भारतमा माओवादी नेता बसवराजूलाई 'सिध्याउन' जीपीएसको सहयोग, नक्सलवादी आन्दोलनको भविष्यबारे प्रश्न

    • Author, आलोक पुतुल
    • Role, रायपुर, बीबीसी हिन्दीका लागि

भारतमा नक्सलवादी विद्रोह गरिरहेको माओवादी सैन्य आयोगका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य बसवराजू उपनामले चिनिने नम्बल्ला केशव रावलाई भारतीय सुरक्षा बलले कसरी प्रविधिको पासोमा पारेर मारिदियो भन्नेबारे अहिले चर्चा भइरहेको छ। गत साता मध्यभारतको छत्तीसगढमा भएको कारबाहीमा उनीसहित २७ माओवादीको मृत्यु भएको थियो।

सन् २०१२ मा आधुनिक प्रविधिको बारेमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले भनेका थिए, "…जनयुद्धमा निर्णायक शक्ति प्रविधि होइन, जनता हुन्। शत्रुको आधुनिक प्रविधि या त नष्ट हुने छ या जनताको बाढीमा निष्क्रिय हुने छ।"

उनले आधुनिक प्रविधिको थप व्याख्या गर्दै माओवादीहरूविरुद्ध भूउपग्रह, जीपीएस र ड्रोनजस्ता प्रविधिको प्रयोग हुन सक्ने बताएका थिए। उक्त प्रश्नको उत्तर दिँदा बसवराजूले आधुनिक प्रविधिकै सहारामा उनको ज्यान लिइन सक्छ भन्ने कल्पना नगरेका पनि हुन सक्छन्।

ओडिशाबाट माओवादीले प्रकाशित गर्ने पत्रिका 'जनसङ्ग्राम'मा उनीसँगको प्रश्नोत्तर २०१२ को अगस्टमा प्रकाशित भएको थियो।

त्यसको करिब १३ वर्षपछि भारतीय सुरक्षा निकायले प्रविधिकै प्रयोग गरेर बसवराजू भूमिगत भएको वास्तविक ठाउँ पत्ता लगायो।

गत साता बुधवार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको भिडन्तमा सीपीआई (माओवादी) प्रमुख बसवराजू मारिएको दाबी गरेका थिए।

बसवराजूलाई दुई घेरामा लगभग चार दर्जन मानिसले सुरक्षा प्रदान गरेका थिए। उनीहरूसम्म पुग्न भारतीय सुरक्षा निकायलाई सजिलो थिएन।

बसवराजूको सुरक्षाका लागि माओवादीहरूले उनी बस्ने स्थानवरिपरि तीन किलोमिटर क्षेत्रसम्म विस्फोटक पदार्थ बिछ्याउने गरेको दाबी पनि गरिने गरेको थियो।

कसरी पत्ता लाग्यो बसवराजू बसेको ठाउँ

बसवराजूको मृत्युपछि उनी कसरी मारिए भन्नेबारे फरकफरक दाबी सार्वजनिक भएका छन्। केही दिनदेखि उनको हत्याको बारेमा कैयौँ कथनहरू चर्चामा छन्। मान्छे अनुसारका दाबी सार्वजनिक भएका छन्।

"प्रहरीले उनका एक साथी नक्सलवादीको मोबाइल फोन निगरानी गर्‍यो। जीपीएसको सहयोगमा हाम्रा सैनिकहरूले भारतको सबैभन्दा खतरनाक माओवादी बसवराजू र उनका साथीहरू बसेको ठाउँ पत्ता लगाए। त्यसपछि जे भयो त्यो सबैलाई थाहा छ," छत्तीसगढका एक वरिष्ठ प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बीबीसीसँग भने।

बसवराजूको मृत्युपछि छत्तीसगढमा 'के भारतमा माओवादको अन्त्यको आरम्भ भएको हो'? भन्ने प्रश्नबारे चर्चा भइरहेको छ।

राज्यका मुख्यमन्त्री विष्णु देव साईले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनी मारिनुलाई ठूलो उपलब्धि भनेका थिए।

"बसवराजूको टाउकोमा तीन करोड रुपैयाँ इनाम थियो। महासचिव पदको माओवादीलाई निष्क्रिय पारिएको तीन दशकपछिको यो पहिलो घटना हो। यो ठूलो सफलता हो र यसले निश्चित रूपमा नक्सलवादलाई ठूलो धक्का दिएको छ। नक्सलवादको मेरुदण्ड भाँचिएको छ," उनले भने।

