थप मन्त्री चयनका लागि प्रधानमन्त्री गृहकार्यमा, कस्ता व्यक्तिका नाम छलफलमा छन्?

राष्ट्रपति र प्रधानन्यायाधीशसँग नवनियुक्त तीन मन्त्री

तस्बिर स्रोत, RSS

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारका लागि गृहकार्य गरिरहेको बताएकी छन्।

बीबीसी न्यूज नेपालीसँगको विशेष अन्तर्वार्ताका क्रममा उनले मन्त्रिपरिषद्‌मा कस्ता व्यक्ति ल्याउने भनेर गृहकार्य भइरहेको बताएकी हुन्।

"हाम्रा केही साथीभाइहरू हुनुहुन्छ। हामीसँग सहकार्य गर्नेहरू। हामी उहाँहरूलाई सोधिरहेका छौँ, गृहकार्य गरिरहेका छौँ," उनले भनिन्।

"राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू, जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ।"

यसअघि नियुक्त भएका मन्त्रीहरूमा पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन व्यवसायी र भ्रष्टाचारविरोधी अभियानमा लागेका ओमप्रकाश अर्याल छन्।

मन्त्रिमण्डलका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले हरेक राजनीतिक दलबाट एक एकजना राखेर बृहत् चुनावी मन्त्रिमण्डल बनाउन सुझाव दिएको भए पनि आफूले त्यो अस्वीकार गरेको प्रधानमन्त्री कार्कीले बताइन्।

दलका मानिस किन अस्वीकार?

प्रधानमन्त्री सुशीला कार्की

तस्बिर स्रोत, BIJAY GAJMER/BBC

मन्त्रिमण्डलमा दलका मानिस भए निर्वाचनमा उनीहरूले 'भजाउने' काम गर्ने र हेलिकोप्टरजस्ता सुविधाको कुरा हुने भन्दै त्यसलाई आफूले अस्वीकार गरेको उनले बताइन्।

"फेरि मैले निर्वाचनमा नजाने मानिसलाई खोजेको हो। निर्वाचनमा जाने हो भने त निर्वाचनमा गइहाल्छन् अनि काम के हुनु?" उनले भनिन्।

चुनावपछि आउने सरकारमा जुन दलले नेतृत्व गरेको उही वा सरकारमा सहभागी दलका व्यक्तिहरू मन्त्रीमा आउँछन्।

तर अहिलेको फरक परिवेशमा बनेको मन्त्रिमण्डलमा व्यक्तिहरूको चयन कसरी भइरहेको छ भन्ने चासोको विषय बनेको छ।

उनले विभिन्न विषयका विज्ञबारे छलफल भइरहेको र अबको १/२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन्।

अहिले छलफलमा रहेका मानिसहरूको पृष्ठभूमिबारे बोल्दै उनले भनिन्, "कोही पीएचडी गरेका दलित समुदायका पनि हुनुहुन्छ। कोही सचिव पनि हुनुहुन्छ। कोही जनजातिमा अति ख्यातिप्राप्त पाइलटकै पनि कुरा आएको छ।"

त्यसरी छलफलमा आएका व्यक्तिले इच्छा देखाएर खुसीसाथ मद्दत गर्न आए आफ्नो मन्त्रिमण्डलमा समेट्ने उनले बताइन्।

उनले आफूले चुनावका सबै कुरा कानुन र नियम अनुसार होस् र त्यसरी गरिएको चुनावबाट राम्रो सरकार र संसद् बनोस् भन्ने चाहेको बताइन्।

यसरी बन्ने मन्त्रिपरिषद्को आकार १० देखि ११ सदस्यीय हुने उनले बीबीसीलाई बताएकी छन्।

प्रधानमन्त्रीसँगको भिडिओ अन्तर्वार्ता बीबीसी नेपाली सेवाको यूट्यूब च्यानलमा पनि छ: प्रधानमन्त्री सुशीला कार्कीसँगको विशेष अन्तर्वार्ता

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।