आमा र छोरी पहिलो पटक एकसाथ अन्तरिक्षमा जाँदै

यूकेको एबरडिन यूनिभर्सिटीकी एक १८ वर्षीया छात्रा र उनकी आमाले भर्जिन ग्यालेक्टिकको दोस्रो व्यावसायिक अन्तरिक्ष उडानमा सहभागी हुन पाउने चिट्ठा जितेका छन्।

उनीहरूले यही साता अन्तरिक्षको यात्रा गर्ने अवसर पाउने भएका छन्।

एनेस्टेसिया मेयर्स र उनकी आमा केइशा शाहाफ सँगै अन्तरिक्षमा जाने पहिलो आमा र छोरी हुने छन्।

क्यारबिअन क्षेत्रबाट अन्तरिक्षमा पुग्ने पनि उनीहरू नै पहिलो मानिस बन्नेछन्।

केइशाले आफ्नी छोरीको भिसा सम्बन्धी समस्या समाधान गर्न यूकेको यात्रा गर्दै गर्दा उक्त प्रतिस्पर्धामा प्रवेश गरेकी हुन्।

उनी एन्टिगाबाट लन्डनका लागि भर्जिन एटलान्टिकको हवाई यात्राको उडानमा छँदा अचानक एउटा विज्ञापनमा उनको आँखा पर्‍यो।

"मैले त्यो सम्भावित अवसरका लागि आवेदन दिएको थिएँ। त्यसको केही महिनापछि अचानक मलाई शीर्ष २० जनामा परेको जानकारी प्राप्त भयो र त्यसको केही समयपछि शीर्ष पाँच हुँदै विजेता बनेको खबर पाएँ," उनी भन्छिन्।

" एकदिन अचानक, मेरो आँगनमा को हिँडिरहेको थियो थाहा छ? रिचर्ड ब्रानसन। उनको पूरै टोली 'तिमी विजेता हौ र अन्तरिक्षमा जाँदै छौ' भन्दै मेरो घरमा पस्यो।”

एनेस्टेसिया भने क्यारबिअनबाट पढ्नका लागि स्कटल्यान्ड जाने आफ्नो निर्णयका कारण अन्तरिक्षमा जाने अवसर प्राप्त भएको बताउँछिन्।

“यदि मैले संयोगवश एबरडीन युनिभर्सिटी नरोजेको भए र भिसाका लागि अधिक मिहेनत नगरेको भए हामीले अन्तरिक्षमा जाने अवसर पाउने थिएनौँ,” उनी भन्छिन्।

"मलाई लाग्छ हामी यहाँसम्म पुग्नका लागि निश्चित समयमा थुप्रै अवस्थाहरूबाट गुज्रनुपर्‍यो।”

दर्शन तथा भौतिकशास्त्र दोस्रो वर्षमा अध्ययनरत उनी स्कटल्यान्डमा अध्ययन गर्न आउनु आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय भएको बताउँछिन्। सोही निर्णयले थुप्रै "असाधारण घटनाक्रमसम्म डोर्‍याएको" उनको बुझाई छ।

यी आमाछोरीले बिहीवार अमेरिकाको न्यू मेक्सिकोबाट अन्तरिक्ष तर्फ प्रस्थान गर्नेछन्।

ग्यालेक्टिक ०२ नाम दिइएको यो अभियान अमेरिकी अन्तरिक्ष कम्पनीले सञ्चालन गरेको दोस्रो व्यावसायिक अन्तरिक्ष उडान हो। यसका लागि अन्य यात्रुहरूले शुल्क तिरेका छन्।

विज्ञापनमा जनाएअनुसार रकेटमा उडानका लागि चार लाख पचास हजार डलरभन्दा बढी खर्च लाग्छ।

ग्यालेक्टिक ०१ मिसन गत जुन महिनामा भएको थियो। यो २,७९,००० फिटको उचाइमा पुगेको थियो। दोस्रो मिसनले पनि त्यही मार्ग लिने अनुमान गरिएको छ।

'चन्द्रमाभन्दा माथि'

अन्तरिक्षमा जाने दोस्रो सर्वाधिक कान्छी व्यक्ति बन्ने एनेस्टेसियाले आफ्नो यात्रा अनुभवले अरूलाई प्रेरित गर्न सक्ने आशा व्यक्त गरेकी छन्।

"यो अनुभव मेरा लागि स्कटल्यान्डमा होस या एन्टिगामा दुवै ठाउँमा वा मेरो सम्बन्ध नभएको जुनसुकै ठाउँमा धेरै महत्त्वपूर्ण हुनेछ," उनी भन्छिन्।

"मलाई मानिसहरूले हामीलाई हेरिरहेका छन् र समर्थन गरिरहेका छन् भन्ने विश्वास छ।

"मेरो उद्देश्य भनेको हामीले आफ्नै लागि वा संसारले हाम्रा लागि सिर्जना गरेको कुनै पनि बाधा अड्चन तोड्नु हो।

"तपाईँ कहाँको हो, तपाईँ को हो वा यस्ता कुनै पनि कुराले अर्थ राख्दैनन्। तपाईँको सपना महत्त्वपूर्ण विषय हो र जसले जे भने पनि तपाईँ यसलाई पूरा गर्न सक्नुहुन्छ। मानिसहरूले यो बुझ्न आवश्यक छ।“

केइशा थप्छिन्: "म र मेरी छोरीका लागि यो सपना पूरा हुनुभन्दा पनि ठूलो कुरा हो।

"उनी मेरी सन्तान हुन्। म उसलाई अन्तर हृदयदेखि प्रेम गर्छु। झन् हामी दुवैको लक्ष्य र सपना पनि एउटै छ- चन्द्रमाभन्दा माथि पुग्नु।“

यो जोडीसँगै न्यूक्यासलका पूर्व टिम जीबी ओलम्पियन जोन गुडविन पनि यात्रामा सामेल हुनेछन्। उनी अन्तरिक्षमा जाने पार्किन्सन्स भएका दोस्रो व्यक्ति तथा पहिलो ओलम्पियन बन्नेछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।