गर्भावस्थामा सिटामोल खाँदा बच्चालाई अटिजम् हुन सक्ने दाबी कति सही वा गलत

    • Author, एन्द्रे बिअर्नात
    • Role, बीबीसी ब्रजिल
    • Author, सारा बेल
    • Role, बीबीसी विश्व सेवा ग्लोबल हेल्थ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले चिकित्सकीय मार्गनिर्देशिकाविपरीत गर्भवती महिलाले गर्ने प्यारासिटामोल सेवन गर्दा त्यसको अटिजम्‌सँग सम्बन्ध हुन सक्ने औँल्याएको छ।

राष्ट्रपति ट्रम्पले आफूसँग अचम्मको घोषणा रहेको बताउँदै गत शुक्रवार संवाददाताहरूलाई भने, "अटिजम् पूर्णतया नियन्त्रणबाहिर छ… यस्तो किन भयो भन्ने कारण सायद हामीसँग हुन सक्छ।"

केही अध्ययनहरूले गर्भावस्थामा प्यारासिटामोलको मुख्य अङ्ग 'एसीटमिनफेन'को अटिजम्‌सँग कमजोर सम्बन्ध रहेको देखाएका छन्। तर परिणामहरू स्थिर छैनन् र औषधिका कारण अटिजम्‌ हुने प्रमाणित भएको छैन।

प्यारासिटामोल के हो?

यो दुखाइ कम गर्न डाक्टरको पुर्जी (प्रेस्क्रिप्शन)बिना नै औषधि पसलमा किन्न मिल्ने औषधि हो।

अमेरिकामा यसलाई 'एसीटमिनफेन' वा यसको चर्चित ब्र्यान्ड 'टाइलेनोल' का रूपमा पनि चिनिन्छ।

यो औषधी संसारभरि विभिन्न ब्र्यान्ड तथा नाममा बेचिन्छ। दुखाइ र ज्वरोको निम्ति उपयोगी यो औषधि घरघरमा राख्ने गरिन्छ।

गर्भावस्थामा यसको प्रयोग

जनस्वास्थ्यमा काम गर्ने मुख्य संस्था तथा सरकारहरूले विश्वव्यापी रूपमा प्यारासिटामोल गर्भावस्थामा प्रयोग गर्न सुरक्षित रहेको बताएका छन्।

अमेरिकन कलेज अफ ओब्स्टेट्रिक्स एन्ड गाइनिकोलजीका अनुसार देशभरका डाक्टरहरूले गर्भवतीहरूको निम्ति दुखाइ हटाउने थोरै औषधिहरूमध्ये सिटामोल सुरक्षित रहेको निरन्तर रूपमा बताउँदै आएका छन्।

"विगतमा गरिएका अध्ययनहरूले गर्भावस्थाको कुनै चरणमा पनि 'एसीटमिनफेन' को विवेकपूर्ण प्रयोग र भ्रूणको जोखिमयुक्त विकासबीच सम्बन्ध रहेको कुनै स्पष्ट प्रमाण देखाएको छैन," समूहले भनेको छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसको मार्गनिर्देशिकाले गर्भवती महिलाका निम्ति प्यारासिटामोल दुखाइविरुद्धको 'पहिलो छनोट' भएको उल्लेख गरेको छ। उसले भनेको छ, "गर्भावस्थामा यो आम रूपमा सेवन गरिन्छ र यसले तपाईँको शिशुलाई कुनै हानि पुर्‍याउँदैन।"

टाइलेनोलको निर्माता कम्पनी केन्भ्यूले उक्त औषधि सुरक्षित पीडानिरोधक विकल्प भएको बताउँदै गर्भवती महिलाका निम्ति त्यसको प्रयोगको प्रतिरक्षा गरेको छ।

बीबीसीले प्रतिक्रियाको निम्ति औषधि उत्पादकहरूसँग सम्पर्क गरेको छ।

कम्पनी र अमेरिकी डाक्टर दुवैले गर्भवती महिलाहरूलाई आफैले कुनै औषधि किनेर सेवन गर्नुअघि स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरूसँग परामर्श लिन सुझाव दिएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले उच्च ज्वरोका बेला मात्र दुखाइनिरोधक औषधि सेवन गर्न सुझाउने जनाएको छ।

उच्च ज्वरोको उपचार नगर्दा यो आमा र गर्भमा हुर्किँदै गरेका शिशुलाई हानि पुर्‍याउने कारण बन्न सक्छ।

प्यारासिटामोल अटिजम्‌को कारक बन्न सक्छ?

अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जूनिअरले गत एप्रिलमा पाँच महिनाभित्रै अटिजम्‌को कारण पत्ता लगाउन 'ठूलो परीक्षण र अनुसन्धान प्रयास' गर्ने वाचा गरेका थिए।

तर विज्ञहरूले दशकौँदेखि अनुसन्धान भइरहेको यस जटिल अवस्थाको कारण पहिचान गर्न सजिलो नभएकोतर्फ सचेत गराएका छन्।

अनुसन्धानकर्ताहरूले व्यापक रूपमा बनाएको धारण के हो भने अटिजम्‌को कुनै एउटा कारण छैन, त्यसलाई पर्यावरणीय र अनुवांशिक पक्षको जटिल मिश्रणको परिणाम ठानिएको छ।

हार्भर्ड यूनिभर्सिटीको चान स्कूल अफ पब्लिक हेल्थका डीनको नेतृत्वमा अगस्टमा गरिएको अनुसन्धानको समीक्षाले गर्भावस्थामा आमाले सेवन गरेको टाइलेनोलका कारण बच्चामा अटिजम् र मस्तिष्क विकाससम्बन्धी अन्य समस्या उत्पन्न हुने जोखिम बढ्न सक्ने पत्ता लगाएको छ।

अनुसन्धानकर्ताहरूले औषधिको प्रयोग सीमित गर्न केही कदम चाल्नुपर्ने बताएका छन्। तर पीडानिरोधक औषधि अझैँ पनि गर्भावस्थाको ज्वरो र दुखाइको उपचारको निम्ति महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ।

तर सन् २०२४ मा प्रकाशित अर्को अध्ययनले टाइलेनोलको सेवन र अटिजम्‌बीच कुनै सम्बन्ध नरहेको तथ्य पत्ता लगाएको छ।

"कुनै आधारभूत सम्बन्ध रहेको भन्ने ठोस प्रमाण अथवा पत्यारलाग्दो शोध भएको छैन," डाराम यूनिभर्सिटीमा सामाजिक तथा मनोवैज्ञानिक विकासक्रमका प्राध्यापक रहेका मोनीक बोटा भन्छन्।

टाइलेनोलले कसरी गर्छ काम

पीडा कम गर्ने औषधिहरू 'ओपिओइड' वा 'गैरओपिओइड' हुन सक्छन्।

अफिमको बोटबाट वा प्रयोगशालामा बनाइने 'ओपिओइड'हरू मस्तिष्कमा 'ओपिओइड रिसेप्टर्स'सँग जोडिन्छन् र खुसी तथा आनन्दानुभूतिसँग सम्बन्धित एउटा होर्मोन डोपमिन निकाल्न भूमिका निर्वाह गर्छन्।

तर यी औषधिहरू अति नै लत लगाउने हुन सक्छन्। त्यसैले विज्ञहरू दुखाइ अन्त्यको उपचार प्यारासिटामोलजस्ता 'गैरओपिओइड' औषधिहरूको सेवनबाट सुरु गर्नु राम्रो हुने बताउँछन्।

तथापि प्यारासिटामोलले ठ्याक्कै कसरी काम गर्छ भन्नेमा अझैँ पनि एकमत पाइँदैन।

यूकेस्थित यूनिभर्सिटी अफ लीड्काज प्राध्यापक फिलिप कोनाहन भन्छन्, "प्यारासिटामोलले काम गर्ने चक्रबारे अझै पूर्ण स्पष्ट भइसकेको छैन।"

"यसले केन्द्रीय स्नायुप्रणाली र मस्तिष्कमा दुखाइको अनुभवलाई प्रभावित पार्न तथा सुन्निएको क्षेत्रको परिधिमा रहेर पनि काम गर्न सक्छ।"

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसका अनुसार प्यारासिटामोलले दुखाइको सङ्केत दिने रासायनिक सन्देशवाहकलाई मस्तिष्कमा पुग्न रोकी शरीरको तापक्रम पनि नियमन गर्छ।

लामो समयदेखि विद्यमान एउटा सैद्धान्तिक मान्यताका अनुसार प्यारासिटामोलले 'साइक्लोअक्सिजिनेस' वा 'सीओएक्स' भनिने 'एन्जाइम'लाई नियन्त्रण गर्छ। यो एन्जाइमले दुखाइसँग जोडिने होर्मोन उत्पादन गर्न सघाउँछ।

अहिले भने प्यारासिटामोलले फरक ढङ्गले पनि काम गर्ने ठानिन्छ। उदाहरणको निम्ति यो एएम४०४ नामक यौगिकमा एकीकृत हुन्छ, जसले विभिन्न दुखाइमा काम गर्ने बताइन्छ।

टाइलेनोल कति सेवन गर्न सकिन्छ?

