तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विद्युत् प्राधिकरण भन्छः लक्ष्मीपूजामा माथिल्लो तामाकोशी नचल्दाको असर 'कत्ति पनि पर्दैन'
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालको सबैभन्दा ठूलो विजुली उत्पादक माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अवरुद्ध रहे तापनि धेरैतिर झिलिमिली बत्तीले उज्यालो पारिने लक्ष्मीपूजाका दिन त्यसको असर 'कत्ति पनि नपर्ने' नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
बीबीसीसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भन्छन्: "लक्ष्मीपूजाका बेला घरेलु खपत मात्र बढी हुने हो। उद्योग तथा कलकारखाना, कार्यालय तथा व्यवसाय सबै बन्द हुने अवस्थामा हुने भएकाले त्यसबाट हुने ऊर्जा बचत घरेलु वर्गमा पर्याप्त पुग्छ।"
उनले बिहीवार बिजुली अभाव हुने कुनै सम्भावना नरहेको र इन्डियन एनर्जी एक्सेन्ज लिमिटेडमार्फत् भारतीय ऊर्जा बजारमा कम्तीमा २८३ मेगावाट भन्दा बढ्ता निर्यात समेत हुने बताए।
प्राधिकरणको विवरण अनुसार गत वर्ष लक्ष्मीपूजाका दिन नेपालमा १,४३६ मेगावाटसम्म विद्युत् खपत भएको थियो।
वर्षभरिको सबैभन्दा उच्च बिजुली माग हुने दिन लक्ष्मीपूजा भने नरहेको अधिकारीहरू बताउँछन्।
प्राधिकरणको भार प्रेषण केन्द्रको नेतृत्व गरिसकेका एकजना विज्ञले दशैँ-तिहारको समय नेपालमा विद्युत् खपतका हिसाबले 'अफ सीजन' समेत हुने भन्दै बाढीका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना अवरुद्ध हुँदैमा तिहारमै त्यसको असर परिहाल्ने अवस्था नआउने बताउँछन्।
सुरेशबहादुर भट्टराई भन्छन्: "बर्सेनि एक-डेढ सय मेगावाटले यो दिनको माग बढिरहेको देखिन्छ। यो वर्ष चिसो केही छिटै सुरु भएकाले थप केही बढ्ला। तर तामाकोशी नहुँदाको असर देखिहाल्ने अवस्था होइन।"
माथिल्लो तामाकोशी बाहेक पूर्वी नेपालको काबेली करिडोरको प्रसारण लाइन र अन्य केही निजी आयोजनामा समेत गरेर यसअघि आइरहेको करिब ७ सय मेगावाट बिजुली हाल अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ।
तर पनि अझै करिब दुई हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा कायम रहेको प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। हिउँद बढ्दै जाँदा विद्युत् आयोजनाका उत्पादन क्षमता आउँदा दिनमा थप घट्दै समेत जानेछन्।
सकसदेखि सहज लक्ष्मीपूजा
गत वर्ष लक्ष्मीपूजाका दिन नेपालले भारतीय ऊर्जा बजारमा ५१७ मेगावाट बिजुली बेच्न समेत सकेको थियो।
यो वर्ष माथिल्लो तामाकोशीमा पुगेको क्षतिका कारण त्यसमा भने उल्लेख्य कमी आउने अधिकारीहरू बताउँछन्।
त्यसअघि लक्ष्मीपूजाका दिन २०७९ सालमा १,३०५ मेगावाट, २०७८ सालमा १,२७० मेगावाट, २०७७ सालमा १,१३२ मेगावाट, २०७६ सालमा ११२९ मेगावाट, २०७५ सालमा १०९७ मेगावाट विद्युत् खपत भएका थिए।
हालको अवस्थामा दिनको सर्वाधिक बिजुली खपत हुने बेलामा १६००-१७०० मेगावाटसम्म विद्युत् आवश्यक पर्ने गरेको प्राधिकरणका प्रवक्ता घोष बताउँछन्।
"अहिले भने मौसमका हिसाबले समेत नेपालमा कम ऊर्जा खपत हुने समय हो। त्यसैले हाम्रो उत्पादन अवस्था हेरेर हाल दैनिक ३५० मेगावाटसम्म निर्यात गरिरहेका छौँ," प्रवक्ता घोष भन्छन्।
२०७३ सालको लक्ष्मीपूजाकै दिन नेपाललाई 'लोडसेडिङ' मुक्त घोषणा गर्नुअघि भने सरकारले ऊर्जाको उपलब्धतालाई मध्यनजर गर्दै अनावश्यक रूपमा झिलिमिली बत्ती नबाल्न र भारी विद्युतीय उपकरण नचलाउन आग्रह गर्ने गर्थ्यो।
