तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गायिका टेलर स्विफ्टले बिहे गर्न कुरो छिनेका ट्राभिस केल्सी को हुन्
ट्राभिस केल्सी 'अमेरिकन फुटबल'का प्रसिद्ध खेलाडी हुन्। चर्चित अमेरिकी पपगायिका टेलर स्विफ्ट र उनको बिहे हुने टुङ्गो लागेपछि केल्सीबारे अहिले धेरैतिर चर्चा भएको छ।
हामी यहाँ उनीसँग सम्बन्धित पाँच रोचक कुरा प्रस्तुत गर्दै छौँ।
प्रेम
तपाईँले कतै 'टेभिस', 'ट्रेलर', 'स्वेल्सी' वा 'टीएनटी' भनिएको सुन्नुभएको वा लेखिएको देख्नुभएको छ?
सामाजिक सञ्जालमा दुई जनाको नाम वा थर मिसाएर उनीहरूको सम्बन्धबारे चर्चा हुने गरेको छ।
'टे-टे' उपनामले पनि चिनिने टेलर स्विफ्ट र ट्राभिस केल्सी सेप्टेम्बर २०२३ देखि 'डेट' गर्दै आएका थिए।
ट्राभिस टेलरलाई समर्थन गर्न उनको कन्सर्टमा प्रायः जाने गरेका छन्। गत वर्ष टेलरले 'स्विफ्टीज् वाइल्डेस्ट ड्रीम्स' गीत गाउँदै गर्दा ट्राभिस पनि साङ्गीतिक समूहको सदस्य जसरी नै मञ्चमा देखा परे।
आफ्ना प्रेमीको उत्साह बढाउन टेलर उनका ठूला खेल हेर्न जाने गर्छिन्। गत वर्ष 'सूपर बाउल' हेर्न उनी लस भेगस गएकी थिइन्। सूपर बाउललाई अमेरिकामा आयोजना हुनेमध्ये सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मानिन्छ।
अमेरिकन फुटबल
ट्राभिस केल्सी अमेरिकन शैलीको 'फुटबल'मा निकै लोकप्रिय छन्। उनी यूएस न्याश्नल फुटबल लीग अर्थात् एनएफएलमा क्यान्सस सिटी चीफ्सबाट खेल्छन्।
आफ्नो टोलीलाई तीन पटक 'सूपर बाउल' जिताउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उनी टोलीका आक्रामक खेलाडीमध्ये हुन्। मैदानमा उनले बल अगाडि लैजाने र स्कोर गर्ने प्रयास गर्नुपर्छ।
उनलाई यो खेलमा निकै सफल मानिन्छ। उनले खेलकुदबाट प्रशस्त आय गर्छन् पनि।
गत वर्ष एप्रिलमा ट्राभिसले वार्षिक १.७ करोड अमेरिकी डलर पारिश्रमिक लिने गरेर क्लबसँग आफ्नो अनुबन्ध सम्झौता नवीकरण गरे।
उनीसँग झन्डै सात करोड डलरजतिको सम्पत्ति रहेको अनुमान गरिन्छ।
दाइ पनि चर्चित खेलाडी
केल्सी परिवारमा ट्राभिस मात्र चर्चित व्यक्ति छैनन्। उनका एक दाइ जेसन पनि अमेरिकी फुटबलका प्रसिद्ध हस्ती हुन्। तर उनले गत वर्ष खेलबाट सन्न्यास लिए।
जेसन केल्सीले पनि आफ्नो टोलीलाई एक पटक सूपर बाउल जिताएका थिए।
रोचक कुरा के हो भने ५७औँ सूपर बाउलमा ट्राभिस र जेसनले प्रतिस्पर्धी टोलीबाट खेलेका थिए।
उक्त खेलमा ट्राभिसको टोली विजयी भयो। तर दुवै जना आक्रमण गर्ने अग्रपङ्क्तिका खेलाडी भएकाले उक्त खेलमा दुई दाजुभाइ एकै समयमा मैदानमा थिएनन्।
सन् २०२२ मा उनीहरूले 'न्यू हाइट्स' नाम राखेर पड्कास्ट सुरु गरे। ओहायोको क्लीभ्लन्डमा आफू हुर्केबढेको स्थान क्लीभ्लन्ड हाइट्सबाट प्रेरित भएर उनीहरूले उक्त नाम जुराएका थिए।
उक्त पड्कास्टका लागि गरिएको एउटा अन्तर्वार्ता देखाउँदै टेलरले आफ्नो बाह्रौँ एल्बम 'द लाइफ अफ अ शोगर्ल' आगामी ३ अक्टोबरमा सार्वजनिक हुने घोषणा गरेकी थिइन्।
कुकुर निकै मन पराउँछन्
ट्राभिस केल्सी सामाजिक सञ्जालमा आफूले पालेका कुकुरका तस्बिरहरू बेलाबेलामा पोस्ट गर्छन्।
उनीसँग पम्स्की जातको 'चन्सी' र गोल्डनडूडल जातको 'र्याम्बो' नामक कुकुर छन्।
८७ नम्बर
मैदानमा प्रतिद्वन्द्वी भए पनि ट्राभिस र जेसनबीच निकै राम्रो सम्बन्ध छ।
जेसन सन् १९८७ मा जन्मिएका हुन्। ट्राभिसले सुरुदेखि नै क्यान्सस सिटी चीफ्समा ८७ नम्बरको जर्सी लगाउँदै आएका छन्।
एनएफलमा दिएको एउटा अन्तर्वार्तामा एक पटक ट्राभिसले भने, "दुई दाजुभाइ एनएफएलमा खेल्न पाउने गरी यदि 'केल्सी परम्परा' बसेको रहेछ भने त्यसको आरम्भ मेरा दाजु १९८७ मा जन्मिँदा नै भएको थियो।"
तर उनीहरूबीच बाल्यकालमा केही तनाव भने थियो।
ट्राभिसका अनुसार एक पटक जेसनले ढोकामा ठोक्किने गरी उनलाई धकेलिदिएका थिए र त्यस बेला भुइँ नै भत्किएको थियो।
तर उपद्रवको अबगालबाट जोगिन दुई जनाले भत्किएको भुइँमाथि सोफा सारेर ढाकछोप गरेका थिए।
उनीहरूलाई प्रायः सानो बेलामा झगडा गर्दा कसले धेरै जित्थ्यो भनेर सोध्ने गरिएको छ।
"जेसनले एक पटकबाहेक सधैँ जिते, त्यो नै अन्तिम झगडा थियो," ट्रेभिसले भने, "त्यसपछि उनले मसँग झगडा गर्न छाडे।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।