जर्मनीको क्रिसमस मेलामा कार हमला गर्ने सन्दिग्ध व्यक्तिबारे हामीलाई के थाहा छ?

तस्बिर स्रोत, Reuters
- Author, ज्याकलिन होवार्ड
- Role, बीबीसी न्यूज
पूर्वी जर्मनीको माग्डबर्ग सहरको क्रिसमस मेलामा एउटा तीव्र गतिको कारले भिडमाथि आफूलाई जोत्दा एक ९ वर्षका बालकसहित ५ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार शुक्रवार साँझ भएको उक्त हमलामा दुई सय भन्दा बढी घाइते भएका छन् जसमा ४१ जनाको अवस्था गम्भीर छ।
कालो रङ्गको बीएमडब्ल्यू एसयूभीले भिडभाड रहेको उक्त मेलामा ४०० मिटरसम्म जोतेको थियो र उक्त हमला करिब ३ मिनेट चलेको थियो।
स्थानीय सञ्चारमाध्यमहरूले सन्दिग्ध हमलाकारी ५० वर्षका साउदी नागरिक तालेब अल-अब्दुलमोहसेन रहेको जनाएका छन्।
उनी सन् २००६ मा जर्मनी पुगेका थिए र त्यहाँ चिकित्सकको रूपमा काम गर्दै आएका थिए।
आइतवार बिहान माग्डबर्ग प्रहरीले ४५, ५२, ६७ र ७५ वर्षका चार महिला उक्त हमलामा मारिएको पुष्टि गरेको थियो।
"न्यायाधीशले सुनुवाइअघि पाँचवटा हत्या, कैयौँ हत्याका प्रयास र कैयौँ शरीरमा खतरनाक क्षति पुर्याएकोमा थुनामा राख्न आदेश दिएका छन्,"प्रहरीले भनेको छ।
आक्रमणकारीबारे अधिकारी के भन्छन्?

तस्बिर स्रोत, Getty Images
एक जना अभियोजनकर्ता होर्स्ट वाल्टर नोपेन्सले अनुसन्धान चलिरहेको र यो अपराधको कारण 'साउदी अरेबियाका शरणार्थीहरूमाथि जर्मनीमा भइरहेको व्यवहारप्रतिको आक्रोश' रहेको हुन सक्ने बताए।
सन्दिग्ध हमलाकारीको इस्लामवादी उग्रवादीसँग कुनै पनि सम्बन्ध भएको थाहा पाइएको छैन।
सामाजिक सञ्जालमा राखिएको उनका पोस्टहरू हेर्दा उनी इस्लामबारे आलोचनात्मक रहेको जस्तो देखिन्छ।
साउदी सरकार निकट स्रोतले बीबीसीलाई बताएअनुसार उनीहरूले जर्मन अधिकारीहरूलाई 'नोट भर्बल' भनिने चारवटा कूटनीतिक नोटहरू पठाएका थिए जसमा अल-अब्दुलमोहसेनको 'ज्यादै उग्र विचारधारा'बारे चेतावनी दिइएको थियो।
नाम उल्लेख नगरेका ती स्रोतले ती चेतावनीहरू बेवास्ता गरिएको बताए।
तर अर्का अनुभवी प्रतिआतङ्कवाद विज्ञले साउदी अधिकारीहरूले जर्मनीमा किशोरी महिलाहरूलाई शरण लिन सघाएका व्यक्तिविरुद्ध 'मिथ्या प्रचार अभियान' चलाएको हुन सक्ने बताए।
सामाजिक सञ्जाल एक्समा राखिएको पोस्टमा साउदी सरकारले 'जर्मन नागरिकहरू र पीडितका परिवारप्रति ऐक्यबद्धता जनाएको' छ। साथै उसले 'हिंसा अस्वीकार्य रहेको' पनि उल्लेख गरेको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अल-अब्दुलमोहसेनको बयान लिने काम भइरहेको छ र अभियोजकहरूले उनलाई हत्या र हत्याको प्रयाससहितका अभियोग लगाउने अपेक्षा गरिएको स्थानीय अभियोजनकर्ताको कार्यालयका प्रमुखले बताएका छन्।
साक्सनी अनहल्ट राज्यका प्रिमिअर राइनर हज्लोफले प्रारम्भिक अनुसन्धानले हमलाकारी एक्लै काम गरिरहेको देखिएको बताए।
सहरका अधिकारीहरूले स्थानीय समयअनुसार साँझको सात बजेपछि करिब १०० प्रहरी, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रक र ५० उद्धार सेवाका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए।
अल-अब्दुलमोहसेनले आपत्कालीन सवारीसाधनहरूका लागि छुट्टाइएको प्रवेश बिन्दुको प्रयोग गरेर उक्त मेलामा प्रवेश गरेको ठानिएको छ।
ती सन्दिग्ध आक्रमणकारी एक जना मनोपरामर्शविज्ञ भएको र उनी माग्डबर्ग बाट ४० किलोमिटर दक्षिणमा अवस्थित बनबर्गमा बस्ने गरेको थिए।
सन् २००६ मा जर्मनी आएका उनलाई सन् २०१६ मा शरणार्थीको मान्यता दिइएको थियो। आफ्नो खाडी देशबाट अभियोजनको डरले भाग्ने गरेका अन्य मुस्लिम धर्म त्यागेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यसहित उनी एउटा वेबसाइट सञ्चालन गर्थे।
आक्रमणको अनुसन्धानमा सम्पूर्ण 'स्रोत परिचालन' गर्ने वाचा

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
शनिवार साँझ मृतकहरूको सम्मानमा माग्डबर्ग क्याथ्रीडलमा एउटा श्रद्धाञ्जली समारोहको आयोजना गरिएको थियो।
उक्त समारोहमा पीडितका परिवार, आपत्कालीन उद्धारकर्ता, सरकारी अधिकारी र जर्मन चान्सलर ओलाफ ओलाफ शोल्ट्स पनि सहभागी थिए।
उनले उक्त घटनालाई 'त्रासदीपूर्ण विपद्' भन्दै हमलामा संलग्न संदिग्धबारेको अनुसन्धानमा सम्पूर्ण स्रोत साधन परिचालन गरिने बताएका थिए।
प्रत्यक्षदर्शीहरूले कार आइरहेको बाटोबाट मानिसहरू उफ्रिरहेको, भागेको र लुकेको दृश्यको वर्णन गरेका छन्।
शुक्रवारको हमला क्रिसमस बजारमा जर्मनीमा आक्रमण भएको पहिलो घटना भने होइन।
आठ वर्षअघि त्यहाँ कट्टरपन्थी सम्बद्धता भएका एकजना शरण पाउन विफल व्यक्तिले बर्लिन सहरको क्रिसमस मेलामा गाडी हमला गर्दा १२ जना मानिसहरू मारिनुका साथै ४९ जना घाइते भएका थिए।
त्यसको दुई वर्षपछि एकजना बन्दुकधारीले पूर्वी फ्रान्सको एक सहर स्टार्जबर्गमा अन्धाधुन्ध गोली चलाउँदा पाँचजना मारिनुका साथै ११ जना घाइते भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








