एसीसी प्रिमिअर कपमा समूह चरणको अन्तिम खेलमा नेपालको कठिन जित

गुलशन झा

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, नेपालको जितका लागि आज पनि गुलशन झाले महत्त्वपूर्ण योगदान गरे
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

लीगको अन्तिम खेल खेल्नुअगावै एसीसी प्रिमिअर कपको समूह 'ए 'को शीर्ष स्थानमा रहिसकेकोले ढुक्क नेपालले वर्षाले प्रभावित लीगको अन्तिम खेलमा बुधवार साउदी अरबलाई छ विकेटले पराजित गरेको छ।

यससँगै ओमानमा जारी प्रतियोगितामा लीगका चारवटै खेल जित्दै नेपालले सेमिफाइनल खेल्नुअगाडि प्रशस्त आत्मविश्वास बटुलेको छ।

अघिल्लो रात परेको पानीका कारण अल अमेरत क्रिकेट मैदान २ को पिच भिजेपछि खेल झन्डै साढे दुई घण्टा ढिलो सुरु भएको थियो।

त्यसपछि नेपाली कप्तान रोहित पौडेलले टस जितेर फील्डिङ रोज्दै साउदी अरबलाई ७३ रनमा रोके।

जबाफमा ७.२ ओभरमा चार विकेट गुमाउँदै नेपालले खेल आफ्नो पक्षमा पार्‍यो।

गाह्रो जित

कुशल मल्ल

तस्बिर स्रोत, ACC

तस्बिरको क्याप्शन, कुशल मल्लले जम्मा तीन रन मात्र बनाउन सके

साउदी अरबले कसिकसाउ बलिङ गर्दै नेपालका सुरुवाती ब्याटरहरूलाई पवेलियन फर्काएपछि नेपालले जितको लागि भने सङ्घर्ष गर्नुपर्‍यो।

कुशल भुर्तेल (० रन), आशिफ शेख (२ रन) र कुशल मल्ल (२ रन) तीन ओभरभित्र आउट भएपछि खेलाडीहरू दबावमा परे।

दीपेन्द्रसिंह ऐरी पनि नौ बलमा १७ रन बनाएर आउट भए।

यस्तोमा फेरि एक पटक गुलशन झाले महत्त्वपूर्ण इनिङ्स खेल्दै १९ बलमा अविजित ३२ रन बनाएर नेपाललाई जिताए। उनले विजयी चौका पनि हाने।

उनी 'प्लेअर अफ द म्याच' बने।

कप्तान रोहित पौडेलले १६ रन बनाए।

नेपालको बलिङ

करण केसी र प्रतीश जीसी

तस्बिर स्रोत, ACC

आठ ओभरको खेलका लागि प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई आराम दिँदै प्रतीश जिसीलाई प्लेइङ ११ मा मौका दिएका थिए।

छोटो खेल भएकोले साउदी अरबका खेलाडीहरूले सुरुवातदेखि नै आक्रामक रूप देखाउन थाले।

पहिलो बलमै करण केसीलाई छक्का हान्दै फैसल खानले आक्रमणको सङ्केत दिए। तर अर्को बलमा करणले उनलाई कुशल मल्लबाट क्याच गराएपछि प्रतिस्पर्धा रोमाञ्चक देखियो।

करणले तेस्रो ओभरमा मोइन अलिलाई पनि आउट गरे।

साउदी अरबबाट अब्दुल वाहीदले १६ बलमा ३७ रन बनाएर उल्लेख्य स्कोर बनाउने एकमात्र खेलाडी बने।

बाँकी कुनै खेलाडीले पनि दोहोरो अङ्क बनाउन सकेनन्।

विपक्षी खेलाडीलाई आउट गर्ने क्रममा करण केसी र अविनाश बोहराले दुईदुई विकेट तथा ललितनारायण राजवंशी र प्रतीश जीसीले एकएक विकेट लिएका थिए।

समूह 'ए'को उपविजेता

आजको खेलको नतिजा नेपालका लागि भन्दा पनि साउदी अरब, मलेशिया, कतार र हङ्‌कङका लागि महत्त्वपूर्ण थियो।

यी चारमध्ये कुन टोली सेमिफाइनल पुग्छ भन्ने आजको खेलले निर्धारण गर्ने थियो।

अमेरतको ग्राउन्ड १ मा हङकङले मलेसियालाई १३ ओभरभित्रै पराजित गरेपछि चार अङ्कका साथ रनरेटमा अगाडि रहँदै मलेशिया मात्र नभई कतारको पनि सेमिफाइनल पुग्ने सम्भावना समाप्त गरिदियो।

यस्तोमा साउदी अरबले नेपाललाई जितेमा मात्र हङ्‌कङलाई रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिने खतरा थियो।

तर नेपालले साउदीलाई हराएसँगै हङ्‌कङ समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

अब नेपालले सेमिफाइनलमा कोसँग खेल्ने भने निर्णय भने समूह ‘बी’को साँझ हुने खेलको नतिजाले मात्र निर्धारण गर्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।