ट्रम्पले शपथग्रहणका क्रममा गरेका भाषणका पाँच मुख्य विषय

    • Author, होली होन्डेरिच
    • Role, बीबीसी न्यूज, वाशिङ्टन डीसी

गत नोभेम्बरको निर्वाचनमा विजय हासिल गरी ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि पुनरागमन गरेका डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा सोमवार शपथग्रहण गरेका छन्।

शपथग्रहणपछि उनले गरेको २९ मिनेट लामो भाषणमा उनले "अमेरिकी सपनालाई पुनर्स्थापित गर्ने" वाचा गरे भने आफूभन्दा अगाडिका राष्ट्रपतिको प्रशासनले "अराजकता र विनाश" छाडेर गएको आरोप लगाए।

यदि तपाईँले ट्रम्पको भाषण छुटाउनु भएको छ भने उनको मन्तव्यका मुख्य पाँच विषय यस्ता थिए :

'अमेरिकाको स्वर्ण युग'

ट्रम्पले आफ्नो भाषणको सुरुवात आशा जगाउने खालको कुराबाट सुरु गरे।

"अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ," उनले भने, "आजका दिनदेखि हाम्रो देश फस्टाउने छ र सम्मानित हुने छ।"

विदेशी शोषणबाट आघात पुगेका अमेरिकी उद्योग र अर्थतन्त्रको कालो तस्बिर चित्रण गर्दै आठ वर्षअघि ट्रम्पले गरेको भाषणभन्दा यो निकै भिन्न थियो।

तर सोमवार पनि सम्बोधन अघि बढाउँदै जाँदा ट्रम्पले जसरी आरम्भ गरेका थिए, त्यो स्वर परिवर्तन गर्दै लगे।

राष्ट्रपतिले अहिलेको अमेरिकाको गम्भीर मूल्याङ्कनको प्रस्ताव गरे। उनले "कट्टर र भ्रष्ट संस्थापन"का कारण अमेरिकाले "देशभित्रको साधारण सङ्कट पनि व्यवस्थापन गर्न नसकेको" आरोप लगाए। लस एन्जलसमा भएको आगलागी नियन्त्रणमा देखिएको विफलतातर्फ सङ्केत गर्दै उनले त्यस्तो आरोप लगाएका थिए।

"अब हामी अझै पनि हाम्रो फाइदा उठाउने विषयलाई स्वीकार्दैँनौँ," उनले भने।

नीतिहरूको लामो सूची

शपथग्रहण मन्तव्यलाई राष्ट्रपतिहरूले एकताको लागि आह्वान गर्ने तथा व्यापक खालका प्रतिबद्धताहरू जनाउने अनि नीतिहरूबारे विस्तृतमा खासै उल्लेख नगर्ने अवसरका रूपमा लिइन्छ।

तर ट्रम्पले त्यसो गरेनन्।

उनले त आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत दिए।

ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गर्ने घोषणा गरे। उनले सन् २०१९ मा पनि त्यस्तै सङ्कटको घोषणा गरेका थिए भने आफ्नो चुनावी अभियानमा पनि त्यस्तो गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यस्तै उनले तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा "तत्कालै सेन्सरशिप अन्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने" घोषणा पनि गरे।

'ईश्वरले बचाए'

ट्रम्पले भाषणका क्रममा आफ्नो अराजक र अशान्तिपूर्ण चुनावी अभियानको सबैभन्दा महत्त्वपूर्ण क्षणको स्मरण गरे। त्यो भनेको उनको हत्या प्रयास भएको क्षण थियो।

"हाम्रो अभियान रोक्न चाहनेहरूले मेरो स्वतन्त्रता खोस्न खोजे र वास्तवमा ज्यानै लिन खोजे," उनले भने।

"केही महिनाअघि मात्र पेन्सिलभेनियाको सुन्दर चउरमा मेरो ज्यान लिन खोजिएको गोली मेरो कानमा लागेर गयो तर मैले त्यसपछि अझ बढी के विश्वास गरेँ भने मेरो जीवन केही कारणकै लागि बचेको हो।"

"मलाई अमेरिकालाई फेरि महान् बनाउनका लागि बचाइएको हो।"

मङ्गलग्रह र पानमा कनाल

ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे। उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाए।

उनले पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताए र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गरे। पानमा उक्त जलमार्गका लागि स्वायत्त रहेको छ।

"हामी यसलाई फिर्ता ल्याउने छौँ," ट्रम्पले भने।

उनले 'गल्फ अफ मेक्सिको'को नामलाई परिवर्तन गरेर 'गल्फ अफ अमेरिका' बनाउने घोषणा गर्दा अमेरिकाकी पूर्वविदेशमन्त्री हिलरी क्लिन्टन हाँस्न बाध्य भइन्।

ट्रम्पले अन्तरिक्षतिर पनि हेरे र वाचा गरे, "हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गलग्रहमा हाम्रो झण्डा फहराउनेछौँ।"

उनको उक्त भनाइपछि ट्रम्पका सल्लाहकार तथा अर्बपति इलोन मस्क मुस्कुराए। उनले लामो समयदेखि मङ्गलग्रहमा मानवबस्ती बनाउने घोषणा गर्दै आएका छन्।

अब दुईवटा लिङ्ग मात्र

शपथग्रहण समारोहमा ट्रम्पले सबैभन्दा धेरै तालीको गडगडाहट त्यसबेला पाए, जब उनले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए।

उनले भने, "यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ- यहाँ दुई लिङ्ग मात्र छन् : पुरुष र महिला।"

ट्रम्पले "सार्वजनिक र निजी जीवनका हरेक हरेक पक्षमा" जाति र लिङ्गका आधारमा गरिने "सोशल इन्जिनिअरिङ"लाई विफल पार्ने वाचा गरे।

उनले 'कलर ब्लाइन्ड' अर्थात् रङ्गहरू नचिन्ने र 'योग्यतामा आधारित' देश बनाउने वाचा पनि गरे।

ट्रम्पको शपथग्रहण कार्यक्रममा कोको थिए

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।