सूर्यतर्फ जाँदै गरेको भारतको आदित्य-L1 सौर्ययानले पहिलो तस्बिर पठायो

भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ।

भारतको अन्तरिक्ष अभियान आदित्य-L1ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ। यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो।

यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ।

चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो।

बिहीवार बिहान इसरोले आदित्य-L1मा जडित क्यामराबाट सेप्टेम्बर ४ मा लिइएका दुई वटा तस्बिर सार्वजनिक गर्‍यो।

त्यसमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ।

दोस्रो तस्बिर चाहिँ 'सेल्फी' हो। त्यसमा सूर्यतर्फ गइरहेको अन्तरिक्षयानमा रहेका सात वटा वैज्ञानिक उपकरणहरूमध्ये दुई वटा उपकरण देखिन्छन्।

सौर्य प्रणालीको सबैभन्दा ठूलो वस्तु अध्ययनका लागि भारतले पठाएको अन्तरिक्षमा आधारित पहिलो अभियानको नाम पनि सूर्यको नामबाट राखिएको छ।

हिन्दू धर्ममा देवताको रूपमा पुजिने सूर्यलाई आदित्य नामले पनि चिनिन्छ। L1 को अर्थ लाग्रान्ज विन्दु १ हो। यही विन्दुतर्फ भारतको अन्तरिक्षयान गइरहेको छ।

युरोपेली अन्तरिक्ष निकायका अनुसार लाग्रान्ज यस्तो विन्दु हो जहाँ सूर्य र पृथ्वीजस्ता दुई ठूला वस्तुको गुरुत्वाकर्षण शक्तिले एक अर्काको शक्ति शून्य बनाउँछन् र त्यसका कारण अन्तरिक्षयान त्यहाँ अडिन सक्छ।

आदित्य-L1 आफ्नो अडिने स्थानमा पुगेपछि यसले सूर्यलाई फन्को मार्न सक्छ। यसले सूर्यलाई परिक्रमा गर्ने गति पनि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिबराबर हुन्छ।

यसको अर्थ उक्त भूउपग्रह सञ्चालन हुन निकै कम मात्र इन्धन आवश्यक पर्छ।

शनिवार प्रक्षेपण भएयता आदित्य-L1 ले पृथ्वीवरपर दुई फन्को मारिसकेको छ।

पृथ्वीको तीन फन्को मारिसकेपछि यसलाई L1 तर्फ पठाइन्छ।

यो सहज स्थानमा रहेर आदित्य-L1ले सूर्यलाई निरन्तर निगरानी गर्नुका साथै वैज्ञानिक अध्ययनहरू गर्नेछ।

इसरोले यो अभियानको लागतबारे केही खुलाएको छैन। तर भारतीय सञ्चार माध्यमहरूमा यसको खर्च छ अर्ब नेपाली रुपैयाँ बराबर भएको विवरण आएका छन्।

यसको अर्बिटरमा सात वटा वैज्ञानिक उपकरणहरू राखिएका छन् जसले सूर्यको बाहिरी तह, हामीले पृथ्वीबाट देख्ने सूर्यको सतह र क्रोमोस्फेयर भनिने यी दुई भागबीचको प्लाज्माको पातलो तहको अवलोकन र अध्ययन गर्नेछन्।

यो अध्ययनले वैज्ञानिकहरूलाई सूर्यको गतिविधि, त्यहाँको हावा र सूर्यको ज्वालाबारे बुझ्न मद्दत गर्छ। वैज्ञानिकहरूले त्यसले पृथ्वीमा पार्ने प्रभाव र वरपरको अन्तरिक्ष क्षेत्रको मौसमबारे पनि प्रत्यक्ष जानकारी लिन सक्छन्।

वैज्ञानिकहरूका अनुसार हाम्रो जीवन आश्रित रहेको ताराबारे पनि राम्रोसँग बुझ्न आदित्य-L1ले सहयोग गर्नेछ।

आदित्य-L1 सफल भएको अवस्थामा सूर्यको अध्ययन गरिरहेका सीमित देशहरूमा भारत पनि थपिनेछ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् १९६०को दशकबाट सूर्यको निगरानी गरिरहेको छ। जापानले पनि सन् १९८१ मै सूर्यको ज्वाला अध्ययन गर्न आफ्नो अन्तरिक्षयान प्रक्षेपण गरेको थियो। युरोपेली अन्तरिक्ष निकाय ईएसएले पनि सन् १९९०को दशकबाट सूर्यको अवलोकन गरिरहेको छ।

सन् २०२० को फेब्रुअरीमा नासा र ईएसएले संयुक्त रूपमा सोलर अर्बिटर प्रक्षेपण गरेका थिए। उक्त अर्बिटरले नजिकबाट सूर्यको अध्ययन गरिरहेको छ र वैज्ञानिकहरूका अनुसार यसले सूर्यको गतिशीलताबारे बुझ्न सहयोग गरिरहेको छ।

सन् २०२१ मा नासाको सबैभन्दा नयाँ अन्तरिक्षयान ‘पार्कर सोलर प्रोब’ले कोरोना भनिने सूर्यको बाहिरी वायुमण्डलसम्म उडान गरेर इतिहास बनाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।