जोखिम मोलेर पाकिस्तानमा मानिसहरू किन केबलकार चढ्छन्

तस्बिर स्रोत, Getty Images
- Author, इस्लामाबादमा फरहत जावेद र लन्डनमा एन्ट्वनेट र्याड्फर्ड
- Role, बीबीसी न्यूज
पाकिस्तानको पश्चिमोत्तर खैबार पख्तून्ख्वा प्रान्तमा मङ्गलवार एउटा केबलकारको तार चुँडिएपछि बीच बाटोमै अड्किँदा बालबालिकासहित आठ जना फसेको समाचारले ठूलो चर्चा पायो।
एउटा तारको भरमा मात्र जमिनबाट २७४ मिटर (९०० फीट) माथि घण्टौँ फसेको उक्त केबलकारबाट सबैलाई जीवितै उद्धार गरियो। तर छानोबिनाको 'चेअर लिफ्ट' मा मानिसहरू त्यसरी झुन्डिएको देख्नु धेरैका लागि दुःस्वप्नजस्तै थियो।
तर पूर्वी मानसेहरा तथा पाकिस्तान प्रशासित काश्मीरदेखि उत्तरमा पाकिस्तान प्रशासित गिल्गिट-बाल्टिस्तानसम्म 'कामचलाउ' केबलकारहरू व्यापक रूपमा प्रयोग गरिन्छ।
यी क्षेत्रहरूमा भौतिक पूर्वाधारहरू निकै कम छन्। विद्यालय र अन्य महत्त्वपूर्ण संरचनाहरू निकै टाढा छन्। त्यसैले छिटो यात्रा गर्नुपर्ने आवश्यकता परिपूर्ति गर्न त्यहाँ प्रायः रद्दी भइसकेको धातु प्रयोग गरेर केबलकार बनाइन्छ।
स्थानीय समुदायहरूले निर्माण र सञ्चालन गर्ने त्यस्ता केबलकारहरू प्रायः अवैधानिक हुन्छन्। तर ती सस्ता छन् र वैकल्पिक पूर्वाधारको अभावमा अस्तित्वमा छन्।
त्यसरी बनाइएका केबलकारमध्ये केहीमा सामान ओसार्ने ट्रकको माथिल्लो भाग प्रयोग भएको हुन्छ। उदाहरणका लागि, सुजुकीलाई मानिस र गाईबस्तु ओसारपसार गर्न प्रयोग गरिने ठूलो साधनको रूप दिन सकिन्छ। त्यसपछि त्यसलाई डोरीको सहायतामा तारमा जोडिन्छ। त्यस्ता तार फालिएका फलामबाट बनेका हुनसक्छन्।
जोखिमपूर्ण भए पनि मानिसहरूले प्रायः नदी पार गर्न वा पहाडी भेगका एउटाबाट अर्को उपत्यका जान तय गर्नुपर्ने पैदलयात्राको दूरी घटाउन केबलकार प्रयोग गर्छन्।

तस्बिर स्रोत, ALTAF HUSSAIN
यात्रा गर्न सजिलो साधन
मङ्गलवार केबलकार फसेको पहाडी क्षेत्र अल्लाईमा न त सडक छ न त अन्य आधारभूत सुविधा नै।
त्यहाँ एक स्थानीय बासिन्दाले केबुलकार निर्माण गर्न प्रशासनबाट अनुमति लिएका थिए। यो कुरा प्रहरीले बीबीसी न्यूजलाई पुष्टि गरेको छ।
गाउँलेहरूले "डली" भन्ने उक्त केबलकारले जाङ्ग्री गाउँलाई बाटाङ्गीसँग जोड्छ जहाँ एउटा सरकारी विद्यालय छ। सामान्यतया उक्त विद्यालयसम्म पुग्न दुई घण्टाको पैदल यात्रा गर्नुपर्थ्यो। केबलकारले त्यस समयावधिलाई चार मिनेटमा सीमित गरेको थियो।
प्रहरीले प्रत्येक महिना उक्त साधनको जाँच गर्ने गरेको बताए पनि बीबीसी न्यूजले यस दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
अल्लाईमा केबलकारको भाडा सस्तो हुनाले यो यातायातको आकर्षक माध्यम बनेको छ।
गाडीबाट यात्रा गर्नुभन्दा केबलकार चढ्नु कम खर्चिलो छ। यात्रा गर्दा दूरीअनुसार भाडा फरक हुन्छ। केबलकार चढेको न्यूनतम भाडा २० पाकिस्तानी रुपैयाँ हो।
एक स्थानीयवासी मोहब्बत शाहका अनुसार त्यहाँका मानिसहरू केबलकार चढ्ने जोखिम मोल्न तयार छन्। यसअघि यी विशेष सवारीसाधनमा कुनै समस्या नदेखिएकाले उक्त क्षेत्रवरिपरि यात्रा गर्न खोज्ने मानिसहरूका लागि यो एक राम्रो विकल्प थियो।
“हामीले एकतर्फी यात्राका लागि प्रतिव्यक्ति १० रुपैयाँ मात्र तिर्छौँ। यदि हामीले ट्याक्सी चढ्यौँ भने उहीँ दूरी पार गर्न २,००० रुपैयाँसम्म तिर्नुपर्छ,” उनले बीबीसीलाई बताए।
यसअघि त्यहाँको केबलकारमा कुनै समस्या देखिएको थिएन।

दुर्घटना
तर पाकिस्तानमा अरू ठाउँमा केबलकारहरू दुर्घटनामा परेका छन्।
सन् २०१७ मा पन्जाबको मुरीमा अवैध रूपमा सञ्चालित एउटा केबलकार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो। त्यो केबलकार एउटा खोँचमा खसेको थियो।
गत डिसेम्बरमा खैबर पख्तूनख्वाको एबटाबादमा केबलकारको तार चुँडिएपछि त्यसमा सवार १२ जना बालबालिकालाई उद्धार गर्नुपरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए।
ती बालबालिका विद्यालय जाँदै थिए र उद्धार नभएसम्म नदीबाट ६१ मिटरमाथि झुन्डिएको अवस्थामा फसेका थिए।
मङ्गलवारको घटनापछि पाकिस्तानका कार्यकारी प्रधानमन्त्री अनवर उल हक काकरले त्यस्ता “सबै निजी केबलकार सञ्चालन तथा प्रयोग गर्न सुरक्षित छन् या छैनन् भन्ने निरीक्षण गर्न” आदेश दिएका छन्।
तर नयाँ पूर्वाधार निर्माण गर्न उल्लेखनीय लगानी नगरिएसम्म पहाडी भेगमा जोखिमयुक्त केबलकार अधिकांश मानिसका लागि यातायातको प्रमुख साधन बन्ने क्रम जारी रहने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









