय अनुसार राति ११:५७ बजे आक्रमणकारीबारे आपतकालीन जानकारी प्राप्त गरेको बताइएको छ।
सन्दिग्ध व्यक्ति क्लब भित्रै फेला परेका थिए।
घटनास्थलमा दुईवटा बन्दुक भेटिएका छन् र आक्रमणकारीले लामो किसिमको राइफल प्रयोग गरेको अनुमान गरिएको छ।
प्रहरीले आरोपितले गोली चलाउनुको उद्देश्यबारे कुनै जानकारी दिएको छैन। यद्यपि, अनुसन्धानले यो घृणा सम्बन्धी अपराध हो वा होइन र आक्रमणमा एक भन्दा बढी मानिसको संलग्नता छ या छैन भन्ने कुरा पत्ता लगाउने प्रहरीको भनाइ छ।
नजिकैको डेनभरमा अवस्थित अनुसन्धान सम्बन्धी निकाय एफबीआईले घटनामाथि छानबिनमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताएको छ।
कस्तो अवस्थामा आक्रमण?
प्रहरी प्रमुख एड्रिअन भास्किसले आक्रमणकारीलाई रोक्न सक्ने दुई व्यक्तिहरूप्रति आभार व्यक्त गरे।
"प्रारम्भिक प्रमाण र अन्तर्वार्ताले सन्दिग्ध व्यक्ति क्लब क्यूमा प्रवेश गरे लगत्तै त्यहाँ रहेका मानिसहरू लक्षित गोली प्रहार गर्न थालेको सङ्केत गर्छ," उनले आइतवार एक पत्रकार सम्मेलनमा भने।
"ऊ क्लब भित्र रहँदै त्यहाँ आएका दुई साहसी मानिसहरूले उसलाई रोके र थप हानी हुन दिएनन्। हामी उनीहरूप्रति कृतज्ञ छौँ।"
क्लब क्यू फेसबुक पेजमा साझा गरिएको एक विज्ञप्तिमा पनि "बन्दुकधारीलाई नियन्त्रणमा लिने र उक्त घृणित आक्रमण रोक्ने दुई सेवाग्राहीले तत्काल उठाएको कदम"का लागि धन्यवाद व्यक्त गरिएको छ।
घटना हुँदा क्लबले डान्स पार्टीको आयोजना गरेको थियो र आइतवार साँझ ट्रान्सजेन्डर डे अफ रिमेम्बरेन्स मनाउन एक कार्यक्रम आयोजना गर्ने योजना बनाएको थियो।
आक्रमणको समयमा ३४ वर्षीय जोशुआ थुरमेन क्लबमै थिए।
उनले कोलोराडो सनसँग सुरुमा आफूले गोलाबारीको आवाजलाई सङ्गीतको अंश ठानेका बताए। पछि उनी क्लबको ड्रेसिङ रुममा शरण लिन पुगे।
"जब म बाहिर निस्किएँ तब भुईँमामा मानिसको शव, फुटेका सिसा र कप छरपस्ट थिए। मानिसहरू रोइरहेका थिए," उनले सुनाए।
"कसैले पनि त्यो मान्छेलाई हामीलाई मार्न आउनबाट रोक्न सकेन। यस्तो किन भयो? किन मानिसहरूले आफ्नो ज्यान गुमाउनु पर्यो?"
नजिकै बस्ने थुरमेनका अनुसार उक्त क्लब स्थानीय समलैङ्गिक समुदायको लागि महत्त्वपूर्ण अंश हो। उनले मारिनेहरूमध्ये एक जना आफूले चिनेको मानिस भएको ठानेका छन्।
समलिङ्गी गभर्नरको सन्देश
कोलोराडो स्प्रिङ्ग्सका मेअर जोन सुथर्सले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
"हामी विगतमा घृणा र हिंसाको सामना गर्न लचिलोपन देखाउने बलियो समुदाय हौँ र फेरि त्यसो गर्नेछौँ," उनले भने।
२२ वर्षीय सन्दिग्धलाई एन्डरसन ली एल्ड्रिच भनिएको छ।
सन् २०१५ मा, कोलोराडो स्प्रिङ्ग्सको प्लान्ड प्यारेन्टहुड क्लिनिकमा गोलाबारी हुँदा तीन जनाको मृत्यु भएको थियो र नौ जना घाइते भएका थिए।
कोलोराडो राज्यमा सन् २०२१ मा बोल्डरको एक सुपरमार्केटमा १० जनाको मृत्यु हुनेगरी भएको बन्दुक आक्रमणसहित अन्य गोलीकाण्ड भएका छन्।
कोलोराडोका गभर्नर जेरेड पोलिसले "मानिसको ज्यान जोगाउन बन्दुकधारीलाई रोक्ने साहसी व्यक्तिहरू"को प्रशंसा गरे। पोलिस समलिङ्गी हुन्।
"कोलोराडो घटनाका कारण प्रभावित सबै र हाम्रो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको साथमा," उनले फेसबुकमा लेखेका छन्।
ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा राष्ट्रपति बाइडनले भनेका छन्: "उत्सव मनाउन र एकअर्कालाई स्वीकार गर्न सुरक्षित मानिएका ठाउँहरूमा कहिल्यै पनि आतङ्क र हिंसा हुनु हुँदैन। यद्यपि यस्तो पटकपटक हुन्छ। हामीले असमानताहरूलाई त्याग्नु पर्छ जसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मानिसहरूविरुद्ध हिंसा प्रोत्साहित गर्छ।"
अहिले क्लब क्यूको फेसबुक पेजमा विश्वभरबाट शोक व्यक्त गरिएको छ।
सन् २०१६ मा फ्लोरिडाको ओर्लाण्डोमा रहेको पल्स गे क्लबमा भएको बन्दुक आक्रमणमा ४९ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए। त्यतिबेला अमेरिकी इतिहासमा त्यो सबैभन्दा घातक गोलीकाण्ड थियो।