चीनबाट भागेर अमेरिका गएका एक व्यक्तिमाथि चीनकै लागि जासुसी गरेको आरोप

    • Author, यारोस्लाफ लुकिभ, लन्डन
    • Role, बीबीसी न्यूज

संयुक्त राज्य अमेरिकामा अभियोजनकर्ताहरूले चिनियाँ मूलका एक व्यक्तिविरुद्ध चीनका लागि गुप्तचरी गरेको आरोप लगाउँदै मुद्दा हालेका छन्। उनी अङ्गीकृत अमेरिकी नागरिक हुन्।

सतसट्ठी वर्षीय युआन्जुन ताङलाई बुधवार न्यूयोर्क सिटीमा पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ।

युआन्जुनविरुद्ध उनी चिनियाँ जासुसी निकायको गुप्तचर भएको र उनले अमेरिकामा बस्ने चिनियाँ प्रजातान्त्रिक अभियानकर्मी तथा असन्तुष्ट व्यक्तिहरूबारे गुप्त सूचना सङ्कलन गर्ने अभियोग लगाइएको छ।

उनले अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईलाई झुटो बयान दिएको आरोप पनि लगाएको छ।

बीबीसीले ताङका वकिल को हुन् भनेर पहिचान गर्न सकेको छैन।

न्याय मन्त्रालयले ताङलाई "संयुक्त राज्य अमेरिकामा जनगणतन्त्र चीन (पीआरसी)का असूचीकृत गुप्तचरका रूपमा काम गरेको र षड्यन्त्र गरेको अनि एफबीआईलाई झुटो बयान दिएकोमा" फौजदारी मुद्दा चलाइएको जनाएको छ।

कस्तो जासुसी?

न्याय मन्त्रालयका अनुसार ताङले सन् २०१८ र २०२३ को बीचमा चीनको राज्य सुरक्षासम्बन्धी मन्त्रालय (एमएसएस) को आदेशमा बेइजिङको जासुसको रूपमा काम गरेका थिए।

एमएसएस नागरिकहरूको जासुसी गर्ने चीनको मुख्य निकाय हो।

ताङले उक्त निकायबाट नियमित रूपमा इमेल, 'इन्क्रिप्टिड च्याट' र अन्य तरिकाबाट निर्देशन प्राप्त गर्ने गरेको अमेरिकी अधिकारीहरूको दाबी छ। इन्क्रिप्टिड सन्देश पठाउने र पाउने व्यक्तिले मात्र हेर्न मिल्छ।

ताङले "चीनले आफ्नो स्वार्थमा सम्भावित जोखिम ठानेका व्यक्ति वा समूहका बारेमा नियमित रूपमा निर्देशन पाएको र एमएसएसका एक अधिकारीप्रति उत्तरदायी रहेको" अमेरिकी दाबी छ। उनलाई जासुसी गर्न भनिएका व्यक्तिमा "अमेरिकामा बस्ने प्रभावशाली चिनियाँ प्रजातन्त्रवादी र असन्तुष्ट व्यक्तिहरू" पर्छ।

"उनले एमएसएका गुप्तचर अधिकृतहरूलाई भेट्न तीन पटक यात्रा गरेका थिए। कैयौँ चिनियाँ असन्तुष्ट र प्रजातन्त्रपक्षधर अभियानकर्मीहरूले प्रयोग गर्ने एउटा इन्क्रिप्टिड सन्देश पठाउने एपको ग्रूप च्याटमा एमएसएसलाई घुसपैठ गर्न सघाएका थिए," अमेरिकी न्याय मन्त्रालयलको आरोप छ।

उक्त समूहमा "प्रजातन्त्रको पक्षमा संवाद हुनुका साथै चीन सरकारको आलोचना" हुने गर्थ्यो।

ताङले किन गरे जासुसी

बीबीसीको अमेरिकी साझेदार सीबीएसले अमेरिकी अभियोजनकर्ताहरूलाई उद्धृत गर्दै ताङ मुख्यभूमि चीनमा रहेको आफ्नो परिवारलाई भेट्न पाउने सर्तमा चीनको जासुसी निकायका लागि काम गर्न सहमत भएको उल्लेख छ।

अदालतमा प्रस्तुत दस्ताबेजका अनुसार ताङ चीन सरकारको विरोध गरेका कारण चीनमा जेल परेका थिए।

सन् १९८९ को तिआन्आनमेन स्क्वायरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गर्दै भएको विरोधप्रदर्शनमा उनी सहभागी भएको सीबीएसले जनाएको छ।

सन् २००२ तिर उनी चीनबाट भागेर ताइवान पुगे। पछि उनले अमेरिकामा राजनीतिक शरण पाएको न्याय मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।