तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाको 'एच-वन बी भिसा'का भारतीय आकाङ्क्षीहरू किन चिन्तित
- Author, सौतिक बिस्वास र जोया माटीन
- Role, बीबीसी न्यूज, दिल्ली
आशिष चौहानले आउँदो वर्ष एमबीए पढ्न अमेरिकी विश्वविद्यालय जाने सपना देखेका छन्। उनले व्याख्या गरेअनुसार उक्त सपना उनको "दिमागमा गहिरो गरी छापिएको छ।"
वित्तीय क्षेत्रमा काम गर्दै आएका यी २९ वर्षे भारतीय युवा (उनकै अनुरोधमा नाम परिवर्तन गरिएको) एक दिन अमेरिका गएर काम गर्ने चाहना राख्छन्।
तर अहिले राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पका समर्थकहरूद्वारा अमेरिकी भिसाका आप्रवासनसम्बन्धी विवाद झिकिएकाले द्विविधामा परेको उनी बताउँछन्।
दक्ष विदेशी कामदारलाई अमेरिका भित्र्याउने 'एच–१ बी ' भिसा कार्यक्रमले अमेरिकी कामदारहरूको काम घटाएको भनेर आलोचना भइरहँदा यसले विश्वस्तरका प्रतिभावान् व्यक्तिहरूलाई आकर्षित गरेको भन्दै प्रशंसा पनि हुने गरेको छ।
कुनै समय यस कार्यक्रमको विपक्षमा रहेका ट्रम्प अहिले भने ३४ वर्ष पुरानो उक्त कार्यक्रमको समर्थन गर्छन्। त्यस्तै प्रविधि क्षेत्रका अर्बपति इलोन मस्क उच्चस्तरका इन्जिनियरहरूलाई भित्र्याउन महत्त्वपूर्ण हुने भन्दै उक्त कार्यक्रमको बचाउ गर्छन्।
एच–१ बी भिसामा चौहानजस्तै भारतीयहरू हाबी हुन्छन्। सन् २०२३ मा यो भिसा प्राप्त गर्नेमध्ये ७२ प्रतिशत भारतीय थिए भने दोस्रो स्थानमा १२ प्रतिशतसहित चिनियाँहरू थिए।
एच–१ बी भिसा पाउनेमध्ये धेरैजसो विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका विषयसँग सम्बन्धित हुन्छन् र सन् २०२३ मा उनीहरूमध्ये ६५ प्रतिशत कम्प्युटरसम्बन्धी रोजगारीसम्बद्ध थिए। उनीहरूको औसत वार्षिक कमाइ १ लाख १८ हजार डलर थियो।
चिन्ता किन
एच–१ बी भिसासम्बन्धी चिन्ता बृहत् आप्रवासन बहससँग जोडिएको छ। प्यू रिसर्च सेन्टरको एउटा प्रतिवेदनले सन् २०२३ मा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या पछिल्लो २० वर्षयताकै उच्च बन्दै १६ लाख पुगेको देखाउँछ। त्यहाँको जनसङ्ख्याको १४ प्रतिशत हिस्सा आप्रवासीले ओगटेका छन्, जुन सन् १९१० यताकै उच्च हो।
अमेरिकामा मेक्सिकनपछि भारतीयहरू सबैभन्दा ठूलो आप्रवासी समूहमा पर्छन्।
आप्रवासीहरूको यो लहरले रोजगारीको सम्भावना र एकतालाई नोक्सान पुर्याउन सक्ने धेरै अमेरिकीको डर छ।
अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी 'ओपन डोर्स'को ताजा प्रतिवेदनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अग्रणी स्रोत रहँदै आएको चीनलाई सन् २०२३–२०२४ मा ३,३१,६०२ विद्यार्थीसहित भारतले उछिनेको छ। तीमध्ये धेरै विद्यार्थी ऋणमा निर्भर हुन्छन् र भिसामा रोक लाग्दा परिवारको आर्थिक स्थितिमा गम्भीर प्रभाव पर्न सक्छ।
"मेरो चिन्ता यसले (एच–१ बी भिसाको प्रतिरोधले) त्यहाँ रहेका भारतीयप्रति शत्रुता पैदा गर्ला भन्ने हो। तर म मेरा आकाङ्क्षा र जीवन नै रोकेर त्यहाँको अस्थिरता कम हुने प्रतीक्षा गर्न सक्दिनँ किनकि यस्तो भएको वर्षौँ भयो," चौहान भन्छन्।
एच–१ बी कार्यक्रममा रोक लगाउने पहल ट्रम्पको पहिलो कार्यकालमा उत्कर्षमा पुगेको थियो, उनले सन् २०१७ मा आवेदन जाँच र ठगी पत्ता लगाउने एउटा आदेशमा हस्ताक्षर गरेका थिए। परिणामस्वरूप सन् २०१८ मा भिसा अस्वीकृतिको दर २४ प्रतिशत पुग्यो, जुन ओबामाको पालामा ५–८ प्रतिशत र बाइडनको पालामा २–४ प्रतिशत थियो। बाइइनका पालामा स्वीकृत भएका एच–१ बी आवेदनको सङ्ख्या ट्रम्पको पहिलो कार्यकालको समान थियो।
"ट्रम्पको पहिलो प्रशासनले अस्वीकृति तथा प्रक्रियाको समय लम्ब्याएर मानिसहरूलाई समयमै भिसा पाउन कठिन बनाउँदै एच–१ बी भिसामा कडाइ गर्यो। उनको दोस्रो कार्यकालमा पनि त्यस्तै हुन्छ कि हुन्न भन्ने चाहिँ स्पष्ट छैन", कर्नेल ल स्कूलका आप्रवासनसम्बन्धी अध्येता स्टेफन येल–लोअरले बीबीसीसँग भने।
"इलोन मस्कजस्ता केही मानिसले एच–१ बीलाई जोगाउन चाहेका छन्, त्यहीँ नयाँ प्रशासनका अन्य अधिकारीहरू भने एच–१ बी सहितका सबै आप्रवासनमा रोक लगाउन चाहन्छन्। कुनचाहीँ पक्षले जित्छ भन्नु अहिले हतारो हुनेछ।"
एच-वन भिसामा भारतीयको मोह
एच–१ बी भिसासँग भारतीयहरूको लामो सम्बन्ध छ। "धेरै शिक्षित र धेरै कमाउने आप्रवासी वा रैथानेको समूहमा भारतीय–अमेरिकीहरूको सङ्ख्या बढ्नुका पछाडि" यो कार्यक्रमले पनि भूमिका खेलेको अमेरिकामा रहेका भारतीयहरूसम्बन्धी अध्ययन 'द अदर वन पर्सेन्ट'का लेखकहरू बताउँछन्।
अमेरिकामा आधारित अनुसन्धानकर्ताहरू सन्जय चक्रवर्ती, देवेश कपुर र निर्विकार सिंहले नयाँ भारतीय आप्रवासीहरू पहिले आउनेका तुलनामा विभिन्न भाषा बोल्ने र विभिन्न स्थानमा बस्ने गरेको ख्याल गरेका छन्। हिन्दी, तामिल र तेलुगू बोल्नेहरूको सङ्ख्या बढेको छ भने अमेरिकी–भारतीय समुदाय न्यूयोर्क र मिशिगनबाट ठूलो सङ्ख्यामा क्यालिफोर्नया र न्यूजर्सी सरेका छन्।
"भारतीय–अमेरिकीहरूको नयाँ नक्सा" बनाउन दक्षतामा आधारित यो भिसा कार्यक्रमले मद्दत गरेको छ।
