अमेरिका र युरोपले नजिकबाट नियालिरहेको जर्मनीको चुनावमा मतदान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, पल कर्बी
- Role, युरोप डिजिटल सम्पादक
खस्कँदो अर्थतन्त्र र आप्रवासनलाई दोष दिइएको सुरक्षा चिन्ता सम्बोधन प्रमुख चुनावी मुद्दा बनेको जर्मनीमा आइतवार संसदीय निर्वाचनको मतदान भएको छ।
अमेरिका र युरोपले नजिकबाट नियालिरहेको चुनावमा हाल ६९ वर्षका कन्जर्भेटिभ नेता फ्रिडरिख मेर्ट्स भावी चान्सलर हुने दौडमा अगाडि देखिएका छन्।
उनले अधिकांश समस्या चार वर्षमा समाधान गर्ने वाचा चुनावी प्रचारका क्रममा गरेका छन्।
यदि उनको क्रिश्चियन डेमोक्याट्स (सीडीयू)ले चुनाव जित्यो भने पनि चान्सलर बन्न उनले अर्को एउटा पार्टीसँग गठबन्धन गर्नुपर्ने हुन्छ। हालका चान्सलर ओलाफ शोल्ट्सको दल उक्त गठबन्धनमा सहभागी हुनसक्ने आकलन भएका छन्। शोल्ट्स नेतृत्वको सरकार गत वर्ष ढलेको थियो।
मतदानको सङ्घारमा मेर्ट्सले चरम दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी)सँग कुनै पनि सम्झौता नगर्ने अडान दोहोर्याएका थिए। एएफडी दोस्रो ठूलो दल र शोल्ट्सको पार्टी भन्दा पनि ठूलो हुने देखिएको छ।

तस्बिर स्रोत, Reuters
जर्मनीमा मतदानका लागि पाँच करोड ९२ लाख मानिसहरू योग्य छन्। जसमध्ये दशौँ लाखले चुनावको दिन अघि नै हुलाकमार्फत् आफ्नो मत व्यक्त गरिसकेका छन्। मत सर्वेक्षणहरूले २० प्रतिशत मानिसहरू चुनावको दिनसम्म पनि अनिर्णीत रहेको देखाएका छन्।
जर्मनीको समयअनुसार आइतवार साँझसम्म सम्भावित विजेताबारे थाहा भइसक्ने विवरण आएका छन्।
जर्मनीमा भएको महत्त्वपूर्ण चुनावबाट मतदाताहरू उत्साहित देखिएका छन् र मतदानको अघिल्लो दिनसम्म पनि प्रचार प्रयास जारी देखिएका थिए। चुनावका क्रममा हुने भनिएका १० वटा चुनावी बहसमध्ये अन्तिम बहस शनिवार आयोजना गरिएको थियो।
अमेरिकी उपराष्ट्रपतिको भेटले तरङ्ग

तस्बिर स्रोत, Getty Images
विश्वमञ्च र आन्तरिक मामिलामा पनि जर्मनीले महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने भएका कारण यो चुनावलाई देशको राजनीतिमा एक महत्त्वपूर्ण क्षण मानिएको छ।
मेर्ट्सले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन् तर बर्लिन आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावमा छ।
जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो। यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ।
हालै युरोप आएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले चरम दक्षिणपन्थी एएफडीका तर्फबाट चान्सलरको उम्मेदवार बनेकी एलिस वाइडलसँग भेट गरेपछि जर्मन नेताहरू तरङ्गित भएका छन्। किनभने यसअघि अमेरिकाले चरम दक्षिणपन्थी शक्तिसँग खासै सम्बन्ध राख्ने गरेको थिएन।
चरम दक्षिणपन्थी शक्तिसँगको सहकार्य जर्मनीको आन्तरिक राजनीतिमा पनि निषेधित जस्तै छ। गत महिना संसद्मा उक्त शक्तिको समर्थन लिँदा मेर्ट्सले पनि आन्तरिक आलोचना खेप्नु परेको थियो।
चुनावको अघिल्लो दिन शनिवार पनि जर्मनीका कैयौँ सहरहरूमा चरम दक्षिणपन्थी शक्तिविरुद्ध प्रदर्शनहरू भए।
एएफडीका चुनावी मुद्दा के छन्

तस्बिर स्रोत, Getty Images
चरम दक्षिणपन्थी शक्तिको पहिचान बनाएको एएफडी देशको पूर्वी क्षेत्रमा यसअघिबाटै लोकप्रिय छ। तर पछिल्लो समय यसले पश्चिमी क्षेत्रमा पनि आफ्नो समर्थन जुटाउँदै गएको छ। विशेषगरी टिकटकको माध्यमबाट युवा समर्थकहरू यसले जुटाउँदै गएको छ।
एएफडीले जर्मनीलाई युरोपेली सङ्घ ईयूबाट अलग गर्ने मुद्दा अघि सारेको छ। जलवायु परिवर्तन नियन्त्रणका लागि चालिएका कदमहरू खारेज गर्ने, आणविक ऊर्जा केन्द्रहरू बनाउने अनि रुससँग ग्यास खरिदका लागि निर्माण गरिएका संरचना पुनर्निर्माण गरेर रूससँगको सम्बन्ध सुधार गर्नुपर्ने पक्ष यो पार्टीले लिएको छ।
यो पार्टीले आप्रवासनबारे पनि बलियो आवाज उठाएको छ। आप्रवासीहरू संलग्न भएको आरोप लागेका गत मे यताका पाँच वटा घातक आक्रमणपछि जर्मनीमा आप्रवासन नियन्त्रणबारे आवाज चर्को हुँदै गएको छ।
एएफडीले अपराधमा संलग्न भएको आरोप लागेका आप्रवासीहरूलाई उनीहरूकै देशमा फर्काउने विवादास्पद 'पुनः आप्रवासन'को नीति लिएको छ। तर यो नीतिले ठूलो सङ्ख्यामा आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने सम्भावना औँल्याइएका छन्।
आप्रवासन विरोधी यो पार्टीले गएको बर्खामा भएको युरोपेली चुनावमा उल्लेख्य मत ल्याएको थियो। यो दलका सामाजिक मुद्दाहरू प्रस्ट नभए पनि सुरक्षा सम्बन्धी प्रस्ट सन्देश छ।
यद्यपि मत सर्वेक्षणहरूमा चुनावमा कुन उम्मेदवार अगाडी छन् भन्ने प्रस्ट देखिएको छ र कतिपय पार्टीहरूले संसद्मा स्थान सुरक्षित गर्नका लागि पाँच प्रतिशतको थ्रेसहोल्ड पूरा नगर्ने देखिएको छ।
'बुन्डस्टाक' भनिने जर्मनीको ६३० सदस्यीय संसद्मा कुनै एउटै दलको बहुमत नआउने र गठबन्धन सरकार बन्ने आकलन भएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








