तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुन कुराले अमेरिकी राष्ट्रपति ट्रम्पको शक्तिलाई सीमित तुल्याउन सक्छन्?
- Author, आङ्खेल बेरमुडेस्
- Role, बीबीसी न्यूज मुन्डो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका क्रममा थुप्रै परिवर्तनहरू लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यभार सम्हालेसँगै उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा, लागूपदार्थ तस्करहरूको गिरोहहरू, कार्टेललाई आतङ्कवादी सङ्गठन घोषणा र ज्यानुअरी छ तारिखको दङ्गामा संलग्नलाई माफी दिनेलगायतका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्।
चुनावी अभियानका क्रममा रिपब्लिकन पार्टीका यी उम्मेदवारले अमेरिकी इतिहासमै "सबैभन्दा ठूलो देश निकाला" कार्यान्वयन गर्ने, कर्मचारीतन्त्र व्यवस्थित गर्ने, कर कटौती र विदेशी आयातमा नयाँ करहरू लगाउने वाचा गरेका थिए।
आफ्ना घोषित लक्ष्यहरू हासिल गर्न ट्रम्प संसद्मा रहेको रिपब्लिकन पार्टीको नियन्त्रण र सर्वोच्च अदालतमा कायम कन्जरभेटिभहरूको बहुमत माथि भर परिरहेका छन्। तर उनका सामु जाँच, सन्तुलन र अन्य चुनौतीहरू छन्। विश्लेषकहरूका अनुसार उनका योजनाहरूलाई सीमित तुल्याउन सक्ने विभिन्न छ वटा कारणहरू यस्ता छन्।
१. संसद्मा झिनो बहुमत
संसद्का दुवै सदनमा रिपब्लिकनहरूको बहुमत छ, तर झिनो मात्र।
गत नोभेम्बरको चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनहरूले २२० सिट जिते भने डेमोक्र्याटहरूले २१५ सिट जितेका छन्। त्यसयता, दुईजना रिपब्लिकन सांसदहरूले राजीनामा दिएका छन् र एकजनाले त्यसैलाई पछ्याउने ठानिएको छ।
खाली स्थानहरूका लागि आउँदा महिनाहरूमा चुनाव भए पनि अहिले भने रिपब्लिकनहरूको जम्मा दुई सिटको मात्रै अग्रता कायम छ।
"आधुनिक इतिहासको यो सबैभन्दा झिनो बहुमत हो," लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा नीति, कानुन र राजनीति विज्ञानका प्राध्यापक मार्क पिटरसनले बीबीसी मुन्डोसँग भने।
उनी रिपब्लिकनहरू "अत्यन्तै एकताबद्ध" रहेको तर त्यस्तो भए पनि उनीहरूलाई जटिल मुद्दामा एकै ठाउँमा ल्याउन कठिन रहेको बताउँछन्।
सिनेटमा भने रिपब्लिकनहरूको ५३ सिट छ, डेमोक्र्याटहरूको ४७ सिट छ। यसको अर्थ 'सुपरमेजरिटी' अर्थात अत्यधिक बहुमतका लागि आवश्यक पर्ने ६० मत उनीहरूसँग छैन। त्यति सङ्ख्यामा मत भएको भए विपक्षी सांसदहरूले मतदानमा ढिलाइ गर्ने वा विरुद्धमा मत दिने अवस्था नै रहँदैन थियो।
यद्यपि, रिकन्सिलिएशन अर्थात मेलमिलाप भनिने विशेष प्रक्रिया अन्तर्गत सिनेटलाई बजेटसम्बन्धी प्रावधानहरू पारित गर्न भने जम्मा ५१ मतको सामान्य बहुमत नै पर्याप्त हुन्छ।
रिपब्लिकनहरूले आफ्ना उद्देश्य प्राप्त गर्न यही प्रक्रिया अन्तर्गत आफूले चाहेका प्रावधानहरूलाई मिसाएर अघि बढ्न सक्ने, प्राध्यापक पिटरसन बताउँछन्, "तर त्यसबाहेकका लगभग सबैकुरा डेमोक्रयाटहरूले रोक्न सक्छन्।"
