एकैपटक धेरैतिर झ्याप्प बिजुली जाँदा लोडशेडिङ बिउँतिने चिन्ता, प्राधिकरण भन्छ 'त्यस्तो अवस्था छैन'

विद्युत् सबस्टेशन

तस्बिर स्रोत, NEA

बिहीवार साँझ ६ बजेतिर राजधानीसहित देशका विभिन्न भागमा दुईदेखि तीन घण्टासम्म विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण मानिसहरू निकै असन्तुष्ट देखिएका छन्। नेपाल विद्युत् प्राधिकरणका प्रमुख "विपद्‍का कारण प्राविधिक समस्या" उत्पन्न भएको तर त्यो 'लोडशेडिङ नभएको' बताएका छन्।

शक्तिशाली हुरीका कारण एउटा रूढ ढलेर ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनमा र सोही समयमा वीरगन्ज पश्चिमको लाइन पनि अवरुद्ध भएपछि धेरैतिर बिजुली गएको हितेन्द्रदेव शाक्यको दाबी छ। बिहीवारको परिस्थितिबाट जनतामा "त्रास र भ्रम फैलिएको" भन्दै उनले शुक्रवार पत्रकार सम्मेलन गरेर त्यसबारे बोलेका हुन्।

फेरि बिजुली काटिन वा लोडशेडिङ हुन सक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उनको उत्तर थियो : "लोडशेडिङ कहाँ आएको छ? बरु हामी भारतबाट बिजुली ल्याएर भए पनि औद्योगिक लोडशेडिङ समेत घटाउनुपर्छ भनेर लागेका छौँ।"

शाक्यले माघदेखि जेठसम्मको अवस्था देशको ऊर्जा क्षेत्रका लागि कमजोर रहेको भन्दै त्यस बेला भारतको सहयोगबिना माघदेखि जेठसम्म प्रणाली सञ्चालन गर्न गाह्रो रहेको बताए।

उनले यस्ता अवरोध नदोहोरिनका लागि प्राधिकरणको प्रणालीमा सुधार आवश्यक रहेको बताउँछन्। शाक्यले गत वर्ष समेत यही अवधिमा यस्तो समस्या देखा परेपछि समिति नै गठन गरिएको स्मरण गराउँदै यस्तो अवस्था नेपालका लागि नयाँ कुरा नभएको दाबी गरे।

"प्रणाली कमजोर भएका कारण बिजुली काटिने गरेको छ। उत्पादन जसरी बढेको छ त्यसअनुसार हामीले प्रसारणलाइनहरू विकास गरेनौँ," शाक्यले भने।

लोडशेडिङ हुँदैन भन्ने आधार कस्तो

नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण एकाइको नेतृत्व गरिसकेका एक विज्ञले सामान्य अवस्थामा नेपालमा घरमा पुनः लोडशेडिङ हुने अवस्था अब प्राधिकरणमा जोसुकै भए पनि सम्भव नहुने बताउँछन्।

"[सुक्खा याममा समेत] घरहरूलाई नेपालको बिजुलीले नै पुग्छ। हाम्रो ऊर्जा क्षेत्र अहिले त्यस अवस्थामा पुगेको छ," सुरेशबहादुर भट्टराईले बीबीसी न्यूज नेपालीसँग भने।

बीबीसीसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बिहीवारको घटना "नितान्त प्राविधिक" भएको तर त्यसलाई आफूहरूले "छिट्टै" समाधान गरिएको बताउँछन्।

"बत्ती जाँदैमा लोडशेडिङ भन्ने भाष्य गलत छ," प्रवक्ता शिल्पकार भन्छन्। "अबको केही सातामा त हामी विद्युत् बिक्रीमै जान्छौँ।"

नेपालमा अहिले दैनिक १,२०० देखि १,३०० मेगावाटसम्म विद्युत् उत्पादन हुने गरेको छ।

तर दैनिक माग २,००० मेगावाटसम्म पुग्ने अधिकारीहरू बताउँछन्।

विद्युत् पोलहरू मर्मत गर्दै नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारी, पृष्ठभूमिमा नीलो आकाश र सेता बादल

तस्बिर स्रोत, NEA

सबैभन्दा धेरै बिजुली माग हुने बेला नेपाल विद्युत् प्राधिकरणका आयोजनाबाट ४६० मेगावाट, प्राधिकरणले प्रवर्धन गरेका आयोजनाबाट ४८० मेगावाट, स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट ७५० मेगावाट विद्युत् उत्पादन भइरहेको प्रवक्ता शिल्पकार बताउँछन्।

"बिहीवारको 'पीक आवर'मा हामीले भारतबाट ५५ मेगावाट मात्र ल्याइरहेका थियौँ। तर वैशाख ३१ गतेको विवरण हेर्दा २४ घण्टामा हामीले अधिकतम आयात भने ६८९ मेगावाट गरेका छौँ," उनले भने।

