हेभी मेटल ब्यान्डदेखि जापानी प्रधानमन्त्रीको पदसम्म: सनाए तकाइचीबारे हामीलाई जे थाहा छ

    • Author, तिन्शुइ यङ
    • Role, बीबीसी न्यूज

आदर्श व्यक्तिः मार्गरेट थ्याचर। व्यक्तिगत लक्ष्यः जापानकी 'आइरन लेडी' बन्नु।

जापानको संसद्‌मा भएको मतदानमा विजयी हुँदै सनाए तकाइची देशकी प्रथम महिला प्रधानमन्त्री निर्वाचित भएकी छन्।

राजनीतिमा आउनुअघि उनी टेलिभिजन कार्यक्रमकी प्रस्तोता र कुनै बेला 'हेभी मेटल'को एउटा साङ्गीतिक समूहकी सदस्य थिइन्। पछि उनी मन्त्री पनि बनिन्। अब उनीसमक्ष सुस्त गतिको अर्थतन्त्र, तलब नबढेको तर महँगीको मारमा परेका जापानी जनताका समस्या अनि न्यून जन्मदर र बढ्दो भूराजनीतिक तनावका पहाडहरू छन्।

देशको कार्यकारीका रूपमा उनले जापान र अमेरिकाको सम्बन्ध अनि ट्रम्प प्रशासनसँग निवर्तमान सरकारले गरेको ट्यारिफसम्बन्धी सम्झौतासँग जोडिएका अनेकौँ व्यवहार गर्नुपर्ने छ।

उनको जन्म सन् १९६१ मा भएको हो। उनका बुवा कर्मचारी र आमा प्रहरी थिए। उनको ‍लालनपालनमा राजनीति कतै पनि जोडिएको थिएन।

हेभी मेटल सङ्गीतमा लाग्दा उनी ड्रम बजाउँथिन्। धेरै ड्रम बजाउँदा भाँचिने भएकाले उनी आफूसँग धेरैवटा 'स्टिक' बोकेर हिँड्थिन्। उनी स्कूबा डाइभिङ पनि गर्थिन् र कारमा उनको धेरै रुचि थियो।

राजनीतिमा जाने प्रेरणा अमेरिकासँग सम्बन्धित

सन् १९८० को दशकमा जापान र अमेरिकाबीच हुने व्यापारमा तनाव उत्पन्न भएको बेलामा तकाइचीलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो। अमेरिकाले जापानलाई हेर्ने दृष्टिकोण बुझ्न उनले अमेरिकी डेमोक्र्याट सांसद प्याट्रिसिआ श्रोइडरको कार्यालयमा काम गरिन्। श्रोइडर जापानकी आलोचक थिइन्।

अमेरिकीहरूले जापानी, चिनियाँ र कोरियाली भाषा र परिकार सबैलाई एउटै डालोमा राखेर हेर्ने गरेको थाहा पाइन्।

"जापानले आफ्नो रक्षा आफैँ गर्न नसकेसम्म जापानको भाग्य सधैँ अमेरिकाको सतही धारणाको छायामा पर्न सक्छ," उनले निष्कर्ष निकालिन्।

उनी सन् १९९२ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनिन् तर पराजित भइन्।

त्यसपछि अर्को वर्ष फेरि चुनाव उठिन् र जितिन्। सन् १९९० मा उनी एलडीपीमा प्रवेश गरिन्। उनी १० पटक सांसद निर्वाचित भएकी छन् भने एक पटक निर्वाचनमा पराजित भएकी छन्। उनी पार्टीभित्र प्रखर परम्परावादी नेत्रीका रूपमा चिनिन्छिन्।

उनले विभिन्न मन्त्रालयको नेतृत्व पनि गरेकी छन्। जापानमा उनी अहिलेसम्म सबै भन्दा लामो समय आन्तरिक मामिला र सञ्चार मन्त्रालय सम्हाल्ने व्यक्ति हुन्।

एलडीपीको नेतृत्वका लागि उनले सन् २०२१ मा प्रतिस्पर्धा गरिन् तर फुमिओ किशिदासँग पराजित भइन्। सन् २०२४ मा भएको आन्तरिक निर्वाचनमा उनी पहिलो चरणमा अग्रस्थानमा थिइन् तर पछि शिगेरु इशिवा पार्टीका नेता छानिए।

उनी तेस्रो पटकको प्रयासमा यसपालि एलडीपीको नेतृत्वमा पुगेकी छन्।

"मेरो लक्ष्य आइरन लेडी बन्नु हो," उनले केही समयअघि स्कूले विद्यार्थीहरूको एउटा समूहलाई भनेकी थिइन्।

तकाइची दिवङ्गत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी 'शिष्या' हुन्। उनले "आबेनोमिक्स" अर्थात् आबेले अवलम्बन गरेको आर्थिक नीति फेरि लागु गर्ने र सार्वजनिक खर्च बढाउने तर सस्तोमा ऋण लिने वाचा गरेकी छन्।

तकाइची निकै परम्परावादी छिन्। उनले निकै लामो समयदेखि विवाहित महिलालाई माइतीको थर राख्ने दिने कानुनको विरोध गर्दै आएकी छन्। उक्त कानुनले परम्परा बिथोल्ने उनको तर्क छ। उनी समलिङ्गी विवाहको विपक्षमा छिन्।

"उनी आफूलाई जापानकी मार्गरेट थ्याचर ठान्छिन्। तर आर्थिक अनुशासनमा उनी पटक्कै त्यस्ती छैनन्," जापानस्थित टोक्यो यूनिभर्सिटीका प्राध्यापक जेफ किङ्स्टनले बीबीसीसँग भने। "तर थ्याचरजस्तै उनी मेलमिलाप गराउन सक्ने नेत्री होइनन्। उनले महिलाहरूलाई सशक्त बनाउन खासै केही गरे जस्तो मलाई लाग्दैन।"

चाहना

उनको परिवार र व्यक्तिगत अनुभवका आधारमा उनका नीतिगत प्रस्तावहरूलाई बनेका हुन्छन् - महिलाको स्वास्थ्यका लागि अस्पताल सेवा विस्तार गर्ने, घरेलु सहयोगी कामदारहरूलाई बढी मान्यता दिने, र जापानको वृद्ध समाजका लागि हेरचाहका सुविधामा सुधार गर्ने।

"मैले जीवनमा तीन पटक आफैँले नर्सिङ र हेरचाह गर्ने कामको अनुभव बटुलेकी छु," उनले भनिन्।

"त्यसैले हेरचाह गर्नुपर्ने, बच्चाको हुर्काउनुबढाउनुपर्ने वा विद्यालय जान नमान्ने बालबालिकाका कारण रोजगारी छोड्न बाध्य हुने मानिसको सङ्ख्या घटाउने मेरो सङ्कल्प अझ दृढ बनेको छ।"

"म मानिसहरू आफ्नो वृत्ति छोड्न बाध्य हुनुनपर्ने समाज निर्माण गर्न चाहन्छु।"

उनी नियमित रूपमा विवादास्पद यासुकुनी मन्दिर जाने गर्छिन्।

उक्त मन्दिर युद्धका बेला मारिएका युद्धअपराधीहरू सहितका व्यक्तिहरूको सम्मानमा बनाइएको हो।

उनले जापानको 'सेल्फ‍-डिफेन्स फोर्सेस'माथि लगाइएको संवैधानिक प्रतिबन्ध खुकुलो पार्न पनि आह्वान गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।