चौहानका अनुसार एच–वन बीको सबैभन्दा ठूलो आकर्षण भनेको उच्च कमाइ गर्ने अवसर हो। अमेरिकामा धेरै तलब हुन्छ र परिवारमै उच्चतम योग्यता हासिल गर्नेका लागि त्यसले जीवन नै कायापलट गरिदिन सक्छ।
"एच–वन बीप्रति आकर्षण हुनुको कारण समान इन्जिनियरिङ भूमिकाका निम्ति भारत र अमेरिकामा हुने आम्दानीको अन्तर पनि हो," उनी भन्छन्।
तर सबै जना उक्त कार्यक्रमसँग सन्तुष्ट छन् भन्ने होइन। धेरै आकाङ्क्षीका निम्ति एच–वन बी भनेको अमेरिकी 'ग्रीन कार्ड' वा स्थायी बसोबास प्राप्त गर्ने माध्यम हो।
तर यो भिसा आँफैमा अस्थायी प्रकृतिको हो र यसले वाहकलाई अमेरिकामा छ वर्षसम्म काम गर्ने वा बस्ने अनुमति दिन्छ। त्यस क्रममा धेरै एच–वन बी भिसा वाहकले रोजगारीमा आधारित आप्रवासी समूहमा 'ग्रीन कार्ड'का निम्ति आवेदन गर्छन्, जुन सामान्यता: तिनका रोजगारदाताद्वारा प्रायोजित हुन्छन्। यो प्रक्रियाले समय लिन्छ।
आश्रित ('डिपेन्डन्ट') सहित १० लाखभन्दा धेरै भारतीयहरू अहिले रोजगारीमा आधारित आप्रवासी समूहमा 'ग्रीन कार्ड'का निम्ति प्रतीक्षारत छन्। "ग्रीन कार्ड पाउनु भनेको २०–३० वर्षको अन्तहीन पर्खाइका निम्ति तयार हुनु हो," भारतमा एआईका माध्यमबाट शिक्षा र रोजगारीका निम्ति विश्वभरी भिसाको विकल्प हेर्ने संस्था सञ्चालन गर्दै आएका अटल अग्रवाल भन्छन्।
सन् २०१७ मा पढाइ सक्काएपछि अग्रवाल अमेरिका गए र केही वर्ष एउटा सफ्टवेअर कम्पनीमा काम गरे। उनका अनुसार त्यतिखेर एच–वन बी भिसा पाउन एकदमै सरल थियो। तर उनले छिट्टै आफू "अघि बढ्न नसक्ने स्थानमा पुगेको" महसुस गरे। अन्तत: उनी भारत फर्किए।
"त्यो एक अस्थिर स्थिति हो। तपाईँलाई रोजगारदाताले प्रायोजन गरेको हुनुपर्छ र ग्रीन कार्डतर्फको बाटो एकदम लामो हुने भएकाले तपाईँ उनीहरूसँग बाँधिनुपर्छ। यति तपाईँले जागिर गुमाउनुभयो भने नयाँ जागिर खोज्न तपाईँसँग ६० दिनको समय हुन्छ। योग्यताका आधारमा अमेरिका जानेले तीनदेखि पाँच वर्षभित्रमा ग्रीन कार्ड पाउनुपर्थ्यो।"
यो भिसा कार्यक्रम आप्रवासनसँग जोडिनुका पछाडि यो एउटा कारण हुन सक्छ। "एच–वन बी भिसा उच्चस्तरको दक्षता भएका श्रमिकमा आधारित भिसा हो। यो आप्रवासन भिसा होइन। तर यो आप्रवासन र अवैध आप्रवासनसँग जोडिन पुगेपछि संवेदनशील विषय बन्न पुग्यो," भारतीय प्रविधि उद्योगसम्बन्धी व्यापार समूह 'नास्कोम'का विश्वव्यापी व्यापार विकासका उपाध्यक्ष शिवेन्द्र सिंहले बीबीसीसँग भने।
अमेरिकीहरूको भनाइ
अमेरिकामा धेरै जना एच–वन बी भिसा त्रुटिपूर्ण भएको ठान्छन्। उनीहरू विशेषत: यस्तो भिसा प्राप्त गर्ने शीर्ष सूचीमा रहँदै आएका भारतीय आईटी कम्पनीहरूद्वारा गरिँदै आएका व्यापक ठगी र दुरुपयोगको उदाहरण दिन्छन्।
