तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
निकल दोहन: ‘उनीहरूले हाम्रो भविष्यलाई बर्बाद पारिरहेका छन्’
- Author, भाल्ड्या बारापुत्री
- Role, बीबीसी न्यूज इन्डोनेशिया
स्टेनलेस स्टील, मोबाइल फोन र विद्युतीय कारको ब्याट्रीमा प्रयोग गरिने निकल जनजीवनको अनिवार्य हिस्सा हो। विश्व हरित सवारीसाधनहरूतर्फ उन्मुख भइरहेकाले यो धातुको माग उल्लेख्य रूपमा बढ्ने ठानिएको छ।
तर संरक्षणविद्हरूले विश्वको सबैभन्दा ठूलो निकल उत्पादक इन्डोनेशियामा निकलको उत्खननले वातावरणमा विध्वंश निम्तिने चेतावनी दिएका छन्।
दक्षिणपूर्वी इन्डोनेशियाको सुलावेसीमा पर्ने लाबेङ्की टापुमा अहिले रात्रिकालीन समय हो।
हामी टर्च र घरेलु तिर बोकिरहेका दुई जना पुरुषहरूलाई पछ्याइरहेका छौँ। उनीहरू समुद्रमा माछा, लब्स्टर र सी क्यूकम्बरलगायतका जीव मार्न हिँडेका हुन्।
माछाहरू कम सक्रिय हुने रातको समयमा सिकार गर्न रुचाउने उनीहरू बाजाउ आदिवासी समुदायका व्यक्तिहरू हुन्।
उनीहरू गोताखोर र सिकारका लागि प्रख्यात छन् तर आफ्नो परम्परागत जीवनशैली जोखिममा परिरहेको उनीहरूको चिन्ता छ।
“पानी अझै पनि सफा नै छ,” एक जना माझी टविङ भन्छन्।
“तर सधैँ अवस्था यस्तो रहँदैन… बर्खा याममा हाम्रो पानीमा निकलको फोहोर प्रवेश गर्छ र करेन्टले त्यसलाई यहाँसम्म ल्याइपुर्याउँछ।”
बढ्दो जोखिम
उनले सरकारले कदम नचालेको अवस्थामा निकल खानीको फोहोर समुद्रसम्म पुग्ने बताए।
त्यसबाट टापु र आसपासको समुद्री जीवन प्रणालीमा असर परिरहेको उनी बताउँछन्।
इन्डोनेशिया र अस्ट्रेलियासँग विश्वको सबैभन्दा ठूलो निकलको भण्डारण छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्व अझ विद्युतीय सवारीसाधनहरूतर्फ उन्मुख भइरहँदा रिचार्ज हुने ब्याट्रीहरूको आवश्यकता बढ्ने हुनाले निकलको माग सन् २०३० सम्ममा कम्तीमा ६५ प्रतिशतले बढ्ने जनाएको छ।
सो निकायले विश्वमा हुने उक्त धातुको मागको दुई तिहाइ इन्डोनेशियाले पूरा गर्ने अपेक्षा गरेको छ।
उक्त देशले अन्तर्राष्ट्रिय साझेदारहरूसँग निकल खानी तथा त्यसका प्रशोधन उद्योगका लागि अर्बौँ डलर बराबरको सम्झौता गरिसकेको छ।
इन्डोनेशिया सरकारका अनुसार हाल लाबेङ्की टापुभन्दा पारि रहेको नर्थ कोनावे रिजेन्सीमा झन्डै ५० वटा निकल उत्खनन गर्ने कम्पनीहरू छन्।
डुङ्गाबाट त्यहाँ पुग्न हामीलाई करिब एक घण्टा लाग्यो।
हामी त्यहाँ पुग्न लाग्दा, हरिया पहाडहरू खैरा भएका थिए भने जङ्गल फडानी गरिएका पहाडका भित्ताहरू देखिन्थे। एक्स्काभेटरहरूले खनिरहेका र लामा खालका डुङ्गाहरूले ‘नयाँ सुन’लाई बोकिरहेका दृश्य देखिन्थ्यो। हामीमुनिको पानी रातो र खैरो खालको थियो।
अर्को तटीय गाउँ बोएनागामा हामीले बाजाउ समुदायका अर्का माझी लुकम्यानलाई भेटायौँ। उनले आफ्नो घरनजिक अब माछा मार्न सक्ने अवस्था नभएको बताए।
