हलिवुड हिल्समा नयाँ डढेलो, अहिलेसम्म लस एन्जलसमा एक लाखभन्दा बढीको उद्धार

लस एन्जलसको हलिवुडको क्षेत्र नजिकै फैलिएको आगलागी नियन्त्रणको प्रयास गर्दै हेलिकोप्टर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लस एन्जलसको हलिवुडको क्षेत्र नजिकै फैलिएको आगो नियन्त्रणको प्रयासमा हेलिकोप्टरको प्रयोग भएको छ

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका छन् भने लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ।

नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई सङ्केत गर्ने चर्चित चिन्ह रहेको स्थान नजिकैको हलिवुड हिल्समा फैलिरहेको छ।

धनाढ्यहरूको बसोबास रहेका कैयौँ क्षेत्रहरू खाली गराइएकाले अधिकारीहरूले त्यहाँ लुटपाट हुनसक्ने चेतावनी जारी गरेका छन्।

एक हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको आगो तीव्र वेगको हावाका कारण फैलिएको थियो।

मालिबु क्षेत्रमा एउटा घरमा लागेको आगो

तस्बिर स्रोत, Reuters

सबैभन्दा खराब आगलागी पसिफिक प्यालिसेड्स क्षेत्रमा भएको छ जसलाई उक्त सहरको इतिहासकै विध्वंसकारी भनिएको छ।

अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिएको छैन र अग्नि नियन्त्रकहरूले पानीको चाप कम हुँदा आफूहरूलाई अप्ठेरो परिरहेको बताएका छन्।

राष्ट्रपति जो बाइडनले थप सहयोग उपलब्ध गराउन सेनालाई आदेश दिएका छन्।

कुन कुन ठाउँमा डढेलो फैलिएको छ?

लस एन्जलस र उसको छिमेकमा पर्ने भेन्टुरा काउन्टीमा कम्तिमा ६ वटा डढेलो फैलिएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लस एन्जलस र त्यहाँको छिमेकमा पर्ने भेन्टुरा काउन्टीमा कम्तिमा ६ वटा डढेलो फैलिएका छन्

प्यालीसेड्स, इटन, हर्स्ट र वुड्लीको आगो नियन्त्रणमा आएको छैन। पाँच जनाको ज्यान गएको र १ हजार भन्दा बढी संरचनामा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्।

भेन्टुरा काउन्टीमा डढेलो ११ एकर क्षेत्रफलमा फैलिएको जनाइएको छ। त्यसबाहेक बुधवार साँझबाट हलिवुड हिल्समा फैलिएको आगो एक घण्टा भन्दा कम समयमा २० एकरमा फैलिएको थियो।

इटन क्षेत्रको आगलागीका कारण १ लाख मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका थिए। प्यालीसेड्स क्षेत्रबाट ३७ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइएको थियो।

इटन क्षेत्रमा रहेको पासडिनाका मेयर भिक्टर गोर्डोले त्यहाँ १ लाख मानिसहरूलाई बाध्यकारी रूपमा सो स्थान खाली गर्न भनिएको र थप एक लाखलाई उनीहरू चाँडै उक्त स्थानबाट भाग्नुपर्ने चेतावनी दिइएको बताएका छन्।

आगो नियन्त्रण गर्ने प्रयास गर्दै एक जना अग्नि नियन्त्रक 

तस्बिर स्रोत, Reuters

सीटी म्यानेजर मिगल मार्केजले त्यहाँको पछिल्लो २२ घण्टा 'निर्मम' रहेको बताए।

घर घरमा पुगेर अग्निनियन्त्रकहरूले धेरै जनाको ज्यान जोगाएको भन्दै उनले उद्धारकर्ताहरूको प्रशंसा गरेका थिए।

पसिफिक प्यालीसेड्सको आगोलाई लस एन्जलस क्षेत्रकै सबैभन्दा खराब भनिएको छ। त्यो क्यालिफोर्निया राज्यकै सबैभन्दा खराब डढेलो बन्नसक्ने विवरण आएका छन्।

अधिकारीहरूले त्यहाँ कम्तीमा १ हजार भवनहरू नष्ट भइसकेको जनाएका छन्। लस एन्जलस रिजनल फायर सेफ काउन्सीलका अनुसार क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा ठूलो आगलागी सन् २०१८ मा वुलजी क्षेत्रमा भएको थियो र त्यसले १,१२१ संरचना जलाएको थियो।

कैयौं हलिवुड कलाकारहरूका निवास पनि जलेर नष्ट भएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कैयौं हलिवुड कलाकारहरूका निवास पनि जलेर नष्ट भएका छन्

प्यारिस हिल्टन, बिली क्रिस्टल जस्ता कैयौँ चर्चित कलाकारहरूका निवास नष्ट भएको जनाइएको छ। ज्यानुअरी १७ का लागि तय अस्करको मनोनयन कार्यक्रम दुई दिनपछि धकेलिएको छ।

क्यालिफोर्नियामा अन्य डढेलोका घटनामा धेरै जनाको ज्यान गएको छ र बढी क्षेत्रफलमा आगलागी गराएको छ। तर अहिले भवनहरूमा भइरहेको ध्वंसको स्तर निक्कै ठूलो छ।

'इतिहासकै सर्वाधिक विध्वंशकारी'

अग्नि नियन्त्रक पासडिना

तस्बिर स्रोत, Getty Images

लस एन्जलस सहरका पानी तथा ऊर्जा सम्बन्धी अधिकारीहरूले त्यहाँको पानी ठूला अग्नि नियन्त्रणको काममा भन्दा पनि सहरी प्रयोगका लागि भएको भन्दै ठूलो स्तरको डढेलोसँग जुध्नु परेकाले पानीको अभाव भएको बताएका छन्।

पसिफिक प्यालिसेड्स क्षेत्रमा सामान्य समयको माग भन्दा चार गुणा बढी निरन्तर १५ घण्टा पानीको आपूर्ति गरिएको र त्यसले पानीको चाप र धाराहरूलाई समेत प्रभावित पारेको भनिएको छ।

अधिकारीहरूले उक्त क्षेत्रमा पानी नै नभएको भन्दा पनि आगो नियन्त्रणका लागि ठूलो स्तरमा पानीको प्रयोग गरिदाँ ट्याङ्कीहरू फेरी भर्न कठिन भएको बताएका छन्। उक्त क्षेत्रमा पानीको आपूर्ति बढाइएको सहरकी पानी हेर्ने निकायकी प्रमुखले बताएकी छन्।

लस एन्जलसस्थित बीबीसीका उत्तर अमेरिकी संवाददाता डेविड विलिस भन्छन् यो उक्त सहरको इतिहासकै सबैभन्दा विध्वंसकारी रात रहेको थियो।

स्थानीय बासिन्दालाई शक्तिशाली हावाहुरीको आवाजले ब्युँझाएको थियो भने आकाश कालो धुँवाले ढाकिएको थियो।

आगलागी नियन्त्रणबाहिर रहेकाले सर्वत्र असहज वातावरण रहेको उनले उल्लेख गरेका छन्।

"मौसमी डढेलो नौलो कुरा होइन। तर म यहाँ बसेको २५ वर्षमा मैले यतिको नराम्रो केही पनि महसुस गरिन्," उनी भन्छन्।

भवनहरू भत्किएका छन्, मानिसहरूले ज्यान गुमाएका छन् तर यो भन्दा खराब परिस्थिति आउनै बाँकी रहेको चेतावनी दिइएको छ।

एकजना अग्नि नियन्त्रण प्रमुखले यसलाई 'व्यापक रूपमा फैलिएको विपद्' भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।