साताभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना, चट्याङबाट जोगिन विज्ञको आग्रह

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

उनीहरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास विकास भएको न्यूनचापीय प्रणाली सक्रिय छ।

शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको उनीहरूको भनाइ छ।

मौसमविद्हरूले यसलाई मनसुनपूर्वको अर्थात् 'प्री-मनसुन' वर्षा भनेका छन्।

दैशैभरि डढेलो लागेकाले त्यसको न्यूनीकरणमा यो वर्षाले महत्त्वपूर्ण योगदान गर्न सक्ने ठानिएको छ।

यद्यपि कतिपय स्थानमा चट्याङका कारण मानिसहरूको ज्यान गएको खबर पनि आएका छन्।

विज्ञहरू यो मौसममा उच्च गतिको हावाहुरी चल्ने र चट्याङ पर्ने भएकाले त्यस्ता गतिविधिबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्छन्।

यो साताको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी यो सातामा देशैभरि पूर्ण तथा आंशिक वर्षाको सम्भावना रहेको बताउँछन्।

उनी भन्छन्, "शुक्रवारसम्म अहिलेकै प्रणालीहरूका कारण वर्षाको सम्मावना छ भने शनिवारदेखि पश्चिमी वायु अझ सक्रिय हुने देखिन्छ।"

"त्यसले अर्को साता पनि वर्षा हुने हामीले पूर्वानुमान गरेका छौँ। यस बेला विशेष गरी उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातको सम्भावना पनि छ।"

महाशाखाले जारी गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि नेपालमा यो साताभरि नै बदली रहने उल्लेख छ।

त्यसमा भनिएको छ,"देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।"

"देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।"

चट्याङ र हावाहुरीबाट क्षति

प्री-मनसुनको समयमा नेपालमा चट्याङ र हावाहुरीका घटनाहरू धेरै हुने गरेको विज्ञहरू बताउँछन्।

विशेष गरी नेपालमा चैतदेखि जेठसम्म चट्याङ धेरै पर्ने गरेको बताइन्छ। चट्याङका कारण बर्सेनि ठूलो जनधनको क्षति पनि हुने गरेको छ।

तर अझै पनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम उस्तै रहेको देखिएको विज्ञहरू बताउँछन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार वैशाख लागेयता चट्याङका ४१ घटनामा परेर ७ जनाको निधन भइसकेको छ भने ३१ जना घाइते भएका छन्।

त्यस अवधिमा ५२ घरपरिवार चट्याङबाट प्रभावित भएको र एउटा घरमा पूर्ण एवं तीन वटा घरमा आंशिक क्षति भएको छ।

उक्त केन्द्रका अनुसार विगत तीन वर्षमा चट्याङबाट एक सय ५३ जनाको निधन भइसकेको छ।

कुन बेला धेरै चट्याङ पर्छ?

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार नेपालमा चट्याङबाट हुने मानवीय क्षति अझै न्यून हुन सकेको छैन। त्यसका लागि सबैले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

उनका अनुसार एउटा अध्ययनले चट्याङका दृष्टिले नेपाल विश्वकै चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ।

नेपालमा १० लाख मानिसमध्ये चार जनाको चट्याङका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ।

चट्याङका कारण विद्युतीय सामग्रीको अतिरिक्त घरमा आगलागी भई हुने भौतिक क्षतिले ठूलो धनराशि नोक्सान पनि हुन्छ।

शर्मा सन् २०२२ मा गरिएको एउटा अध्ययनले नेपालको पहाडी र चुरे क्षेत्रमा सामान्यतया दिउँसो २ बजेपछि चट्याङ पर्ने गरेको र अपराह्ण ४ बजेदेखि ६ बजेसम्म त्यसको मात्रा धेरै हुने देखाएको बताउँछन्।

उनी भन्छन्, "तराईका हकमा त्यो समय फरक छ र बेलुका ७ वा ८ बजेदेखि मध्यरातमा धेरै चट्याङ पर्ने देखिएको छ।"

बच्न के गर्ने?

शर्माले चट्याङ पर्न सक्ने परिस्थिति हेरेर बच्नका लागि उपाय अपनाउनु पर्ने सुझाव दिएका छन्।

उनका भनाइमा पहाड र चुरे क्षेत्रमा चट्याङबाट धेरै मानवीय क्षति हुने गरेको देखिन्छ।

त्यसको सम्भावित कारणबारे उनी भन्छन्, "पहाडी क्षेत्रमा दिउँसो घरबाहिर काम गरिरहेको अवस्थामा चट्याङ लागेर त्यस्तो भएको हुनसक्छ। तराईमा राति सबै घरमा हुने भएकाले पनि कम देखिएको होला।"

उनी चट्याङ बढी पर्ने दिउँसोको समयमा घर बाहिर ननिस्कन र सतर्कता अपनाउन आग्रह गर्छन्।

त्यस्तै घर बनाउँदा पनि चट्याङप्रतिरोधी बनाउनुपर्ने उनको सुझाव छ।

घरको माथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सकिने उनी बताउँछन्।

त्यस्तै रुखहरू तथा पोलहरू नजिकै नबस्न पनि उनी आग्रह गर्छन्।

चट्याङको मात्रा घट्दो

शर्माका अनुसार सन् २०१९ पछि नेपालमा चट्याङको सङ्ख्या कम हुँदै गएको जस्तो देखिएको छ।

यद्यपि उनी भछन्, "सन् २०१५-१६ तिर चट्याङको मात्र निकै बढेको थियो। त्यसपछिका वर्षमा केही घटेर सन् २०१९ तिर बढेको थियो तर फेरि सन् २०२० देखि केही कम भएको देखिएको छ।"

उनले त्यसका विभिन्न कारण हुन सक्ने ठानेका छन्।

शर्माका भनाइमा जलवायु परिवर्तनका कारण सतहको तापक्रम बढ्दा चट्याङ पर्ने क्रम पनि बढी हुने सम्भावना रहन्छ।

त्यस्तै प्रदूषणले पनि चट्याङ बढाउन भूमिका खेल्न सक्छ।

"त्यस्तै चट्याङ पर्दा हरितगृह ग्यास उत्सर्जन हुने भएकाले त्यसले फेरि जलवायु परिवर्तनलाई नै योगदान गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।