नेहरुले कुनै बेला ‘विदेशी राष्ट्रका रूपमा हेर्दैनौँ’ भनेको नेपालबारे भारतमा कस्तो बुझाइ छ?

तस्बिर स्रोत, Getty Images
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
भारत स्वतन्त्र हुनु केही साता अघि ब्रिटेनका फिल्ड मार्शल लर्ड मोन्टगमरीलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरुले नेपालसँग जोडेर भेनेको कुरा परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले अझ सम्झिरहन्छन्।
सन् १९४७ को गर्मीयाममा भएको भेटमा नेहरुले भनेका थिए, “नेपाल स्वतन्त्र देश भए पनि संस्कृति र परम्पराका हिसाबले उ भारतसँग ज्यादै निकट छ र हामीले उसलाई कुनै विदेशी राष्ट्रका रूपमा हेरेका छैनौँ।”
दुई देशको ‘निकट सम्बन्ध’ भविष्यमा अझ बढ्ने आशयसाथ नेहरुले त्यस बेला उक्त धारणा राखेका थिए।
तर त्यस यताका वर्षहरूमा नेपाल भारत सम्बन्धमा कैयौँ गम्भीर उतारचढाव आएका छन् जसले दुई देशबीच एक अर्काको बुझाइबारे समेत प्रश्नहरू खडा गर्ने गरेको पाइन्छ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले असन्तुष्टि जनाएका कारण तीनै नेहरुले ‘नेपाल र भुटानमाथिको कुनै पनि हमलालाई भारतमाथिको आक्रमण मानिने’ भन्ने अभिव्यक्तिबारे प्रस्टीकरण नै दिनुपरेको थियो।
एक अर्कालाई घनिष्ठ छिमेकीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्ने नेपाल र भारत पछिल्ला वर्षहरूमा पनि आपसी बुझाइमा देखिएका कैयौँ समस्याहरूसँग जुझिरहेका छन्।
कतिपय गलत बुझाइले दुवै देशमा ‘उग्र राष्ट्रवादी’ भावना निम्त्याएको विज्ञहरू बताउँछन्।
समस्या कहाँ छ?
तीन दिशामा भारतसँग साँध कायम भएको भूपरिवेष्टित नेपालको सिमाना बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल र सिक्किम राज्यहरूसँग जोडिएको छ।
दशौँ लाखको सङ्ख्यामा नेपालीहरू भारतमा रोजगारीमा छन् भने लाखौँको सङ्ख्यामा भारतीयहरू नेपालमा काम गर्दै बसिरहेका छन्।
चीन र पाकिस्तानसँगको तनावग्रस्त सीमा क्षेत्रमा खटिने गोर्खा सैनिकको साहसदेखि आफ्ना घरमा काम गर्ने सहयोगी र पशुपतिनाथजस्ता नेपालका तीर्थस्थलका कारण पनि कैयौँ भारतीयले नेपालबारे थाहा पाएका छन्।
तर नेपाल भारत सम्बन्धमा गहिरो दक्खल राख्ने विज्ञहरू निकट छिमेकी भएपनि नेपाल र भारतमा एक अर्काको बारेमा ज्ञानको दायरा कमजोर रहेको ठान्छन्।
भारतस्थित नेपाल मामिला विज्ञ प्राध्यापक एसडी मुनीका अनुसार नेपाल र भारतबारे दुवै देशका नागरिकहरूमा कैयौँ अस्पष्टताहरू छन्।