५० वर्षअघि मारिएका थिए अर्का महासचिव

भारतमा माओवादीका शीर्ष नेता मारिएको यो पहिलो घटना चाहिँ होइन।

सन् १९७२ को जुलाई २८ मा नक्सलवादी आन्दोलनका संस्थापकमध्येका एक चारु मजुमदारको प्रहरी हिरासतमा मृत्यु भएको थियो।

त्यसपछि उक्त सङ्गठनले ठूलो चुनौतीको सामना गर्‍यो।

त्यही समयमा बङ्गाल र अन्य राज्यहरूमा कैयौँ नक्सलवादी सङ्गठनका सदस्यहरू प्रहरीसँगको भिडन्तमा मारिएका थिए।

सन् १९७५ को नोभेम्बर २९ मा बिहार राज्यस्थित भोजपुरको बाबु बाँध क्षेत्रमा प्रहरीले जोहर उपनामले चिनिने सुब्रत दत्तलाई मारिदिएको थियो। उनी सङ्गठनका महासचिव थिए।

त्यसको करिब ५० वर्ष बितिसक्दा भारतमा नक्सलवादी सङ्गठनको नामसँगै यसको शैली पनि परिवर्तन भएको छ।

विभिन्न दस्ताबेजहरूका अनुसार ५० वर्षअघि जोहरको मृत्यु हुँदा पनि आन्दोलनको अनिश्चितताबारे प्रश्न उठेको थियो।

तर त्यतिबेलाका प्रश्न र उत्तरहरू स्पष्ट रूपमा फरक थिए। आज "सबैभन्दा ठूलो आन्तरिक चुनौती" घोषित नक्सलवादी आन्दोलनले सामना गरिरहेका प्रश्नहरू उस्तै हुन सक्छन्, तर उत्तरहरू धेरै परिवर्तन भएका छन्।

गत वर्ष माओवादीविरुद्ध सञ्चालित कारबाहीमा २८७ लडाकुको (अधिकांश छत्तीसगढमा) मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ। सन् १९६० को दशकदेखि अहिलेसम्म १०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको ठानिन्छ।

'२०२६ अघि माओवाद समाप्त हुने'

छत्तीसगढका प्रहरी महानिर्देशक अरुण देव गौतम केन्द्रीय गृहमन्त्री अमित शाहले देशबाट माओवाद उन्मूलन तोकेको सन् २०२६ को मार्च ३१ को समयसीमाअघि नै माओवाद समाप्त हुने विश्वास गर्छन्।

जेएनयूबाट अन्तर्राष्ट्रिय कानुनमा एमफिल गरेका गौतम भन्छन्, "मेरो विचारमा, शीर्ष नेतृत्वको निष्क्रियता पछि आन्दोलन विघटन हुन धेरै समय लाग्दैन। वर्षौँको अवधिमा सुरक्षा बलहरूले धेरै क्षति बेहोरेका छन्। यस क्षेत्रका निर्दोष नागरिकहरूले आफ्ना सन्तानको बलिदान दिएका छन्। आज सम्पूर्ण देशको लागि धेरै महत्त्वपूर्ण दिन हो।"

उनले यसअघि सुरक्षा निकायको उपस्थिति नभएका कैयौँ स्थानहरूलाई सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्।

"अब एकदमै सानो क्षेत्र बाँकी छ, जसलाई पूर्ण रूपमा कब्जा गरेर हामी यस पृथ्वीबाट माओवादलाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रयास गरिरहेका छौँ," उनले भने।

विचारधारा जीवित रहने विश्वास

बदरन्ना उपनामले चिनिने रमेश वरिष्ठ नेता मारिँदैमा सङ्गठन र माओवाद समाप्त नहुने तर्क गर्छन्। उनी माओवाद एउटा विचारधारा भएका कारण यो कहिल्यै समाप्त नहुने ठान्छन्।

बदरन्नाले सन् २००० मा माओवादी आन्दोलन त्यागेर आत्मसमर्पण गरेका थिए।

सन् १९८७ मा १५ वर्षको उमेरमा नक्सल आन्दोलनमा सामेल भएका बदरन्नाले बसवराजूको हातमा पहिलो पटक एके-४७ देखेका थिए।

त्यसपछि बसवराजूलाई यस क्षेत्रमा 'गङ्गन्ना' भनेर चिनिन्थ्यो।

"ठूलो नेता जीवित रहँदासम्म सङ्गठनको पुनः विकास हुने सम्भावना हुन्छ। तर यदि नेता मारिए भने यो ठूलो क्षति हो। अहिले पार्टीका वरिष्ठ नेताहरू सँगै बसेर बैठक गर्ने स्थितिमा पनि छैनन्। यस्तो अवस्थामा पार्टीलाई पक्कै असर पर्छ," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।