चीनमा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गर्ने

संसद्‌मा बोल्दै प्रधामन्त्री केपी शर्मा ओली

तस्बिर स्रोत, Parliament Secretariat

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका छन्।

चीनको तियान्जिनमा हुने शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन जाँदा ओलीले उक्त शिखर सम्मेलनअन्तर्गत 'एससीओ प्लस' अन्तर्गतको सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले संसद्‌मा जानकारी गराएअनुसार उनले रुसी राष्ट्रपति पुटिनबाहेक, माल्दिभ्स, क्याम्बोडिया, लाओस, भियतनामसहितका देशका नेताहरूसँग भेटवार्ता तय भएको जानकारी दिए।

उनले आफूले भ्रमणका क्रममा राष्ट्रहितमा केन्द्रित रहेर नेपालकातर्फबाट धारणा राख्ने बताए। "म के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्ने छ। त्यसमा विश्वस्त रहन यस गरिमामय संसद्लाई म आग्रह गर्न चाहन्छु," संसद्‌मा शुक्रवार उनले भने।

ओलीले प्रतिनिधिसभामा चीन भ्रमणबारे के भने

प्रतिनिधिसभामा बोल्दै ओलीले आफ्नो चीनको पाँचदिने भ्रमण मूलतः एससीओको शिखर सम्मेलनमा भाग लिनु रहेको जानकारी दिँदै आफ्नो भ्रमणबाट मुलुकको प्रतिष्ठा वृद्धि हुने विश्वास व्यक्त गरे।

उनले उक्त सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एउटाका रूपमा विकसित भइसकेको भन्दै नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहेको बताए।

"हाम्रो प्रयास यस सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रूपमा त्यहाँ राख्नु एवं यसमार्फत् देशका लागि अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रवर्धन गर्नु रहेको छ," उनले भने।

ओलीले भ्रमणका क्रममा आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्विपक्षीय भेटवार्ता गर्ने जानकारी दिए। साथै आफू चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिले आयोजना गर्ने छुट्टाछुट्टै रात्रिभोजमा सहभागी हुने कुरा पनि बताए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर - ओलीले आफूले रुसी राष्ट्रपति पुटिनसँग भेट्न लागेको जानकारी शुक्रवार संसद्‌लाई गराए

ओलीले सेप्टेम्बर १ मा एससीओ प्लस शिखर सम्मेलनमा सम्बोधन गर्ने छन्। उनले यो सम्मेलनको छेकोमा विभिन्न देशका नेताहरूसँग पनि आफूले भेट्न लागेको जानकारी संसद्‌मा गराए।

"ती भेटघाटमा नेपाल र ती मुलुकहरूका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुने छ। तियान्जिनबाट म सोही दिन बेइजिङ जाने कार्यक्रम रहेको छ," उनले भने।

उनले हालसम्म रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसहितका नेतासँग भेटवार्ता तय भएको बताए।

त्यसबाहेक कम्बोडियाका, लाओस र भियतनामका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै भेटवार्ता तय भएको उनको भनाइ छ।

ओलीले विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डलपनि सेप्टेम्बर १३ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने "फासीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्ध चिनियाँ जनताको प्रतिरोधी युद्धको विजयको" ८० औँ वार्षिकोत्सव सहभागी हुने र त्यसको अवलोकन गर्ने कार्यक्रम रहेको उल्लेख गरे।

उनले ५० भन्दा बढी देश ती कार्यक्रममा सहभागी हुने आफ्नो भ्रमणबाट नेपाल र चीनबीचको 'मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ' हुने तर्क गरे।

साथै एससीओ शिखर सम्मेलनमा आफ्नो सहभागिताले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषय र नेपालको प्राथमिकता प्रस्तुत गर्न पाउने र त्यसले मुलुकको प्रतिष्ठा वृद्धि हुने विश्वास आफूले लिएको ओलीले जनाए।

भ्रमणका अन्य कार्यक्रम

यसअघि बुधवार परराष्ट्र मन्त्रालयले राष्ट्रपति सीको निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीले एससीओको शिखर सम्मेलनमा भाग लिन लागेको जानकारी दिएको थियो।

प्रधानमन्त्री ओलीले 'एससीओ प्लस मीटिङ'मा आगामी सोमवार सम्बोधन गर्ने उल्लेख गरिएको छ।

उनले त्यही दिन चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग पनि भेटवार्ता गर्दै छन्।

त्यसबाहेक प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलनमा भाग लिन आएका विश्वका केही नेताहरूलाई भेट्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ।

यसअघि भारतीय विदेश मन्त्रालयले मङ्गलवार प्रधानमन्त्री मोदीले एससीओको शिखर सम्मेलनका क्रममा केही द्विपक्षीय भेटवार्ताहरू गर्ने अपेक्षा गरिएको बताएको थियो।

तियान्जिनको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बेइजिङ जाने छन्। त्यहाँ "जापानी अतिक्रमण र फासीवादविरुद्ध युद्ध" को सकिएको ८० औँ विजयोत्सवका अवसरमा आयोजित परेड अवलोकन गर्ने कार्यक्रम छ।

जापान नेपालको नजिकको साझेदार भएको भन्दै परराष्ट्र मामिलाका विज्ञहरूले जापानको विरोधमा आयोजित उक्त कार्यक्रममा नेपाली नेता सहभागी हुन नहुने धारणा राखेका छन्।

त्यहाँ उनले चिनियाँ उपराष्ट्रपतिसँग पनि भेट्ने कार्यक्रम छ। भदौ १८ गते नेपाल फर्किने भनिएको प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र पर्यटन मन्त्रीसहितका उच्च अधिकारीहरू सम्मिलित हुने छन्।

यसअघि अधिकारीहरूले चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता मिलाउने प्रयास भइरहेको बताएपनि शुक्रवार संसद्‌मा बोल्दै प्रधानमन्त्री ओलीले मोदीसँगको आफ्नो भेटवार्ताका बारेमा केही उल्लेख गरेनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।