तस्बिर स्रोत, Getty Images
मुनीले बीबीसी न्यूज नेपालीसँग भने, “भारतमा सबै जनाले नेपाल हाम्रै हो भन्ने किसिमले सोच्छन्। त्यसो गर्दा उनीहरूले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई समेत भुलिदिन्छन्। नेपालको समाज र राजनीतिमा जस्ता विकासक्रम भइरहेका छन् त्यो उनीहरूले न अध्ययन गर्छन् न बुझ्छन्।”
प्राध्यापक मुनी जस्ता कैयौँ विज्ञहरू संस्कृति, भूगोल र इतिहास जस्ता आधारले भारतमा नेपालको पहिचान तय गरिरहेको ठान्छन्।
त्यस्तै मध्येकी एक हुन नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी सिनिअर असिस्टेन्ट प्रोफेसर गीता कोछड।
उनका अनुसार धेरै भारतीयहरूले ऐतिहासिक अवधारणाहरूलाई हेरेर नेपालबारे जानकारी पाएका छन् र त्यसमा भारतीय चलचित्र र गीतहरूले पनि एउटा दृष्टिकोण निर्माण गरिदिएका छन्।
उनी भन्छिन्, “भारतीय आभिजात्य वर्गमा (नेपालबाट आएका) सुरक्षा गार्ड, घरेलु कामदार विश्वसनीय हुन्छन् भन्ने एक किसिमको भावना पाइन्छ। ‘कान्छी रे कान्छी’जस्ता कतिपय गीतहरूले नेपाली किशोरीबारेका एउटा तस्बिर प्रस्तुत गर्यो भने सन् ८० र ९० को दशकको प्रारम्भको जीप्सी संस्कृतिका कारण नेपाली संस्कृति स्वतन्त्र र खुला खालको छ भन्ने भावना भारतीयहरूमा रहनपुग्यो।”
विगतमा रहेको उक्त भावना हालैका वर्षमा अत्याधिक मात्रामा देखा परेको भारतविरोधी सङ्गठन र नयाँ नक्साको विवादले प्रभावित भएको उनको भनाइ छ।
“भारतमा कतिपय राष्ट्रवादीहरू त्यसलाई नेपालीहरूबाट पाएको धोका भन्ने ठान्छन्। तर कसैले पनि नेपाल र भारत सांस्कृतिक र सामाजिकरूपमा एक अर्कासँग नजिक रहेको कुरा अस्वीकार गर्दैनन्।”
उनका अनुसार अधिकांश नेपालीहरू ज्यादै गरिब छन् भन्ने आम बुझाइ भारतमा छ जुन त्रुटिपूर्ण हो।

तस्बिर स्रोत, NAVKETAN FILMS
ध्यानमा नपरेका तथ्य
सन् २०२२ मा सार्वजनिक गरिएको बहु आयामिक गरिबी सूचकाङ्कका अनुसार कुल जनसङ्ख्याको १७.७ नेपालीहरू गरिबीको रेखामुनी छन्।
हालै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बनेको भारतले गरिबी घटाउन उल्लेख्य प्रगति गरेको भएपनि त्यहाँ अझै पनि झन्डै २३ करोड मानिसहरू गरिबीको रेखामुनि रहेका ग्लोबल मल्टिडाईमेन्सल पभर्टी इन्डेक्समा उल्लेख छ।
सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ।
त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब रुपियाँभन्दा केही बढी रकम भारतमा विप्रेषणका रूपमा पठाइएको वर्ल्ड ब्याङ्कको बाइलेटरल रेमिट्यान्स म्याट्रिक्समा उल्लेख छ।
तर यस्ता विषयहरू दुवै देशका नीति निर्माताका नजरमा खासै नपरेको कैयौँ विज्ञहरूलाई लाग्छ।
प्राध्यापक मुनी थप्छन्, “भारतमा (नेपालका) जसको ठूलो व्यवसाय वा स्वार्थ छ उनीहरू सधैँ राम्रो सम्बन्ध राख्न चाहन्छन्। तर यहाँ गरिब मानिसहरू पनि छन् जसलाई राम्रो व्यवहार गरिएको छैन र उनीहरूमा आक्रोश पनि छ। तर मलाई लाग्छ आमरूपमा नेपालीहरूले भारतलाई सहयोग र समृद्धिको स्रोतका रूपमा नै लिएका छन्।”
फोर्ब्स पत्रिकाको अनलाइन संस्करणका अनुसार कुल गार्हस्थ उत्पादन ३,७५० अर्ब डलरसहित भारत सन् २०२३ मा विश्वकै सबैभन्दा पाँचौँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा लामो समय काम गरेका पूर्व मेजर जेनरल अशोक मेहता नेपाललाई नजिकबाट चिन्ने भारतीय विज्ञमा पर्छन्।
उनी भन्छन्, “यहाँ कस्तो दृष्टिकोण छ भने जब नेपालीहरू भारतमा आउँछन्, उनीहरू एबीसी बन्छन्। एको अर्थ आया (आयो), बी अर्थ बाबर्ची (भान्छे) र सीको अर्थ चौकीदार। भारतमा धेरै जनालाई नेपालीहरू काम र अन्य अवसरको सिलसिलामा अमेरिकादेखि अस्ट्रेलिया र क्यानडासम्म पुगिसकेको थाहा नै छैन।”

