प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो, यस्ता विषय उठाउन विज्ञहरूको सल्लाह

तस्बिर स्रोत, RSS
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
प्रधानमन्त्री केपी ओलीले आफ्नो तेस्रो कार्यकाल सम्हालेको लगभग १३ महिनापछि छिमेकी भारतको औपचारिक भ्रमण निम्तो पाएका छन्।
नेपालको दुईदिने भ्रमणमा आइतवार काठमाण्डू आइपुगेका भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइएको अधिकारीहरूले बताएका छन्।
भारतीय दूतावासले चाहिँ विदेशसचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटवार्ताका क्रममा दुई देशबीच रहेको गहिरो सभ्यतागत सम्बन्ध र बलियो साझेदारीमाथि जोड दिँदै विभिन्न क्षेत्रहरूमा सहकार्यलाई अझ सुदृढ पार्ने तरिकाहरूबारे छलफल भएको जनाएको छ।
सामान्यतया नेपालका प्रधानमन्त्रीले कार्यभार सम्हालेको थोरै समयमै दक्षिणी छिमेकी राष्ट्रको भ्रमण गर्ने गर्थे। तर यसपालि ओलीको भ्रमणका निम्ति निकै समय लागेको विषयमा जानकारहरूले चासो राख्दै आएका थिए।
ओली कहिले भारत जान्छन्
गत वर्ष असार ३१ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका केपी ओलीले त्यसयता पाँच पटक विभिन्न देशको द्विपक्षीय तथा बहुपक्षीय कार्यक्रमका निम्ति भ्रमण गरिसकेका छन्।
तर भारत भ्रमणको चाँजोपाँजो मिलेको थिएन। अहिले बल्ल उनले भारत भ्रमणको निम्तो पाएका छन्।
उनले भदौ ३१ देखि असोज १ सम्म भारतको भ्रमण गर्ने र आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा भेटवार्ता गर्ने विवरणहरू आएका छन्।
तर कूटनीतिक प्रचलनअनुरूप भ्रमणको मिति, स्थान तथा अन्य जानकारीबारे औपचारिक घोषणा भने भइसकेको छैन।
कस्ता विषय उठाउन विज्ञहरूको जोड

