ट्रम्पविरुद्धको सन् २०२० को चुनावी नतिजा उल्टाउन खोजेको मुद्दा फिर्ता

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकामा एकजना न्यायाधीशले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू पराजित भएपछि नतिजा उल्टाउने प्रयास गरेको आरोप लगाइएको एक फौजदारी मुद्दालाई खारेज गरिदिएका छन्।

न्याय मन्त्रालयको नीतिले बहालवाला राष्ट्रपतिलाई अभियोजन चलाउन रोकेकाले विशेष अभियोजनकर्ता ज्याक स्मिथले यसअघि आफैले अघि सारेको उक्त अभियोग फिर्ता गर्नका लागि अनुरोध गरेका थिए।

न्यायाधीशले 'बिना पूर्वाग्रह' उक्त अभियोग खारेज गरेको बताएकाले ती अभियोगहरू ट्रम्पले आफ्नो दोस्रो कार्यकाल पूरा गरेसँगै पुनः दायर हुन सक्छन्।

ट्रम्पले ह्वाइटहाउस छाडेपछि गोप्य दस्ताबेजहरूलाई राम्रोसँग नसम्हालेको आरोपविरुद्धको मुद्दा समेत अगाडि नबढाउने स्मिथले बताए।

के छ संवैधानिक व्यवस्था?

ट्रम्पले ज्यानुअरी २० तारिखबाट नयाँ राष्ट्रपतिको पद सम्हाल्दैछन्। उनले ती दुवै सङ्घीय मुद्दामा आफू निर्दोष रहेको बताएका छन्।

“न्याय मन्त्रालय लामो समयदेखि अमेरिकाको संविधानले बहालवाला राष्ट्रपतिलाई सङ्घीय अभियोग दायर गर्न र मुद्दा चलाउन रोक्न गरेको व्यवस्थामा अडिग छ,” सो निर्वाचनसम्बन्धी अभियोगमा स्मिथले थप लेखेका छन्।

“यस नतिजा प्रतिवादीविरुद्धको मुद्दाको योग्यता वा शक्तिमा आधारित छैन,” आफ्नो छ पृष्ठ लामो मिसिलमा उनले उल्लेख गरेका छन्।

सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवन 'क्यापिटल'मा दङ्गाकारीहरू प्रवेश गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवन 'क्यापिटल'मा दङ्गाकारीहरू प्रवेश गरेका थिए

यसअघि ह्वाइटहाउसबाट बाहिरिएसँगै ट्रम्पले अभूतपूर्व कानुनी चुनौतीहरू सामना गरेका थिए।

स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई रकम दिएको मुद्दामा फौजदारी मुद्दा खेप्ने र पछि दोषी ठहर हुने पहिलो पूर्वअमेरिकी राष्ट्रपति ठहरिएका थिए।

ट्रम्पका कानुनी चुनौती

यस वर्षको सुरुमा उनले दुई सङ्घीय मुद्दा र अन्यसँग सम्बन्धित १०० फौजदारी आरोपहरू सामना गरे।

त्यसपछि सर्वोच्च अदालतले यस गर्मी याममा उनले राष्ट्रपतिका रूपमा लिएका "आधिकारिक कार्यहरू" को लागि मुद्दा चलाउन नसकिने निर्णय गर्‍यो र त्यसको केही केही महिनापछि ट्रम्पले चुनाव जिते।

अहिले लगभग सबै अभियोगहरू फिर्ता लिइएको छ। जोर्जा राज्यको अभियोजन हालका लागि रोकिएको छ।

ट्रम्पले आफ्नो सोसल मिडिया साइट ट्रुथ सोसलमा गरेको एक पोस्टमा ती सङ्घीय अभियोगहरू "खोक्रा र कानुनविहीन रहेको त्यो अगाडी नै सार्न नहुने" बताएका थिए।

"त्यो एक राजनीतिक अपहरण थियो र हाम्रो देशको इतिहासमा त्यस्तो पनि हुनसक्छ भन्ने तल्लो विन्दु थियो, तर पनि व्यवधानबीच दृढ छु," उनले लेखेका छन्।

उपराष्ट्रपति निर्वाचित जेडी भान्सले ती अभियोगहरू "सधैँ राजनीतिक" भएको बताए।

"यदि डोनल्ड जे ट्रम्पले चुनाव हारेको भए उनले आफ्नो उल्लेख्य बाँकी जीवन जेलमा बिताउने थिए," उनले सोसल मिडियामा लेखेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।