नेपालीहरूलाई तुरुन्तै आक्रोशित तुल्याउने केही दृष्टिकोण
त्योबाहेक अरू कतिपय आम बुझाइ पनि त्रुटिपूर्ण रहेको विज्ञहरू ठान्छन्।
‘नेपाल कुनै बेला भारतको हिस्सा थियो’ देखि ‘गौतम बुद्धको जन्म भारतमा भएको हो’ भन्ने आशयसहित भारतका कतिपय चर्चित व्यक्तिहरूबाट समेत धारणा आउने गरेको पाइन्छ।
त्यसलाई लिएर नेपालमा तुरुन्तै आक्रोशपूर्ण प्रतिक्रियाहरू व्यक्त हुने गरेका छन्।
प्राध्यापक मुनी अज्ञानताका कारण कतिपय भारतीयहरूले त्यस्तो टिप्पणी गरेका ठान्छन्।
उनले भने, “जब यस्तो धारणा आउँछ, नेपालमा कतिपयले भारतले नेपाललाई कब्जा गर्न चाहन्छ भन्ने ठान्छन्। तर विशुद्ध अज्ञानताका कारण यस्तो भएको हो। तपाईँलाई आश्चर्य लाग्ला, मेलै धेरै भारतीयहरूले भुटानीहरूलाई पनि तिमीहरू भारतको हिस्सा हौ भनेको सुनेको छु, त्यो सुनेपछि उनीहरूले त्यसलाई प्रतिवाद गर्दै आफूहरू स्वतन्त्र देश भएको बताउँछन्। ज्ञानको अभावले त्यस्तो अंसवेदनशील भाषा प्रयोग गरिएको हो भन्ने मलाई लाग्छ।”
जवाहरलाल नेहरु विश्वविद्यालयकी सह-प्राध्यापक कोछडका अनुसार कतिपय भारतीयहरूमा नेपालमा कानुनको कार्यान्वयन र महिलाहरूको अधिकारबारे केही भ्रम छ।
‘तर मेरो विचारमा नेपाली महिलाहरू आफ्ना अधिकारका सन्दर्भमा भारतीय महिला भन्दा धेरै जानकार छन्। उनीहरू सशक्त छन् र कैयौँले सामाजिक अभियानहरू चलाइरहेका छन्।”

तस्बिर स्रोत, EPA
जहाँ सुकै चीन जोड्ने प्रवृत्ति
पछिल्ला वर्षहरूमा नयाँ दिल्लीले नेपाललाई हेर्दा काठमाण्डूमा बढेको चिनियाँ प्रभावप्रति उसको सर्वाधिक चिन्ता पाइन्छ।
कतिपय सन्दर्भमा, नेपालका घटनाक्रमलाई चीनसँग जोडेर हेर्ने र बेइजिङका प्रभावमा निर्णयहरू लिइएका आशयमा विज्ञहरूलेसमेत टिप्पणी गर्ने गरेका छन्।
नेपाल मामिला सम्बन्धी विज्ञ प्राध्यापक मुनी विगतमा राज्य-राज्य तहको सम्बन्ध नेपालका राजनीतिक दलको तहसम्म आइपुगेपछि भारतले ‘असहज ठान्नु’ स्वाभाविक रहेको बताउँछन्।
हाल भारत र चीनबीच प्रतिस्पर्धा चलिरहेको भन्दै उनले रणनीतिक स्वार्थसहित बेइजिङले नेपालमा अघि बढाएका कदम दिल्लीले नरुचाउनु अनौठो नभएको बताए।
उनले थपे, “यदि भारतको प्रभाव मङ्गोलिया वा भियतनाममा बढ्यो भने चिनियाँहरूले रुचाउँदैनन्। ठिक त्यसैगरी नेपालमा बढेको चिनियाँ प्रभावप्रति भारतले सहज महसुस गर्दैन। विगतमा चीनको प्रभाव यो स्तरको थिएन। त्यही भएर भारतको चिन्ता जायज हो र यो नयाँ खालको हो।”
तर कतिपय सन्दर्भमा सञ्चारमाध्यममा आएका गलत विवरणले पनि बुझाइमा समस्या निम्त्याइरहेको देखिन्छ।
भारतले ल्याएको नयाँ सैन्य भर्ना योजनाका कारण गोर्खा भर्ती स्थगित भइरहँदा केही समय पहिले कतिपय भारतीय सञ्चारमाध्यमहरूलेसमेत चिनियाँ सेनामा नेपाली युवाहरू भर्ना हुन लागेका गलत खबरहरू प्रकाशन गरेका थिए।
सन् २०२२ मा कार्नेगी इन्डियाले प्रकाशित गरेको एउटा प्रतिवेदनमा भारतका पूर्व विदेशसचिव विजय गोखलेले नेपालमा बढेको चिनियाँ प्रभावलाई ध्यान दिँदै दिल्लीले आफ्नो विदेश नीतिमा पुनर्विचार गर्नुपर्ने सुझाव दिएका थिए।
उनले सन् २०१५ को नाकाबन्दीबाट भारतले नेपाललाई अर्को देशका रूपमा व्यवहार गर्नुपर्ने र देशको आन्तरिक राजनीतिमा प्रयोग गर्न नहुने पाठ दिल्लीले सिक्नुपर्ने टिप्पणी गरेका छन्।
त्यसका लागि ‘भारतबाट पृथक्’ रहने नेपाली चाहना र ‘सिक्किम जस्तो हुनसक्ने आशङ्का’लाई सम्बोधन गरिनुपर्ने सुझाव दिएका उनले सन् १९५० को सन्धिको परिमार्जनसहितका नेपाली मुद्दालाई अघि बढाउन सुझाएका थिए।
केही समय पहिले भारतको औपचारिक भ्रमण गरेका प्रधानमन्त्री प्रचण्डले विगतमा आफूले ‘असमान’ भन्ने गरेको उक्त सन्धि परिमार्जनको मुद्दा नउठाएका विवरण आएका थिए।