स्वास्थ्यविद्हरूले सुरक्षित प्रयोगका निम्ति प्यारासिटामोल सेवनको मात्राको महत्त्वबारे प्रकाश पारेका छन्।

छोटो अवधि र सही मात्रा सेवन गर्दा त्यसले दुर्लभ रूपमा मात्र खराब असर गर्ने उनीहरूको भनाइ छ।

यूकेको न्याश्नल हेल्थ सर्भिस (एनएचएस) का अनुसार २४ घण्टामा चार पटकसम्म ५०० एमजीको एक वा दुई चक्की सिफारिस गरिएको छ तर २४ घण्टामा आठ चक्कीभन्दा धेरै खानुहुँदैन।

उक्त निर्धारित मात्राभन्दा बढी खाएमा त्यसले कलेजोमा गम्भीर क्षति पुग्ने वा बिग्रिन सक्ने एनएचएसले बताएको छ।

अमेरिकाको फूड एन्ड ड्रग एड्मिनस्ट्रेशन (एफडीए) को तथ्याङ्कले सन् १९९८ देखि २००३ को बीचमा अमेरिकामा प्यारासिटामोलको अधिक मात्रा सेवन नै कलेजोको गम्भीर खराबीको मुख्य कारण बनेको देखाएको छ।

तीमध्ये करिब आधा घटनामा असावधानीपूर्वक औषधिको अधिक सेवन गरिएको पाइएको छ। यसमा पीडितले सिफारिस गरिएको दैनिक मात्राभन्दा बढी अनजानमै सेवन गरेको पाइएको छ।

एफडीएका अनुसार प्यारासिटामोल ६०० वटा औषधिमा उपलब्ध रहेकाले अक्सर त्यसो हुने गरेको छ।

त्यसैले 'फ्लू' भएको एक व्यक्तिले प्रत्येकमा प्यारासिटामोलको मात्रा रहेको नठानेर अनेक उपचार अपनाउन सक्छन्।

विज्ञहरू खास गरी एक दिनमा फरकफरक व्यक्तिले हेरचार गर्दा बालबालिकालाई दिइने औषधिको मात्राबारे सजगता अपनाउन अभिभावकहरूलाई सल्लाह दिन्छन्।

प्रभावकारिता

विश्व स्वास्थ्य सङ्गठनले दुखाइ र सामान्यदेखि अधिक ज्वरोको पहिलो उपचारका निम्ति प्यारासिटामोल सिफारिस गरेको छ।

यदि त्यसले काम गरेन भने बिरामीले दुखाइ नियन्त्रणका निम्ति क्रमिक रूपमा सामान्य ओपिओइड, बलियो ओपिओइड र आवश्यक परेमा अन्ततः विशेषज्ञ उपचार लिन सक्छ।

प्यारासिटामोलको प्रभावकारिता दुखाइको प्रकृतिमा निर्भर हुन्छ।

प्रकाशित अध्ययनको विश्लेषण र समीक्षा गर्ने यूकेस्थित कोख्रन इन्स्टिट्यूटले प्यारासिटामोल 'माइग्रेन'को गम्भीर टाउको दुखाइका साथै प्रसूति र शल्यक्रियापछिको दुखाइमा प्रभावकारी रहेको जनाएको छ।

तथापि घुँडाको जोर्नी दुखाइजस्ता अवस्थाका निम्ति यसका फाइदा मध्यम स्तरका मात्र रहेको मानिएको छ।

उक्त इन्स्टिट्यूटले पिठ्युँको तल्लो भागको दुखाइ वा क्यान्सरसँग सम्बन्धित शारीरिक असहजताको निम्ति 'प्लेसीबो'भन्दा प्यारासिटामोलले राम्रो प्रभाव नदेखाएको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।