“जब हामी पानीमुन्तिर छिर्छौँ, हामी केही देख्न सक्दैनौँ,” उनले घर पछाडिको खैरो पानीलाई देखाउँदै भने।
“हामी चट्टानमा ठोक्किन सक्छौँ।”
इन्धनको मूल्यका कारण उनलाई माछा मार्न टाढा जान अव्यावहारिक हुन थालेको छ र उनीहरूले केही गुनासा गर्न थाले त्यसमा प्रहरी समेत जोडिन आइपुग्छ।
डरलाग्दा सङ्केतहरू
निकल सङ्कलन गर्न ठूलो क्षेत्रफलका रूख कटान गरिनुपर्छ र जमिनमा खुला खाल्डो खन्नुपर्छ।
जमिनलाई स्थिर बनाउने रूखका जराहरू नहुँदा पानी परेको समयमा जमिन सजिलै बग्ने जोखिम हुन्छ।
सरकारी तथ्याङ्कले सन् २०२२ मा दक्षिणपूर्वी सुलावेसीमा कम्तीमा २१ बाढी र पहिरो गएको देखाउँछ।
खानी उत्खनन हुनुअघि सन् २००५ र सन् २००८ मा त्यस क्षेत्रमा त्यस्ता घटनाहरूको सङ्ख्या दुईदेखि तीन हुने विपद्सम्बन्धी राष्ट्रिय निकायले जनाएको छ।
उत्खनन प्रक्रियामा सोडियम साइनाइड र डीजलजस्ता रसायनहरूको प्रयोग गर्ने गरिन्छ।
त्यसले हबिब नाजार बुदुहाजस्ता स्थानीय संरक्षणवादीहरूलाई सुर्ता थप्ने गर्छ।
उनी फोहोर र पानी उपयुक्त ढङ्गले व्यवस्थापन नगरिँदा थिग्रिएको पदार्थ समुद्रमा मिसिने बताउँछन्।
उनले मलाई बाहुुबुलु टापुको १० माइल तटीय क्षेत्रमा आफूले लिएको भिडिओ देखाए, जसमा थिगरका कारण मुँगाका चट्टान ‘निस्सासिएका’ थिए।
उनी लाबेङ्कीमा पनि त्यस्तै हुन सक्ने आशङ्का गर्छन्।
सन् २००९ मा उनले कोरल रीफमा पाइने जायन्ट क्ल्यामहरूको संरक्षणका लागि एउटा समूह गठन गरे।
“उनीहरूले कहिल्यै पनि निकल प्रदूषणलाई जित्न सक्दैनन्। थिगरले उनीहरूलाई पुरिदिन्छ र नष्ट गरिदिन्छ।”
बोएनागानजिकैका निकल खानी कम्पनीहरूले प्रतिक्रियाका लागि हामीले गरेको अनुरोधको जबाफ दिएनन् तर हामीले इन्डोनेशियाको निकल माइनर्स असोसिएशनसँग कुरा गरेका छौँ।
उत्तरी कोनावाका आधाभन्दा बढी माइनिङ कम्पनीहरू त्यसका सदस्य छन्।
उक्त संस्थाकी महासचिव मेडी क्याट्रिनले उत्खननको अनुमति प्राप्त गर्न कम्पनीहरूले वृक्षारोपण गर्न सहमति जनाउनुपर्ने वा खानीको काम सम्पन्न भएपछि त्यो जमिनलाई पुरानै अवस्थामा फर्काइदिनुपर्ने बताएकी छन्।
“प्रश्न के हो भने, के कम्पनीहरूले पर्याप्त गरिरहेका छन्?” उनले अझै पनि वृक्षारोपण नगरिएका पहाडका पाटा रहेको स्वीकार गर्दै उनले भनिन्।
तर उनले स्वीकृति पाएका कम्पनीहरू मात्रै दोषी नभएका हुन सक्ने उल्लेख गर्दै भनिन्, “त्यो क्षेत्रमा धेरै गैरकानुनी गतिविधि पनि हुन्छन्।”
उनले उत्खननकर्ताहरूले नियम पालना गरेका या नगरेका भन्ने विषयमा जाँच गर्ने र तिनको प्रतिवेदन एवं वास्तविकता खुलाउने जिम्मेवारी सरकारको भएको बताइन्।
लाभहानिको लेखाजोखा
बोएनागा गाउँका प्रमुख जुफ्री अस्री लुकम्यान र हबिबभन्दा फरक ढङ्गले त्यहाँका अवस्थालाई हेर्छन्।
उनले खानीले समुदायमा फाइदा निम्त्याएको बताए।