प्राध्यापक पिटरसनले ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुको आधा समयमा दुवै सदनमा बहुमत रहेको अवस्थामा कर कटौतीसम्बन्धी विधेयक मात्रै पारित गर्न सकेको उल्लेख गरे।
२. स्वतन्त्र न्यायपालिका
सर्वोच्च अदालत अमेरिकाको सबैभन्दा माथिल्लो अदालत हो जसमा न्यायाधीशको पद रिक्त भएपछि राष्ट्रपतिले नयाँ नियुक्ति गर्न पाउँछन्।
९ मध्येका ६ जना न्यायाधीशहरू अहिले कन्जरभेटिभहरू हुन्। ती मध्ये पनि तीन जना ट्रम्पले आफ्नो पहिलो कार्यकालका बेला छानेका न्यायाधीश हुन्। तर उनको प्रशासनका कामहरूलाई अदालतले समर्थन गर्छ भन्ने पक्का हुँदैन।
ट्रम्पले सन् २०१६ को चुनावी अभियानका बेला बाचा गरे अनुसार नै सन् २०२२ मा गर्भपतनसम्बन्धी अधिकारलाई प्राप्त संघीय संरक्षणलाई सर्वोच्च अदालतले उल्टाइ दिएको थियो।
यद्यपि, रिपब्लिकनले आशा गरेभन्दा फरक सर्वोच्च अदालतले ओबामा केयर पनि भनिने "अफोर्डेबल केयर एक्ट'का केही प्रावधान भने सदर गर्यो। त्यसबाहेक समलिङ्गीहरूलाई कार्यालयमा हुने गरेको विभेदबारे पनि केही प्रावधान सदर गर्यो।
सन् २०२० को राष्ट्रपतीय चुनावी परिणाम उल्ट्याउन गरिएको प्रयास पनि सर्वोच्च अदालतले अस्वीकार गर्यो। त्यसबाहेक बालक अवस्थामा गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका केही आप्रवासीको संरक्षण गर्ने कार्यक्रम उल्ट्याउने प्रयासलाई सर्वोच्च अदालतले रोकिदिएको थियो।
पीउ रिसर्च सेन्टरका अनुसार सर्वोच्च अदालतबाहेक ६० प्रतिशत जिल्ला अदालतका न्यायाधीशहरू डेमोक्र्याट राष्ट्रपतिले र ४० प्रतिशत मात्रै रिपब्लिकनहरूले मनोनयन गरेकाहरू छन्।
प्राध्यापक पिटरसनले न्यायाधीशहरू सर्वोच्च अदालतले तय गरेका कानुन र नजिरहरूबाट निर्देशित हुने उल्लेख गर्दै न्यायपालिका "सरकारको तेस्रो महत्त्वपूर्ण अङ्ग र हदैसम्म स्वतन्त्र हुने" बताए।
३. राज्य र स्थानीय सरकारहरू
अमेरिकी सङ्घीय संरचनाले ह्वाइट हाउसबाट बलपूर्वक लागु गर्न सकिने खालका परिवर्तनहरूलाई सीमित तुल्याएको छ।
अमेरिकी संविधानको १० औँ संशोधनले राज्य सरकारहरूलाई फराकिलो शक्ति दिएको छ। राज्यहरूले सुरक्षा, स्वास्थ्य, शिक्षा, सामाजिक सुविधा, फौजदारी कानुन, श्रम नियमन र सम्पत्तिसम्बन्धी कानुन हेर्छन्। काउन्टी र सहरहरूले सार्वजनिक सुरक्षा, सहरी योजना र जग्गाको प्रयोगको विषय हेर्छन्।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई स्थानीय स्तरमा चुनौती दिन यी शक्तिहरूको प्रयोग गर्ने प्राध्यापक पिटरसन ठान्छन्।
उनी आफू बस्ने गरेको क्यालिफोर्निया राज्यको उदाहरण दिँदै भन्छन् त्यो देशकै ठूलो राज्य हो र यसलाई आकारमा विश्वकै "पाँचौँ ठूलो अर्थतन्त्र" भन्न सकिन्छ। उनी भन्छन्, "यो राज्य समग्रतामा डेमोक्रेटिक वा उदारवादी वा प्रगतिशील छैन, तर धेरै हदसम्म त्यस्तै दिशामा भने छ।"