विद्युत् नै अभाव भएको भन्दै विगत केही वर्षमा लक्ष्मीपूजामा आपूर्ति गर्न प्राधिकरणले थर्मल प्लान्ट समेत तयारी अवस्थामा राख्ने गर्थ्यो।
केही अघिका वर्षमा विद्युत् नपुग्दा वितरण केन्द्रहरूमा बसेर त्यसको सन्तुलन कायम गरिरहनुपर्ने जस्तो अवस्था अब नरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
वर्षमा हिउँद र गर्मीयाममा नेपालमा दुई पटकजसो 'पीक लोड' देखिने गरेको र त्यो झण्डै २,२०० मेगावाट आसपास रहेको प्राधिकरणले जनाएको छ।
घोष भन्छन्: "त्यसबेला हामीले माग र आपूर्तिको सन्तुलन मिलाउनुपर्ने हुन्छ। सबैलाई मागे जति दिन सकिने अवस्था होइन।"
'बत्तीको भार ठूलो हुँदैन'
ऊर्जाविज्ञ सुरेशबहादुर भट्टराईले औद्योगिक भार कम हुँदाको अवस्थामा बत्ती मात्र बालेको भरमा प्राधिकरणको प्रणालीमा चाप नपर्ने बताउँछन्।
तर अन्य बेला नेपालमा घरसायी, औद्योगिक र निर्यात एकसाथ राखेर प्रणालीमा पर्ने भारको मूल्याङ्कन हुने गरेको उनी बताउँछन्।
"लक्ष्मीपूजाका दिन नेपालमा औद्योगिक भार त हुँदैन नै भारतमा समेत अतिरिक्त माग कम हुने गर्छ। त्यसैले एक दिनअघि बोलकबोल गरेर विक्री गरिँदा पाइने मूल्य पनि कम हुन्छ," भट्टराई भन्छन्।
उनले हाल नेपालको औद्योगिकसहितको आन्तरिक खपत झन्डै २,२०० मेगावाट भए पनि त्यो बर्सेनि बढ्ने र सोही अनुपातमा उत्पादन समेत बढिरहने भएकाले धेरै चिन्तित नहुनुपर्ने बताउँछन्।
भट्टराई थप्छन्: "३,२०० मेगावाट जडित क्षमता नाघिसके पनि सबै आयोजना सधैँ पूर्ण क्षमतामा चल्दैनन्। यद्यपि नेपालको प्रणालीमा यसअघि झन्डै आठ सय मेगावाटसम्म भारतलाई विद्युत् विक्री गर्दा २,८०० मेगावाट जतिको लोडको अवस्था हामीले देख्यौँ।"
असारदेखि कार्तिक नेपालमा क्षमताको आसपासमै रहेर पर्याप्त विद्युत् उत्पादन हुने समय रहेको बताइन्छ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले पछिल्लो समय विद्युत उपभोगको प्रवृत्ति समेत फेरिएको बताउँछन्।
"बरु यतिखेर ठूलो माग विद्युतीय गाडीहरूबाट देखा परिरहेको छ। त्यसले हाम्रो प्रतिव्यक्ति विद्युत् खपत पनि बढ्दो क्रममा छ," उनी भन्छन्।
पछिल्लो समय कम ऊर्जा खपत गर्ने झिलिमिली बत्तीहरू बजारमा आइरहनुले पनि लक्ष्मीपूजामै बिजुलीको चिन्ता गर्नुपर्ने पुरानो अवस्थाबाट धेरै अगाडि बढिसकेको घोष बताउँछन्।
आसन्न चुनौती
हिउँद लागेसँगै उत्पादन जलप्रवाहमा उच्च निर्भर नेपालको जलविद्युत् परियोजनाको उत्पादनमा उल्लेख्य कमी आउनेछ।
कुनै कुनै हिउँदमा क्षमताको करिब एक तिहाइ मात्र विद्युत् उत्पादन भएको विगत समेत नेपालमा देखिन्छ।
जससँगै निर्यात रोकिने र देशभित्र ऊर्जा व्यवस्थापनको चुनौती देखिन सक्ने चेतावनी प्राधिकरणले यसअघि नै दिएको छ।
नेपालको कुल विद्युत् जडान क्षमता झण्डै ३,२०० रहे तापनि असोजको विध्वंसकारी वर्षाको मार खेपेको माथिल्लो तामाकोशी अझै सञ्चालनमा नआउँदा र अन्यत्र समेत विद्युत् पूर्वाधारहरूमा परेका साना-ठूला असर बिजुली कम हुन थाल्दाको अवस्थामा चुनौती बनेको छ।
हिउँदमा बढ्ने मागबीच निर्धक्क आन्तरिक खपत, भारतलाई द्विपक्षीय मध्यकालीन सम्झौता अनुसारको विक्री सहितको हिसाब गर्दा २६-२७ सय मेगावाटसम्म पुग्ने गरेको प्राधिकरणले जनाएको छ।
त्यसबेला नेपालले भारतबाट बिजुली किन्ने गरेको छ। भारतको प्रतिस्पर्धी विद्युत् बजारबाट आठ सय मेगावाटसम्म विद्युत् किन्न सकिने व्यवस्था छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।