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री ओलीको भारत भ्रमणका औपचारिक विषयवस्तु सार्वजनिक हुन बाँकी नै छ।
परराष्ट्र मामिलाका जानकारहरूले तीन दिशामा सीमा जोडिएको छिमेकी देशमा हुन लागेको भ्रमणको प्रधानमन्त्रीले सदुपयोग गर्न केही सुझावहरू दिएका छन्।
"यो चिर प्रतीक्षित भ्रमण हो। भेटघाटका बेला विशेष गरेर व्यापार घाटा सम्बोधन गर्न थप परिमाणमा विद्युत् व्यापार, भारतबाट प्रत्यक्ष वैदेशिक लगानीजस्ता विषय उठाउनुपर्छ," भूतपूर्व परराष्ट्रमन्त्री एनपी साउदले भने।
"सीमाविवादमा 'बाउन्ड्री वर्किङ ग्रूप'ले काम गरिरहेको छ। यसलाई सम्पन्न गर्न कूटनीतिक संवाद आवश्यक छ। हवाई कनेक्टिभिटीको मामिला हाम्रा लागि असाध्यै महत्त्वपूर्ण छन्।"
"विगतमा भारतले नेपालगन्ज क्षेत्रबाट एटीआर विमानसम्म उड्न सक्ने गरी हवाईमार्ग दिएकोमा नेपालले ठूला विमान पनि उड्न सक्ने गरी त्यसको माग गरिरहेको छ। त्यसमा पनि यसपालि जोड दिनुपर्छ," साउदले भने।
चीनका लागि पूर्व राजदूत टङ्क कार्कीले दिएका सुझाव पनि उस्तै छन्।
"भारतसँग हाम्रो सम्बन्ध मैत्रीपूर्ण छ तर यसमा केही समस्या पनि छन्। मूल कुरा के हो भने विगतदेखिका बल्झिएर बसेका विषयहरूलाई कार्पेटमुनि लुकाउनु हुँदैन। तिनमा केन्द्रित भएर कुराकानी गर्नुपर्छ जसमध्ये सीमाविवाद एउटा प्रमुख मुद्दा हो," कार्कीले बताए।
"पछिल्ला समयमा हाम्रा दुई छिमेकी भारत र चीनबीच मेलमिलापका सङ्केत पनि मिलेका छन्। त्यसबाट हामीले लाभ लिनुपर्छ," कार्कीले कार्यान्वयन हुन नसकेका पुराना आयोजनाहरूको विकास गराउन थप पहल गर्न पनि सुझाव दिए।
यीबाहेक भारतसँग सुपुर्दगी सन्धि, १९५० को सन्धि अनि द्विपक्षीय सबै विषयको अध्ययन गरी सुझाव समेटिएको प्रबुद्ध समूह 'ईपीजी'को प्रतिवेदन हालसम्म भारतीय पक्षले नबुझेको जस्ता सन्दर्भहरू पनि थाँती नै छन्।
आइतवार भारतीय विदेशसचिवले आफूसँग गरेको शिष्टाचार भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कनेक्टिभिटी (सम्पर्क सञ्जाल) नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलमार्ग एवं स्थलमार्गका अतिरिक्त हवाईमार्ग पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिएकी थिइन्।
उक्त वार्तामा उनले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रूटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिएका छन्।
सो वार्तामा "पारस्परिक हितका विषयहरू र सबै क्षेत्रहरूमा बहुआयामिक साझेदारीलाई थप वृद्धि गर्ने तरिकाहरूबारे पर्याप्त मात्रामा विचार आदानप्रदान" भएको काठमाण्डूस्थित भारतीय राजदूतावासले जनाएको छ।
ओली भारतअघि चीन जान सक्ने चर्चा किन

तस्बिर स्रोत, Reuters
विगत एक वर्षमा प्रधानमन्त्री केपी ओलीले भारतको भ्रमण नगरे पनि पाँचवटा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय कार्यक्रममा भाग लिन विभिन्न देशको भ्रमण गरिसकेका छन्।
गत वर्ष असोज ४ गते उनी संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ बैठकमा भाग लिन न्यूयोर्क गएका थिए।
चिनियाँ प्रिमिअर ली चियाङको निम्तोमा उनले मंसिर १७ देखि २० सम्म चीनको भ्रमण गरे।
त्यस्तै चैत १९ देखि २३ सम्म उनले थाईल्यान्डकी तात्कालिक प्रधानमन्त्रीको निम्तोमा थाईल्यान्डको भ्रमण गर्नुका साथै त्यहीँ भएको बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिए।
फोर्थ इन्टर्न्याश्नल कन्फरेन्स अन फाइनान्सिङ फर डिभलप्मन्टको बैठकमा सहभागी हुन उनले असार १६ देखि १९ सम्म स्पेनको भ्रमण गरेका थिए।
गत महिना साउन १८ देखि २३ गतेसम्म भूपरिवेष्टित विकासोन्मुख देशहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उनी टर्क्मेनिस्तान गएका थिए।
भारत भ्रमणमा जानुभन्दा अगावै उनले फेरि चीनको भ्रमण गर्न सक्ने विवरणहरू पनि आएका छन्।
चीनको तियान्जिनमा भदौ १५-१६ मा शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ)को २५औँ हेड्स अफ स्टेट काउन्सिल मीटिङ हुन लागेको छ।
उक्त बहुपक्षीय सङ्गठनको सन् २०१६ मा नेपाल 'डाइलग पार्टनर' बनेको थियो। सोही हैसियतमा नेपालका प्रधानमन्त्रीलाई निम्ता आएको विवरण सार्वजनिक भएको छ। तर त्यसको औपचारिक माध्यमबाट घोषणा अझै भएको छैन।
एससीओमा बेलारुस, भारत, इरान, काजकस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानसहित १० राष्ट्र सदस्य छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