उनी भन्छन् क्यालिफोर्निया र अन्य धेरै राज्यहरूले " ट्रम्प प्रशासनले उनीहरूले गरून् भनेर राखेको चाहना भन्दा स्वतन्त्र रूपमा काम गर्ने वा ट्रम्प प्रशासनलाई चुनौती दिने गर्न सक्छन्- टेक्सस र अन्य राज्यहरूले विगतमा बाइडन र ओबामा प्रशासनलाई चुनौती दिएजस्तो।"
अहिले अमेरिकाका ५० मध्ये २३ वटा राज्यमा डेमोक्र्याटिक गभर्नरहरू छन्।
ठूलो सङ्ख्यामा मानिसहरूलाई देश निकाला गर्ने जस्ता ट्रम्पका केही योजना कार्यान्वयन गर्न स्थानीय सहयोग आवश्यक पर्छ त्यसैले राज्य र स्थानीय स्तरबाट हुनसक्ने प्रतिरोधले त्यसलाई प्रभावित तुल्याउन सक्छ।
थुप्रै सहरहरू र राज्यहरूले आफूलाई आप्रवासीका लागि "सुरक्षित स्थल" घोषणा गरेका छन् र त्यसबाट सङ्घीय सरकारसँगको उनीहरूको सहकार्य सीमित भएको छ।
४. अमेरिकी निजामती सेवा
ट्रम्पको पहिलो कार्यकालका क्रममा रिपब्लिकनहरूले निजामती सेवाभित्रका अधिकारीहरूका कारण आफ्ना एजेन्डाहरू लागू गर्न सीमितता भएको गुनासो गरेका थिए।
ट्रम्पले पहिलो कार्यकालको अन्त्यतिर, हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गर्न सकिने र तिनका स्थानमा आफ्ना समर्थकहरूलाई नियुक्त गर्न आफूलाई अधिरकार प्राप्त हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
पूर्व राष्ट्रपति जो बाइडनले त्यसलाई निस्तेज गरिदिए तर राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिन उस्तै खालको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनले कार्यालय नगई घर वा बाहिरबाटै कार्यालयको काम गर्ने सङ्घीय कामदारहरूलाई पनि कार्यालयमा फर्किन आदेश दिएका छन्।
ट्रम्पसँग निकट रहेका कन्जरभेटिभ समूहहरूले सरकारी अधिकारीहरूलाई पुनर्स्थापित गर्न उनीहरूले योग्य ठानेका व्यवसायिक व्यक्तिहरूको डेटाबेस नै बनाएका छन्।
अर्थ मन्त्रालयका कर्मचारीहरूको सङ्गठन 'न्याश्नल ट्रेजरी इम्प्लोइज युनियन' ले राष्ट्रपतिले जारी गरेका नयाँ कार्यकारी आदेशका विरुद्ध कानुनी चुनौती दिइसकेका छन्।
प्राध्यापक पिटरसन राष्ट्रपति ट्रम्पका त्यस्ता कदमहरूले सशक्त संस्थागत, कानुनी, राजनीतिक र ट्रेड युनियनको प्रतिरोधको सामना गर्नुपर्ने ठान्छन्।
५. नागरिक समाज र सञ्चारमाध्यम
ट्रम्पले उदारवादी-झुकाव सञ्चारमाध्यमहरू र अमेरिकन सिभिल लिबर्टिज युनियन(एसीएलयू) जस्ता नागरिक समाजका संस्थाहरूबाट निरन्तर आलोचनाको सामना गर्नुपर्ने देखिन्छ।
१७ लाख सदस्य रहेको एसीएलयूले ट्रम्पका केही प्रस्तावहरूले आप्रवासी परिवारलाई विभाजित गर्ने, प्रजनन स्वास्थ्यलाई नराम्रो असर गर्ने र प्रदर्शनकारी र राजनीतिक विपक्षीहरूलाई दमन गर्ने भन्दै उनका केही प्रस्तावहरूलाई रोक्ने प्रयास गर्ने जनाएको छ।
सोमवार एसीएलयू र अन्य समूहहरूले जन्मका आधारमा अमेरिकी नागरिकता पाइने अधिकार अन्त्य गर्ने उनको योजनालाई पनि कानुनी चुनौती दिएको छ। त्यस्तो अधिकारले अमेरिकामा जन्मिने जो कोहीले स्वतः अमेरिकी नागरिकता पाउन सक्ने व्यवस्था गरेको थियो।
