तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अदालतको आदेशप्रति बम्किए ट्रम्प, पुनरावेदनमा मिल्यो सफलता
- Author, न्याटली शेर्मान
- Role, बीबीसी न्यूज
एक पुनरावेदन अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पले अहिलेका निम्ति आयातमा उनले लगाएका शुल्क ट्यारिफहरू सङ्कलन गरिराख्न अनुमति दिएको छ।
न्यूयोर्कस्थित वाणिज्य अदालतले उनले लगाएका अधिकांश विश्वव्यापी ट्यारिफ गैरकानुनी भनेको भोलिपल्ट पुनरावेदनमा ट्रम्पलाई राहत मिलेको हो।
ह्वाइट हाउसले वाणिज्य अदालतको आदेशमाथि मागेको अल्पकालीन स्थगनलाई एक सङ्घीय पुनरावेदन अदालतले स्वीकारेको छ।
वाणिज्य अदालतले ट्रम्पले व्यापक ट्यारिफ लगाउँदा राष्ट्रपतिलाई प्राप्त अधिकार उल्लङ्घन भएको उल्लेख गरेको थियो। साना व्यवसायहरू तथा केही राज्यहरूले ट्रम्पको ट्यारिफविरुद्ध कानुनी चुनौती पेश गरेका थिए।
बम्किए ट्रम्प
आफूले लगाएका विश्वव्यापी ट्यारिफविरुद्ध वाणिज्य अदालतको आदेशलाई राष्ट्रपति ट्रम्पले 'भयानक, त्रुटिपूर्ण तथा राजनीतिक' भनेर सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।
"आशा गरौँ, सर्वोच्च अदालतले यो भयानक अनि देशलाई खतरापूर्ण निर्णय चाँडो र निर्णायक तवरले उल्ट्याइदिनेछ," उनले लेखेका छन्।
वाणिज्य अदालत यूएस कोर्ट अफ इन्टर्न्याशनल ट्रेडले बुधवार दिएको आदेशलाई ट्रम्पका अधिकारीहरूले भर्त्सना गर्दै त्यसलाई न्यायिक क्षेत्रले कार्यकारीको अधिकारमा अतिक्रमण गरेको भनेका थिए।
आफ्नो पुनरावेदन निवेदनमा प्रशासनले वाणिज्य अदालतले बुधवार गरेको आदेशले राष्ट्रपतिका कार्यलाई वाधा पर्ने अनि महिनौँदेखि भइरहेका कठिन व्यापार वार्ताहरूका उपलब्धि उल्टने उल्लेख गरेका थिए।
"राजनीतिक अङ्ग, न कि अदालत, ले वैदेशिक नीति तथा आर्थिक नीति तय गर्छन्," निवेदनमा भनिएको थियो।
अब के हुन्छ?
पुनरावेदनमा राहत मिल्नु केही अगाडि बोल्दै ह्वाइट हाउसकी प्रवक्ता क्यारलिन लेभिटले भनेकी थिइन्: "यदि राष्ट्रपति ट्रम्प, वा जुनसुकै अन्य राष्ट्रपति, का संवेदनशील कूटनीतिक तथा व्यापार वार्तालाई अभियानकर्मीजस्ता न्यायाधीशहरूले उल्ट्याइदिने हो भने अमेरिका चल्न सक्दैन।"
बुधवार वाणिज्य अदालतको तीन न्यायाधीश सम्मिलित इजलासले गरेको फैसलामा ट्रम्पले ट्यारिफ लगाउनका निम्ति अघि सारेको सन् १९७७ को कानुन, इन्टर्न्याशनल इमरजेन्सी इकोनोमिक पावर्स एक्ट (आईईईपीए)ले उनलाई व्यापक ट्यारिफ लगाउने अधिकार दिँदैन भनिएको थियो।
उक्त अदालतले चीन, मेक्सिको तथा क्यानडाविरुद्ध ट्रम्प प्रशासनद्वारा 'अस्वीकार्य स्तरमा लागु औषध तथा अवैध आप्रवासी भित्रिएका' भन्दै लगाइएका भिन्नै शुल्कहरूमा पनि रोक लगाइदिएको थियो।
पुनरावेदन अदालतले बिहीवार गरेको निर्णयले तत्कालका निम्ति ट्यारिफ लगाउन प्रशासनले अनुमति पाएको छ। पुनरावेदन अदालतमा अर्को सुनुवाइ जुन ५ मा हुनेछ।
अर्को छुट्टै मुद्दामा अर्को सङ्घीय अदालत पनि वाणिज्य अदालतजस्तै निष्कर्षमा पुगेको छ। बिहीवार न्यायाधीश रुडोल्फ कोन्ट्रेराजले ती शुल्क राष्ट्रपतिको अधिकारभन्दा बाहिर भएको पाएका थिए। तर उनको आदेश केवल एक खेलौना कम्पनीको हकमा मात्र आएको थियो।
ट्रम्पका व्यापार सल्लाहका पिटर नभारोले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै भने: "तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ कि यदि हामी हार्यौँ (अदालतमा) भने पनि हामी (ट्यारिफ लगाउने) अर्को तरीका अपनाउँछौँ।"
सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको दफा २३२ अन्तर्गत राष्ट्रिय सुरक्षा चिन्ताको आडमा ट्रम्पले कार, स्टील तथा अलुमिनिअममा लगाएका ट्यारिफलाई अहिलेसम्म कुनै अदालतले उल्ट्याएको छैन।
सो कानुनको प्रयोग गरेर ट्रम्पले सेमिकन्डक्टर तथा अन्य वस्तुमा आयात शुल्क लगाइदिन सक्छन्। अन्य कानुनहरू पनि छन्।
तर अहिलेका निम्ति चाहिँ ह्वाइट हाउस विभिन्न अदालतका आदेशविरुद्ध ध्यान केन्द्रित गरिरहेको छ।
यो सम्पूर्ण मामिला आखिरमा सर्वोच्च अदालतमा पुग्ने धेरैको अपेक्षा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।