तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना लिनबाट ट्रम्प प्रशासनले लगायो रोक
- Author, केयला एपस्टीन
- Role, बीबीसी न्यूज
ट्रम्प प्रशासनले अमेरिकाको सबभन्दा पुरानो विश्वविद्यालयसँग उसको चर्किएको असमझदारीका माझ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने हार्वर्डको अनुमतिलाई रोक लगाइदिएको छ।
अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालय डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोमले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रशासनले "कानुनसम्मत काम गर्न विफल भएकाले हार्वर्डको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम सर्टिफिकेशन खारेज गरिएको" उल्लेख गरेकी छन्।
"यो देशभरिका सबै विश्वविद्यालय तथा शैक्षिक केन्द्रहरूका निम्ति एक चेतावनी पनि हो," उनले बिहीवार लेखेकी छन्।
हार्वर्डको प्रतिक्रिया कस्तो
हार्वर्डले हिंसा तथा यहुदीविरोधी भावना फैलन दिएको तथा उसका क्याम्पसमा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप नोमले लगाएकी छन्
भर्ना भइसकेका विदेशी विद्यार्थीहरूले अब अन्य विश्वविद्यालयमा 'ट्रान्सफर' लिनु पर्ने उनले बताइन्।
हार्वर्डले सरकारको उक्त कदम 'गैरकानुनी' भएको प्रतिक्रिया दिएको छ।
"१४० भन्दा धेरै देशबाट आएका अनि विश्वविद्यालय – तथा यस देश - लाई अथाह हिसाबले समृद्ध बनाएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा शोधकर्ताहरूलाई निम्त्याउन सक्ने हार्वर्डको क्षमता कायम राख्न हामी पूर्ण कटिबद्ध छौँ," विश्वविद्यालयले भनेको छ।
"हाम्रा समुदायका सदस्यहरूलाई मार्गदर्शन र सहयोग गर्न हामी चाँडो काम गरिरहेका छौँ। यो बदलाको कारबाहीले हार्वर्ड समुदाय र देशलाई गम्भीर हानि पुर्याएको छ र हार्वर्डको प्राज्ञिक तथा शोधकार्यलाई बेवास्ता गरेको छ।"
हजारौँ विद्यार्थी प्रभावित हुने
ट्रम्प प्रशासनको निर्णयले उक्त विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभाव पर्न सक्छ।
गत शैक्षिक वर्ष हार्वर्डमा ६,७०० विदेशी विद्यार्थी भर्ना भएको आँकडा विश्वविद्यालयले दिएको छ। उसको कुल विद्यार्थी सङ्ख्याको त्यो २७% हो।
सरकारको कदमबारेको समाचार बिहीवार फैलिएसँगै हजारौँ विद्यार्थीहरूमाझ त्रास र निराशा फैलियो। अचानक ती विद्यार्थीका भविष्य अनिश्चयमा परेको देखियो।
"हामी धेरै भ्रम र अनिश्चयमा परेका छौँ," स्नातक डिग्री पढ्दै गरेकी अस्ट्रेलियाली विद्यार्थी स्यारा डेभिजले बीबीसी न्यूजआवरलाई बताइन्।
"हामीमध्ये कैयौँका निम्ति यो समाचार हामी ग्राजुएट हुन लागेको पाँच दिन अगाडिमात्र आएको छ। स्वाभाविक रूपमा यसले धेरै अनिश्चयपूर्ण प्रभाव पार्नेछ। अब हामी यसपछि अमेरिकामा रहन वा काम गरिरहन पाउने छौँ या छैनौँ," हार्वर्ड केनेडी स्कूलको अस्ट्रेलिया तथा न्यूजील्याण्ड ककसकी अध्यक्ष समेत रहेकी डेभिजले भनिन्।
"विश्वविद्यालयले आगामी कदमबारे बताउँछ या बताउँदैन भनेर हामी व्यग्रतापूर्वक पर्खिरहेका छौँ।"
३२ वर्षीय लिओ गर्डन स्वीडनका अन्डरग्राजुएट हुन्। हार्वर्डमा भर्ना पाएको पत्र आएको दिनलाई उनी आफ्नो जीवनकै उत्तम दिनका रूपमा स्मरण गर्छन्। ग्राजुएशनका निम्ति एक हप्ताभन्दा कम समय बाँकी रहँदा आफ्नो हार्वर्ड बसाइ यसरी सकिएला भनेर उनले कल्पना पनि गरेका थिएनन्।
"हार्वर्ड र ह्वाइट हाउसबीचको द्वन्द्वमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गोटी सरह व्यवहार गरिएको छ," उनले बीबीसीलाई भने। "यो अत्यन्त अमानवीय हो।"
प्रशासनले के खोजेको हो?
ट्रम्प प्रशासनले दर्जनौँ विश्वविद्यालयहरूमा छानबिन गरेको छ अनि न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयसहित कतिपयलाई आफ्ना नीति मान्न बाध्य पार्न सफल भएको छ।
तर एप्रिलमा हार्वर्ड पहिलो विश्वविद्यालय बन्यो जसले ट्रम्प प्रशासनको भनाइ मानेन र उल्टै मुद्दा हाल्यो। प्रशासनले आफ्ना मागहरूका लामो सूची पठाएको थियो। पछि त्यो सूची गल्तीले पठाइएको ह्वाइट हाउसले भनेको थियो।
उसले हार्वर्डलाई क्याम्पसमा हुने यहुदीविरोधी भावनासँग लड्न भर्ना, अध्यापनसहितका अभ्यासहरूमा परिवर्तन गर्न भनेको थियो। नत्र विश्वविद्यालयको करछुट पाउने हैसियत उल्ट्याइदिने तथा अर्बौँ डलरको कोष रोक्का गरिदिने धम्की प्रशासनले दिएको थियो।
यो वर्षको सुरुमा हार्वर्डले यहुदीविरोधी भावनालाई सम्बोधन गर्न आफूले कदमहरू चालेको बताएको थियो र सरकारका मागहरूलाई 'विश्वविद्यालयको बौद्धिक परिस्थिति' नियन्त्रण गर्ने प्रयास भनेको थियो।
दुई पक्षबीचको असमझदारी झ्याँगिदै गएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।