“माछाकै मूल्यलाई हेर्नुहोस्,” उनले भने, “म माछा बेच्न सहरमा लैजान्न किनभने यहीँ नै उच्च मूल्य पर्याप्त हुन्छ। यी कम्पनीहरूलाई पनि माछा चाहिन्छ।”
उनका २१ वर्षका छोरा खानी कम्पनीनजिकै काम गर्छन् र बोएनागाका अरू परिवारजस्तै उनीहरूले मासिक ७० डलर क्षतिपूर्ति प्राप्त गर्छन्।
खानीसम्बन्धी गतिविधिले कुनै असहजता निम्त्याए त्यसलाई सम्बोधन गर्न वित्तीय सम्झौता गर्नु नौलो होइन।
खानीमा आवतजावत गर्ने क्रममा भारी सवारीसाधनहरू उनीहरूको घर नजिकैबाट गुड्छन्।
जुफ्रीले निकल उत्पादन वृद्धि भए आफूले प्राप्त गर्ने क्षतिपूर्तिको रकम पनि बढ्ने बताउँछन्।
राजधानी जाकार्तामा हामीले ट्रेन्ड एशिया नामक गैरसरकारी संस्थामा रही दिगो विकासका क्षेत्रमा काम गर्ने नोभिता इन्द्रीलाई भेट्यौँ।
उनले उच्च वातावरणीय मापदण्ड कायम गर्न र कडा नियम ल्याउन सरकारी निकायहरू “निक्कै कमजोर” रहेको बताइन्।
“अहिलेसम्म खनिज उत्खननसम्बन्धी दिगो अभिलेख हामीसँग छैन,” इन्द्रीले भनिन्।
“इन्डोनेशियाले गृहकार्य गर्नुपर्ने धेरै छ। कानुन कार्यान्वयनलाई बलियो बनाउनुपर्छ, उत्सर्जन मापदण्ड अभिवृद्धि गर्नुपर्छ र वातावरणीय नियमहरूलाई कार्यान्वयन गराउनुपर्छ।”
हामीले यसबारे इन्डोनेशियाको ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सल्लाहकार प्राध्यापक इरवान्डी आरिफलाई पनि सोध्यौँ।
उनले सरकार खानीका कारण उक्त तटीय क्षेत्रमा उत्पन्न थिगरका बारेमा मात्र नभई सम्पूर्ण इन्डोनेशियामा देखिएका समस्याका कारण चिन्तित रहेको बताए।
तर उनले अनुमतिप्राप्त निकल खानीका कारण नभई अन्य कम्पनीका कारण प्रदूषण भएको बताए।
नियमहरूका कारण वैधानिक खानी सञ्चालकहरूबाटै समुद्रमा घातक केही पनि नपुगोस् भनेर पानी व्यवस्थापन प्रणाली जडान गर्नुपर्ने भन्दै उनले नियम तोडेर आफूलाई प्राप्त अनुमतिमाथि उनीहरूले जोखिम नउठाउने उनले बताए।
तर गैरकानुनी ढङ्गले सञ्चालन भएका र सुरक्षा उपाय नअपनाइएका खानीमा जमिन कमजोर हुने उनले बताए।
उनले नियम मिच्ने कसैलाई पनि निकल बेच्न नदिइने भन्दै बोएनागा क्षेत्रका दुई गैरकानुनी खानीकर्ताहरूलाई अदालतमा लगिएको बताए।
तर प्राध्यापक आरिफले थप निरीक्षण आवश्यक रहेको बताए।
“इन्डोनेशियामा गैरकानुनी खानी सर्वत्र छ,” उनले भने, “त्यही भएर हामीले तीनलाई राम्रोसँग नियमन गर्न सकिरहेका छैनौँ। हामीले कुन कानुनी हुन् र कुन गैरकानुनी हुन् भनेर किटान गर्न सक्यौँ भने वातावरणमा हुने क्षति कम गर्न सक्छौँ।”
हालै इन्डोनेशियाको सरकारले एउटा राष्ट्रिय गैरकानुनी खानी नियन्त्रण गर्ने कार्यदल गठन गरेको थियो।
तर हामीले कुराकानी गरेका बाजाउ समुदायका धेरै मानिसहरू तुरुन्तै परिवर्तनहरू नभइरहेका बताउँछन्।
अवस्था यस्तै रहे अहिले पुगेको क्षतिलाई पूर्ति गर्न सक्ने अवस्था नहुने उनले बताए।
“उनीहरूले जे ध्वश्त पारिरहेका छन्, त्यो हाम्रो भविष्य हो,” उनले भने।