घरमा दोस्रो विश्वयुद्धको ट्याङ्क राख्ने जर्मन वृद्धलाई ठूलो जरिवाना

प्यान्थर ट्याङ्क

तस्बिर स्रोत, Carsten Rehder/DPA

तस्बिरको क्याप्शन, दोस्रो विश्वयुद्धमा प्रयोग भएको प्यान्थर ट्याङ्क उत्तरी जर्मनीमा एउटा आवासीय क्षेत्रभित्र बरामद भएको थियो

जर्मनीमा सेवानिवृत्त एक वृद्धलाई अवैध हातहतियार राखेको अभियोगमा दोषी ठहर गरिएको छ। उनको स्वामित्वमा एउटा ट्याङ्कसहित हतियारको ठूलो भण्डार फेला परेको थियो।

ती ८४ वर्षीय व्यक्तिलाई १४ महिनाको जेल सजाय र अढाई लाख युरो अर्थात् झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ। तर उनले तत्काल जेल जानुपर्ने छैन।

गोपनीयतासम्बन्धी जर्मन कानुनअनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन।

उक्त ट्याङ्क र दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका अन्य सैन्य उपकरण उत्तरी सहर हाइकेन्डोर्फमा सन् २०१५ मा बरामद भएका थिए।

ती सामग्री हटाउन सेनाको सहयोग लिइएको थियो।

आदेशमा अरू के छ?

जर्मनीको एउटा अदालतले सोमवार ती व्यक्तिलाई उक्त ट्याङ्क र एउटा विमानभेदक तोप दुई वर्षभित्र बेच्न वा कुनै सङ्ग्रहालय वा सङ्कलकलाई दिन आदेश दिएको छ।

ती व्यक्तिका वकिलका अनुसार एउटा अमेरिकी सङ्ग्रहालयले उक्त "प्यान्थर ट्याङ्क" किन्न रुचि देखाएको छ। धेरै अमेरिकी इतिहासकारले जर्मनीले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका त्यस्ता साधनमध्ये उक्त ट्याङ्क सबैभन्दा प्रभावकारी भएको मान्यता राखेका छन्।

ती वकिललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार केही जर्मन सङ्कलकले पनि राइफल र पिस्तोलजस्ता अन्य सामग्री लिन सम्पर्क गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दोस्रो विश्वयुद्धमा प्रयोग भएको 'अर्थक्वेक' बम अहिले यसरी पड्कियो

स्थानीय अधिकारीहरूले बर्लिनस्थित सहकर्मीबाट प्राप्त सूचनाका आधारमा सन् २०१५ मा ती वृद्धको घरमा छापा मारेका थिए।

चोरिएका नाजी कलाकृति खोज्न पहिला पनि उनको घरमा खानतलासी गरिएको थियो।

त्यहाँबाट ट्र्याकबिनाको प्यान्थर ट्याङ्क निकाल्न २० सैनिकलाई झन्डै नौ घण्टा लागेको थियो।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ती व्यक्तिले एकचोटि हिउँ हटाउन उक्त ट्याङ्क प्रयोग गरेको देखिएको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बर्लिनको पर्खाल: किन ढल्यो?