ट्रम्पका केही विपक्षीहरू केही सञ्चारमाध्यमलाई लिएर चिन्तित छन्। खासगरी वाशिङ्टन पोस्ट र एलए टाइम्सले राष्ट्रपतीय निर्वाचनअघि परम्परागत रूपमा राष्ट्रपति पदका उम्मेदवारहरूलाई गरिने गरिएको अनुमोदन प्रकाशित नगर्ने भनेर तिनीहरूले गरेका निर्णयपछि।
ती दुवै सञ्चार गृहले ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गर्ने ठानिएको थियो।
पोस्टका मालिक, एमजनका संस्थापक तथा अर्बपति जेफ बेजोसले "सञ्चारमाध्यम पक्षपाती" भएको भनेर बढ्दो आमधारणाका कारण त्यस्तो निर्णय लिइएको बताएका थिए।
डिसेम्बरमा उनले ट्रम्पको सपथग्रहण समारोहका कार्यक्रमहरूका निम्ति स्थापित कोषमा आर्थिक योगदान दिएको घोषणा गरेका थिए र फ्लोरिडास्थित ट्रम्पको निवासमा उनीसँग रात्रिभोजमा सहभागी पनि भएका थिए।
एलए टाइम्सका मालिक तथा अर्बपति प्याट्रिक सून-शियोङले पनि कुनै उम्मेदवारलाई अनुमोदन गर्दा त्यसले देशमा विभाजन निम्त्याउने डर लागेको बताएका थिए।
६. लोकको समर्थन
राष्ट्रपति ट्रम्पले जनताको आमधारणामा पनि आफ्नो आँखा लगाइरहने छन्। प्राध्यापक पिटरसन उनले निर्वाचनमा ४९.९ प्रतिशत 'पपुलर भोट' पाएको उल्लेख गर्छन् जुन कुल मतदाताको आधाभन्दा केही कम हो। र ट्रम्पले प्रतिशत विन्दुमा कमला ह्यारिसले भन्दा १.५ प्रतिशत विन्दु मात्रै बढी मत पाएका प्राध्यापक पिटरसन बताउँछन्।
"अमेरिकामा कुनै पनि राष्ट्रपतिका लागि त्यो एउटा निकटम् प्रतिस्पर्धा भएको जित हो," उनले भने।
प्राध्यापक पिटरसन भन्छन् ट्रम्पलाई मत दिनेहरू सबैले उनको सबै नीतिलाई समर्थन नगर्ने बताउँछन्।
व्यक्तिगत रूपमा ट्रम्पलाई मन नपराउने केही रिपब्लिकनहरू करको दर कम होस् र नियमनहरू पनि कम होउन् भन्ने चाहन्छन्। जबकि अरूहरूले भने चर्को महँगीसँग जुध्न ट्रम्पलाई उत्तम विकल्पका रूपमा देखेकाले उनलाई चयन गरेको प्राध्यापक पिटरसन बताउँछन्।
यस्तो मिश्रित अवस्थाले सरकारलाई आफ्ना केही अडानहरूलाई नरम तुल्याउन दबाब दिनसक्छ। सन् २०२६ मा हुने मध्यावधि चुनावहरूमा पुनः निर्वाचित हुन र राष्ट्रपतिको लोकप्रियता कायम राख्न यो आवश्यक हुन्छ।
केही विज्ञहरू भन्छन् अर्थतन्त्रलाई बलियो बनाउने र महङ्गी घटाउने राष्ट्रपति ट्रम्पको वाचाहरूलाई आयातमा शुल्क थप्ने र आप्रवासीलाई देश निकाला गर्ने जस्ता उनका अन्य योजनाले प्रभावित तुल्याउन सक्छ।
दक्षिणपन्थी झुकाउको हुभर इन्स्टिच्युसनका अर्थशास्त्री जोन कोक्रन भन्छन् ट्रम्पले आफ्नो गठबन्धनका व्यवसाय-समर्थकहरूको खण्ड र सीमा नियन्त्रण र चीनसँगको द्वन्द्वजस्ता मुद्दा केन्द्रित "राष्ट्रवादीहरू" बीचको तनावको अवस्थामा ट्रम्पले कसरी सन्तुलन मिलाउँछन् भन्ने महत्त्वपूर्ण प्रश्न हो।
"स्पष्ट रूपमा दुवै पक्षले आफूले चाहेकोजस्तो पाउन सक्नेछैनन्," कोक्रन भन्छन्। "यो नै केन्द्रीय मुद्दा हो, र यसैका कारण अब के होला भनेर हामीले अहिले अनुमान लगाउन सक्दैनौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।