ओली सरकार 'अप्ठ्यारोमा परेको' भनाइबारे यस्तो छ कांग्रेस, एमाले र माओवादीको बुझाइ

प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, KP Oli Secretariat

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

सरकारको कामकारबाहीलाई लिएर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेताहरूले गरिरहेको आलोचनालाई एमाले नेताहरूले चाहिँ सरकारलाई सचेत गराउने प्रयास मात्रै भनेका छन्।

कांग्रेसका प्रभावशाली नेताहरूका सार्वजनिक आलोचनालाई बल पुग्ने गरी विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको "नयाँ वर्षसँगै नयाँ सरकार बन्न सक्ने" अभिव्यक्तिले गठबन्धनको आयुबारे अनेक आशङ्का र टीकाटिप्पणी जन्माएको छ।

अर्कातर्फ सडकमा राजसंस्था ब्युँताउन माग गर्दै राजावादीहरूले प्रदर्शन गरिरहेका छन् भने शिक्षक, सहकारी तथा लघुवित्त पीडित अनि आवासीय चिकित्सकहरूले विभिन्न माग राखेर दिनहुँ आन्दोलन गरिरहेका छन्।

के दुईतिहाइ बहुमतको समर्थनमा नौ महिनाअघि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको सरकार अप्ठ्यारोमा परेको हो?

नेकपा एमालेका सचिव रघुवीर महासेठ यसमा सत्यता नरहेको स्वीकार गर्छन्।

"केही कुराहरूमा उहाँ (कांग्रेस नेता)हरूको असन्तुष्टि हुन सक्छ," महासेठ भन्छन्। "सरकारमा बसेर काम गर्न कति अप्ठ्यारो छ। अहिले बोल्ने साथीहरू हिजो मन्त्री बनेर आउनुभएको छ। उहाँहरूले पनि बुझ्नुपर्ने कुरा हो। त्यसकारण सरकार ढल्ने कुनै सम्भावना छैन।"

अहिले 'देश दौडाहा'मा रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह जिल्ला चितवनमा पुगेर सरकार परिवर्तन हुन सक्ने र आवश्यक परे आफ्नो दलले कांग्रेसलाई समर्थन पनि गर्न सक्ने बताएको विवरण आएका थिए।

प्रचण्डसँगै नवलपरासीमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार कांग्रेस नेताहरूले पछिल्लो समय सरकारबारे गरिरहेको टिप्पणीका कारण पनि प्रचण्डले कांग्रेस-एमाले गठबन्धन नटिक्ने आकलन गरिरहेका छन्।

"सबै राजनीतिक घटनाक्रम विश्लेषण गर्दा सरकारले आफ्नो औचित्य गुमाइसकेको छ ," कांग्रेस नेताहरूको असन्तुष्टिको प्रसङ्ग उल्लेख गर्दै सापकोटा भन्छन्।

"अहिले सबै आन्दोलनको घेराबन्दीमा सरकार छ तर समस्या समाधानका लागि पाइला चालेको छैन।"

कांग्रेस नेताहरूको असन्तुष्टि

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताहरू

तस्बिर स्रोत, RSS

कांग्रेस महामन्त्री गगन थापा र अर्का प्रभावशाली नेता शेखर कोइरालासहित पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले प्रधानमन्त्रीको आलोचनामा सार्वजनिक अभिव्यक्ति दिएका विवरण आएका छन्।

सरकारको आलोचना गरिरहेकामध्ये कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सरकारलाई आफूहरूले ऐना देखाइदिएको बताउँछन्।

"कमजोरी केलाइएको हो। ऐना देखाइएको हो। बेठिक भइरहेको कुरा चाहिँ नजिक भइरहेकाले नै पहिला भन्ने हो," शर्माले बीबीसीसँग भने।

सरकारको आलोचना खुलेर देखिएका अर्का नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउद सरकारले परिणाम दिन नसकेको बताउँछन्।

"यो सरकार गठनको मूल औचित्य संविधान संशोधन गर्न सकोस् र मुलुकलाई स्थायित्व दिन सकोस् भन्ने नै हो। तर जनताका आशाअपेक्षाआकाङ्क्षा जसरी पूरा गर्नुपर्थ्यो….त्यतातिर सरकारको ध्यान केन्द्रित छ जस्तो लागेको छैन। त्यतातिर अघि बढ्न सकेको छैन," कांग्रेस नेता साउद बीबीसीसँग भन्छन्।