अक्टोबरमा एउटा अमेरिकी अदालतले सन् २०१३ देखि २०२२ का बीचमा दुई हजारभन्दा धेरै गैरभारतीय रोजगारविरुद्धको भेदभाव गरेको भन्दै 'कग्निजन्ट टेक्नोलजी सलूसन्स' नामक कम्पनीलाई दोषी ठहर्यायो, भलै कम्पनीले पुनरावेदन गर्ने योजना बनाएको छ।
हालै 'द न्यूयोर्क टाइम्स'का फराह स्टक्म्यानले लेखेका छन्, "एक दशकभन्दा अधिक समयदेखि, प्रविधि कम्पनीहरूमा काम गर्दै आएका अमेरिकीहरू व्यवस्थित रूपमा सस्ता एच–वन बी भिसा वाहकहरूद्वारा प्रतिस्थापित भएका छन्।"
'नास्कम'का सिंह एच–वन बी भिसाका कामदारले न्यून भुक्तानी पाएको स्थिति नभएको तर्क गर्दै रोजगारदाताले उक्त क्षेत्रमा अमेरिकी कामदारको तुलनामा प्रचलित वा अधिक भुक्तानी गर्नुपर्ने बताउँछन्। त्यसबाहेक कम्पनीहरूले यी महँगा भिसाका निम्ति कानुनी र सरकारी शुल्क तिर्न दशौँ हजार डलर लगानी गरेका हुन्छन्।
सिंहका अनुसार यो एकोहोरो पनि छैन : प्रविधि क्षेत्रका भारतीय ठूल्ठूला कम्पनीहरूले झन्डै छ लाख अमेरिकीलाई काम तथा साथ दिनुको साथै १३० वटा अमेरिकी कलेजहरूका झन्डै ३० लाख विद्यार्थीको दक्षता अभिवृद्धिमा एक अर्ब डलरभन्दा धेरै लगानी गरेका छन्।
भारतीय प्रविधि कम्पनीहरूले कर्मचारी लिँदा अमेरिकी कामदारलाई प्राथमिकता दिने र आवश्यक दक्षता सहितका स्थानीय नपाइएमात्रै एच–वन बी भिसामा कामदार ल्याउने गरिएको सिंहले बताए।
ट्रम्पले यो महिनाको उत्तरार्धमा पदभार ग्रहण गर्ने तयारी गरिरहँदा भारतले एच–वन बी भिसा कार्यक्रम सुरक्षित रहने सुनिश्चित गर्न काम गरिरहेको छ। "हाम्रा देशहरूले बलियो र बढ्दो रूपमा आर्थिक र प्राविधिक साझेदारी गर्छन् र दक्ष कामदारहरूको गतिशीलता यो सम्बन्धको एउटा महत्त्वपूर्ण पक्ष हो," भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकारहरूसँग भने।
त्यसो भए अमेरिकामा जागिर खान चाहने विद्यार्थीहरूले के गर्नुपर्ला? "अमेरिकामा अध्यागमनसम्बन्धी कुनै पनि परिवर्तन लागू हुन समय लाग्ने छ। विद्यार्थीहरूले आफ्नो लागि राम्रो कलेज छान्नुपर्छ, चाहे त्यो जहाँ होस्। राम्रो अध्यागमनसम्बन्धी सुझाव लिँदा के गर्ने भनेर पत्ता लगाउन उनीहरू सक्षम हुने छन्," येल–लोअर भन्छन्।
अमेरिकाको राजनीतिमा हलचल देखिए पनि विद्यार्थीहरूको अमेरिकी सपना पछ्याउने दृढतासँगै हालका निम्ति एच–वन बी भिसामा भारतीय चासो यथावत् छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।