भारत भ्रमणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले के जबाफ दिए?

संसद्‌मा प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, PM Secretariat

आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्‌मा प्रश्नोत्तर सकाएका छन्।

आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो।

पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए।

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो।

साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या देखि राजधानी जोड्ने सडकमार्गको दुरावस्था लगायतका विषयमा आठ वटा प्रश्न प्रधानमन्त्रीलाई सोधेका थिए।

उनको पाँचौँ प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणबारे थियो।

"तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जाँदै छु भनेको कहिले हो? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन?" साहले प्रधानमन्त्री ओलीलाई सोधे।

गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्।

प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, PM Secretariat

यसबारे राजनीतिक वृत्तमा चर्चा चलिरहँदा गएको मङ्सिर २३ गते दमकमा सरकारी लगानीमा बनेको व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुगेका ओलीले आफ्नो भारत भ्रमणको योजना सुनाएका थिए।

"चीन भ्रमणबाट थुप्रै अरू कुराहरू बन्ने भएका छन्। मान्छेहरूले पत्याएका छैनन् होला। केही समयपछि म भारत भ्रमणमा पनि जान्छु," ओलीले दमक भ्यू टावरका नामले चिनिएको व्यापारिक भवन उद्घाटनका क्रममा भनेका थिए।

तर आइतवार ‌ओलीले सांसद साहले सोधेका भारत भ्रमणसहित कुनै पनि प्रश्नको जबाफ दिइनन्।

"उहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन्। संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा….. ," ओलीले भने।

"उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जबाफ दिइरहनु पर्ने छैन। सबैको उत्तर आफैँ प्रश्नमा बोकेर आउनुभएको छ। त्यसकारण मैले उत्तर दिइरहनु परेन। यहाँलाई धन्यवाद छ।"

प्रधानमन्त्रीले आफ्नो विषयमा टिप्पणी गरेपछि सांसद साह उठेर बोल्न समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले प्रतिप्रश्न नहुने भन्दै उनलाई रोकेपछि प्रश्नोत्तर कार्यक्रम सकिएको थियो।

साहको पार्टीबाट प्रतिनिधिसभामा उनी एक्ला सांसद हुन्। पूर्वमन्त्री समेत रहेका उनी गएको निर्वाचनमा रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। त्यसअघि उनी नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा अलग हुँदा ओली नेतृत्वको नेकपा एमालेमा आबद्ध थिए।

विकासमा ढिलासुस्तीबारे सांसदका प्रश्न

संसद्‌को प्रश्नोत्तरमा प्रतिक्षा तिवारी

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री ‌ओलीलाई सत्ता र प्रतिपक्षमा रहेका सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न सोधेका छन्।

सत्ता साझेदार नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमको प्रश्न विकास आयोजनाहरू समयमै सक्न भइरहेको ढिलाइबारे थियो।

"नेपालमा ठूला राष्ट्रिय परियोजनाहरू दशकसम्म अधुरै रहने समस्यालाई समाधान गर्न र आयोजना समयमा नै सम्पन्न गर्नको लागि सरकारले बजेट व्यवस्थापन स्रोत सुनिश्चितता र भुक्तानी प्रक्रियामा सुधार गर्न के कस्ता प्रयास गरिरहेको छ ?" गौतमले सोधिन्।

जबाफमा प्रधानमन्त्री ओलीले ठूला राष्ट्रिय आयोजनाको लागि बजेट अभाव हुन नदिन बजेटमा नीतिगत प्रबन्ध गरिएको बताए।

"राष्ट्रिय गौरवका आयोजना तथा अन्य ठूला राष्ट्रिय परियोजनाका लागि स्रोतको अभाव हुन नदिन सम्बन्धित मन्त्रालयको लागि विनियोजित बजेटमध्ये कुनै कार्यक्रम सञ्चालन हुन नसक्ने वा कुनै शीर्षकमा विनियोजित बजेटमध्ये केही वा पुरै बचत हुने भएमा रकमान्तर मार्फत् त्यस्ता महत्त्वपूर्ण आयोजनाका लागि बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने गरिएको छ," ओलीले भने।

अर्थतन्त्रबारे ओलीले के भने

संसद्‌को प्रश्नोत्तरमा वर्षमान पुन

तस्बिर स्रोत, RSS

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रमा देखिएको शिथिलताबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

"अर्थतन्त्रमा शिथिलता आएको छ। जनताको चुल्हो महँगीको मारमा पुगेको छ। पुँजीगत खर्च भइरहेको छैन," पुनको प्रश्न थियो।

"सरकारले त्यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ?"

यसअघिका अर्थमन्त्री समेत रहेका पुनका प्रश्नमा जवाफ दिँदै ओलीले अघिल्लो सरकारका पालामा भन्दा राम्रो काम भइरहेको दाबी गरे।

"हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन र सुस्तता एकै दिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रूपमा काम गरिरहेका छौँ र सुधारका केही नतिजाहरू पनि देखिएका छन्," ओलीले भने।

अर्का पूर्वअर्थमन्त्री नेपाली कांग्रेसका प्रकाश शरण महतले पनि प्रधानमन्त्री ओलीलाई अर्थतन्त्रको समस्याबारे प्रश्न गरे।

"समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आवश्यक दोस्रो चरणको आर्थिक सुधारका बारे सरकारले के सोचेको छ?" महतको प्रश्न थियो।

जवाफमा ओलीले भने, "अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बेहोरा जानकारी गराउँछु।"

सहकारीबाट '५ अर्ब ठगी'

संसद्‌को प्रश्नोत्तरमा प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, RSS

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले ओलीले घोषणा गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा भएको विषयमा प्रश्न गरे।

जबाफमा ओलीले यसअघि ज्वाला नै भौतिक पूर्वाधारमन्त्री हुँदा सडकमा बजेट रोकिएको आरोप लगाए।

"प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। कार्यक्रमहरू रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ," ओलीले भने।

सांसदहरूले सहकारी पीडित, मिटर ब्याज पीडित, उखु किसान र महँगीको मारमा परेका जनताको समस्याबारे पनि प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधारका कार्य भइरहेको बताएका छन्। सहकारी ठगीमा यो आर्थिक वर्षमा मात्रै नेपाल प्रहरीबाट ५ अर्ब ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता गरेको तथ्याङ्क प्रधानमन्त्रीले संसद्‌मा पेस गरेका छन्।

प्रधानमन्त्रीलाई सांसदहरू प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रतिक्षा तिवारी मुखियाले फरक-फरक विषयमा प्रश्न सोधेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।