"अहिले जनतामा व्यापक असन्तुष्टि छ, एउटा कामप्रति अर्को संविधान संशोधनप्रति। यसले सरकारप्रति मानिसहरूको भरोसा घटेको छ र सत्ता साझेदारीका लागि मात्रै दुई प्रमुख पार्टीहरू सरकारमा सामेल हुनु चाहिँ औचित्यपूर्ण हुन सक्दैन।"

एनपी साउद
BBC
...सरकारप्रति मानिसहरूको भरोसा घटेको छ र सत्ता साझेदारीका लागि मात्रै दुई प्रमुख पार्टीहरू सरकारमा सामेल हुनु औचित्यपूर्ण हुन सक्दैन
एनपी साउद
नेपाली कांग्रेसका नेता

नेपाली कांग्रेसका नेताहरूले सरकारको नेतृत्त्वबारे सार्वजनिक आलोचना बढाउनुका पछाडि गठबन्धनमा खटपटभन्दा राजनीतिक भागबन्डा मुख्य कारण रहेको हुन सक्ने राजनीतिशास्त्रका प्राध्यापक जनार्दन आचार्यको बुझाइ छ।

"यो कुनै नतिजा ल्याउने घटना होइन। राष्ट्र ब्याङ्कको गभर्नर होला, राजदूतसहित कति पदहरू खाली होलान्, त्यसको लेनदेन होला। त्यसमा हुने मोलमोलाइका लागि चर्को कुरा भएको हो," उनी भन्छन्।

नेकपा एमालेका सचिव महासेठको कांग्रेस नेताहरूको आलोचनाबारे भन्छन्, "कांग्रेसभित्रको एउटा लबी खास गरी शेखर कोइरालाहरूले जसरी बाहिर बोलिरहनुभएको छ, भित्र त्यस्तो केही पनि होइन। उहाँहरूले बोलेर सरकारलाई सचेत गराउन खोज्नुभएको छ।"

सरकारको भविष्यबारे आशङ्का

मन्त्रिपरिषद् बैठक

तस्बिर स्रोत, KP Oli Secretariat

माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्तिका कारण सरकारको स्थायित्वबारे आशङ्का भइरहेका समयमा कांग्रेस र एमालेका नेताहरू भने गठबन्धन तलमाथि नहुने बताउँछन्।

"अहिलेको सरकारलाई निरन्तरता दिने तर सरकारको कार्यशैलीलाई बदलेर निरन्तरता दिने भन्ने कुरा आन्तरिक बैठकमा पनि भनिएको छ। सार्वजनिक रूपमा पनि दबाव दिनका लागि भनिएको छ," कांग्रेस महामन्त्री शर्मा भन्छन्।

प्रचण्डले पछिल्लो समय कांग्रेस नेताहरूसँग अनौपचारिक संवाद बढाएको माओवादी उपाध्यक्ष सापकोटा स्विकार्छन्।

"अनौपचारिक कुरा नेताहरूबीचमा भइरहेको छ तर सरकारको समीकरणबारे ठोस, मूर्त र व्यवस्थित कुराकानी त भएको छैन," उनी भन्छन्।

"अध्यक्षले प्रस्टै भन्नुभएको छ नि। हामी बाहिर बसेर समर्थन दिन परे पनि दिन्छौँ तर हाम्रो ध्यान अहिले सरकारमा छैन, जनतामै छ।"

एमाले नेताहरू भने गठबन्धन र सरकार तलमाथि नहुनेमा विश्वस्त देखिन्छन्।

"कांग्रेस सभापति र एमाले अध्यक्षबीच कुरा मिलुन्जेल यो सरकार केही हुँदैन अर्थात् चुनावसम्म यो सरकार जान्छ," महासेठ भन्छन्।

राजनीतिक विकासक्रमका कारण भन्दा पनि गठबन्धनभित्र देखिएको खटपटको 'मौका छोपेर' प्रचण्डले "नयाँ वर्षमा नयाँ सरकार" भनेको हुन सक्ने राजनीतिशास्त्रका प्राध्यापक आचार्य बताउँछन्।

"प्रचण्डजी माहौल हेरेर बोल्नुहुन्छ। उहाँले अहिले मौसम देख्नुभएको छ," प्राध्यापक आचार्य भन्छन्।

प्रचण्डले एमाले अध्यक्ष ओलीलाई सरकारबाट बाहिर निकाल्ने सही समय यही भएको आकलन गरेको हुन सक्ने आचार्य ठान्छन्।

"उनले ओलीलाई किनारा लगाउने सही समय यो पनि हो भन्ने बुझेका छन् किनभने उनको प्रतिद्वन्द्वी एमाले पनि हो," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।