विद्युत् माग उच्च हुने यस याममा 'पीक आवर'मा भारतले समेत विद्युत् निर्यातमा निकै कडाइ गर्ने गर्छ। त्यस्तोमा नेपालले आफ्नो जलाशययुक्त आयोजना कुलेखाली सञ्चालन गर्ने गर्छ।

त्यसै गरी जलप्रवाहमै आधारित भए पनि दैनिक घण्टौँ नदीको बाँधमा पानी थुनेर आवश्यकताअनुसार उच्च क्षमतामा बिजुली उत्पादन गर्न सकिने तामाकोशीजस्ता आयोजनाहरू सञ्चालनमा ल्याइन्छ।

नेपालको राष्ट्रिय प्रसारणलाइनमा यतिखेर कुल जडान क्षमता ३,५०० मेगावाट नाघेको छ। तर सुक्खा याममा एकतिहाइ कम उत्पादन हुने गरेको छ।

त्यस्तोमा भारतबाट आयात गरेर बिजुलीको सन्तुलन मिलाउने गरिएको छ भने त्यस्तो अवस्था नहुँदा उद्योगहरूमा बिजुली काट्ने गरिन्छ।

विद्युत् आपूर्तिमा समस्या किन

विद्युत् भार व्यवस्थापनसम्बन्धी अनुभव भएका सुरेशबहादुर भट्टराईका अनुसार अनुसार गर्मी यामका बेला माग बढ्ने र यही बेला विपद्हरू देखा पर्ने भएका भार व्यवस्थापनको काम चुनौतीपूर्ण हुन्छ।

"बिहीवार साँझ ढल्केबर-मुजफ्फर प्रसारणलाइन अचानक अवरुद्ध हुँदा तत्काल अन्यत्रबाट बिजुली आपूर्ति हुन सकेन अनि त्यसैले प्रणाली काम नगर्ने अवस्थामा पुग्यो," उनी भन्छन्।

तर उक्त घटनालाई लोडशेडिङ भन्न नहुनेमा उनी सहमत छन्।

"कहिलेकाहीँ प्राविधिक कारणले बिजुली रोकिएला तर सर्वसाधारणहरूका घरमा यतिखेर कसैले चाहेर पनि वा प्राधिकरण नेतृत्वमा जो आए पनि हुने अवस्था नेपालको होइन।"

ट्रान्सफर्मर मर्मत गर्दै नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

माग पूरा गर्ने उपाय के

उनले स्वतन्त्र ऊर्जा उत्पादकहरूले प्राधिकरणलाई बेच्ने प्रतिबद्धता जनाएको न्यूनतम बिजुली समेत सुक्खा याममा उत्पादन गर्न नसकिरहेको औँल्याउँछन्।

"त्यो चाहिँ व्यवस्थापकीयभन्दा पनि प्राकृतिक वा जलवायु परिवर्तनको कारण हो। बिहीवारका हकमा तामाकोशीजस्ता ठूला भार थेग्ने दुई-तीनवटा आयोजना भएको भए त्यो सहजै व्यवस्थापन हुन्थ्यो," भट्टराई भन्छन्।

'पीक आवर'को बिजुलीको भाउ महँगो हुने भएका कारण अत्यावश्यक बाहेक उद्योगहरूले त्यस बेला बिजुली पाउँदा समेत नलिने विकल्प रोज्ने जानकारहरू बताउँछन्।

यतिखेर कम उत्पादन हुने समय भएको र आसन्न बर्खाका लागि पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि यसबेला मर्मत सम्भारमा जाने समय समेत रहेको अधिकारीहरू बताउँछन्।

"अहिले हामीलाई खास चाहिएको भने 'पीक आवर'मा भार थेग्ने तामाकोशीजस्ता ठूला आयोजना हुन् जुन आउँदा ८-१० वर्ष नेपालमा आउने सम्भावना छैन," भट्टराई भन्छन्।

उनका अनुसार नेपालको विद्युत् जडान क्षमता ३,५०० मेगावाट नाघेको भए पनि सुक्खा याममा 'पीक आवर' का बेला विद्युत् आपूर्ति गर्न कुलेखानी, कालीगण्डकी, तामाकोशी, मर्स्याङ्दी आयोजनाले मात्र भरथेग गरेका छन्।

"पच्चीस मेगावाट क्षमताको स्वतन्त्र ऊर्जा उत्पादकको आयोजनाले ३ मेगावाट उत्पादन गरेको पनि मैले देखेको छु," उनी भन्छन्।

"तर त्यही मर्स्याङ्दी आयोजनाको हकमा हेर्ने हो भने पीक आवरमा पूरै ७० मेगावाट उत्पादन गरिरहेको हुन्छ। त्यस्तै तामकोशीले ४५६ मेगावाट, कालीगण्डकीले १४४ मेगावाट, त्रिशूलीले ६० मेगावाट नै गरी पूर्ण क्षमतामा उत्पादन गर्छन्। हाम्रो स्थिर विद्युत् प्रवाहलाई चाहिने आयोजना त्यस्ता हुन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।