तस्बिर स्रोत, Getty Images
भारतबारेका भ्रम कस्ता?
विज्ञहरूका अनुसार नेपालमा भारतबारे पनि कतिपय ‘त्रुटिपूर्ण’ धारणा छ।
भारतीय प्राध्यापक मुनीका विचारमा नयाँ दिल्लीले आफ्नो देशको राम्रो चाहँदैन भन्ने कैयौँ नेपालीले ठान्ने गरेका छन् जुन गलत हो।
उनी भन्छन्, “कतिपय सरकारले कुनै नीति लिन्छ जुन नेपालका लागि राम्रो वा उपयोगी हुँदैन तर भारतमा रहेका मानिसहरूको नेपालप्रति माया र सद्भाव छ। तर त्यो माया र सद्भाव कहिलेकाहीँ समस्या बन्छ।”
त्यसको उदाहरण दिँदै उनले राजतन्त्र कालमा लोकतन्त्रप्रति भारतले समर्थन गर्न नेपालको राजसंस्था असन्तुष्ट भएको उल्लेख गरे।
‘भारतीय नागरिकहरूले नेपालमा लोकतन्त्र वा लोकतान्त्रिक दलहरू प्रति समर्थन जनाउँदा सामन्तवादी र कम्युनिस्ट दुवै असन्तुष्ट हुने गर्छन्,” उनले भने।
जवाहारलाल नेहरु विश्वविद्यालयकी कोछडका अनुसार धेरै नेपालीहरूले भारतलाई आफ्नो मुलुकलाई थिचोमिचो गर्ने शक्तिका रूपमा लिन्छन्।
‘शासक र शासित मानसिकता’ रहेकाले दुवै पक्षबीच विश्वासको कमी रहेको उनको भनाइ छ।

तस्बिर स्रोत, EPA-EFE/REX/SHUTTERSTOCK
असमझदारी हटाउने बाटो के हुनसक्छ?
नयाँ दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयमा विषयमा समाजशास्त्र पढाउने सिनिअर असिटेन्ट प्रोफेसर मल्लिका शाक्य नेपाल र भारतबीच एक अर्कामा रहेको बुझाइमा देखिएको समस्याको सैद्धान्तिक कारणहरू रहेको ठान्छिन्।
उनले विश्व सम्बन्धको लामो इतिहास र डायस्पोराका अभियान रहँदै आए पनि भारतको दृष्टिकोण ‘विश्ववादी’ नरहेको बताइन्।
उनले भनिन्, “यदि दुवै देशहरूले भौगोलिक र सांस्कृतिक सम्पदा र विविधतालाई पनि सम्बोधन गर्दै विदेश नीति निर्धारण गरे भने त्यो राम्रो हुन्छ। युरोपमा केन्द्रित 'वेस्टफेलियन' (सार्वभौमसत्तासम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त) अवधारणाको सीमितताबाट दुवै देश मुक्त हुनुपर्छ। कम्तीमा नागरिक समाज र बौद्धिक वर्ग हुनैपर्छ।”
प्राध्यापक मुनीका विचारमा नेपाल र भारतमा एक अर्काको देशबारेका अध्ययन केन्द्र स्थापना गर्नु कतिपय असमझदारी हल गर्न महत्त्वपूर्ण हुनसक्छ।
उनले भने, “नेपालमा पनि र भारतमा पनि एक अर्काको बारेमा पढ्न वा बुझ्न त्यस्ता राम्रा अध्ययन केन्द्रहरू बनेका छैनन्। त्यस्ता केन्द्रमा मानिसहरू गएर गहिरो अध्ययन गर्न सक्छन् र आफ्ना मानिसहरूलाई सम्झाउन सक्छन्। त्यही भएर केही समस्या छ।”
केही समय पहिले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दिल्लीको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुवै देशको मित्रतालाई हिमालय जस्तै उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका थिए।
तर कैयौँ विज्ञहरूले लामो समयदेखि नसुल्झिएका सीमा विवादसहितका विषयले दुवै देशको सम्बन्धमा तुवाँलो लगाइदिएको विश्लेषण गर्ने गरेको पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








