एआईले डिजाइन गरेको नयाँ एन्टिबायोटिक्स कस्ता

    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता

अनुसन्धानकर्ताहरूले भनेका छन् आर्टिफिसल इन्टलिजन्स (एआई)ले दुई नयाँ सम्भाव्य एन्टिबायोटिक्सको आविष्कार गरेको छ जसले औषधि प्रतिरोधी गनरिया तथा एमआरएसए सङ्क्रमण गराउने ब्याक्टेरियालाई मार्न सक्छ।

ती नयाँ औषधिलाई एआईले अणु-अणुसम्म पुगेर डिजाइन गरेको र ती औषधिले प्रयोगशालामा अनि पशुहरूमा परीक्षण गर्दा औषधि प्रतिरोधी सुपरबग भनिने सङ्क्रामक ब्याक्टेरिया मारिदिएको बताइएको छ।

ती दुई यौगिकलाई अझै केही वर्ष परिष्कृत गर्न अनि मानिसमा क्लिनिकल परीक्षणको जरुरत पर्छ। त्यसपछि मात्रै तिनलाई डाक्टरहरूले सिफारिस गर्न सक्नेछन्।

तर यसका साथै मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नलोजी (एमआईटि)ले एआईले एन्टिबायोटिकको खोजीमा "दोस्रो सुनौलो युग" निम्त्याउन सक्ने भनेको छ।

एन्टिबायोटिक्स औषधिले ब्याक्टेरिया मार्छ। तर औषधि प्रतिरोधी किसिमका सङ्क्रमणहरूका कारण अचेल बर्सेनि दश लाखभन्दा धेरै मानिसहरूको ज्यान गइरहेको बताइन्छ।

एन्टिबायोटिक्सको अधिक प्रयोगले ब्याक्टेरियालाई ती औषधिबाट जोगिने गरी विकास हुन सघाइरहेको छ। अनि दशकौँदेखि नयाँ खालका एन्टिबायोटिक्सको विकास हुन सकेका छैनन्।

अनुसन्धानकर्ताहरूले विगतमा हजारौँ किसिमका रसायनहरूको अध्ययन गर्न र नयाँ एन्टिबायोटिक्स बन्ने सम्भावित रसायन पत्ता लगाउन एआईको उपयोग गरेका थिए।

एन्टिबायोटिक्स विकासका निम्ति दुई शैली

यो पटक एमआईटीको टोली एक कदम अघि बढेर जेनेरेटिभ एआईको प्रयोग गरेर नयाँ एन्टिबायोटिक्सको डिजाइन गराएको हो।

सेल नामक जर्नलमा प्रकाशित उनीहरूको अनुसन्धानमा ३ करोड ६० लाख थरी यौगिक - जसमा हाल अस्तित्वमा नरहेका वा पत्ता नलागेका सम्मिश्रण समेत थिए - बारे एआईमार्फत् अध्ययन गराइयो।

वैज्ञानिकहरूले एआईलाई पहिचान गरिएका यौगिक तथा तिनको डेटा उपलब्ध गराए अनि तिनले विविध थरीका ब्याक्टेरिया वृद्धि रोक्न सक्ने वा नसक्ने भनेर जाँच्न प्रशिक्षित गरे।

त्यसपछि एआईले कार्बन, अक्सिजन, हाइड्रोजन तथा नाइट्रोजनजस्ता तत्त्वका अणुबाट बनेका विभिन्न मलिक्युलर संरचनासँग ब्याक्टेरियाले देखाउने व्यवहार बुझ्न थाल्यो।

अनि नयाँ एन्टिबायोटिक्स विकासका निम्ति दुई शैली अपनाइयो। पहिलो शैलीमा दशौँ लाख थरी रासायनिक तत्त्वहरूमाझ खोजिएको सम्भावित तत्त्व पहिचान गरेर एआईलाई थप अध्ययन गर्न दिइयो। दोस्रो शैलीमा सुरुदेखि कै प्रक्रियामा एआईलाई स्वतन्त्र काम गर्न दिइयो।

विद्यमान एन्टिबायोटिक्ससँग मिल्दाजुल्दा यौगिकहरूलाई सुरुमै पन्छाइएको थियो। साथै यो प्रक्रियामा औषधि नकि अन्य सामग्री बनोस् भनेर निश्चित् गर्ने प्रयास गरियो। अनि मानिसलाई हानिकारक हुन सक्ने तत्त्व पनि सुरुमै पन्छाइयो।

वैज्ञानिकहरूले यौन सङ्क्रमण गनरिया तथा घातक हुन सक्ने एमआरएसए (मेथिसिलिन रेसिस्टन्ट स्टाफाइलोकोकस अरिअस) - मानिसको छालामा रहने ब्याक्टेरिया जसले शरीरभित्र प्रवेश पायो भने गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ - विरुद्ध प्रभावकारी हुने एन्टिबायोटिक्स बनाउन एआईको प्रयोग गरे।

उत्पादित भएपछि ती नयाँ औषधिलाई ती ब्याक्टेरियाविरुद्ध प्रयोगशालामा अनि सङ्क्रमित मुसामा प्रयोग गरिए। यसबाट दुईवटा सम्भावित नयाँ औषधि पत्ता लाग्यो।

"हामी अत्यधिक उत्सुक छौँ किनभने पूर्णतया नयाँ एन्टिबायोटिक्सको डिजाइन गर्न जेनरेटिभ एआईको उपयोग गर्न सकिन्छ भनेर हामीले देखाएका छौँ," एमआईटीका प्राध्यापक जेम्स कलिन्सले बीबीसीलाई भने।

"नयाँ मलिक्युलहरू छिटो र सुलभ तरिकाले विकास गर्न एआईले हामीलाई मद्दत गर्न सक्छ। यसले हाम्रो औषधि भण्डार विस्तार हुन्छ अनि शक्तिशाली प्रतिरोधी किटाणुका जीन विरुद्ध हाम्रो बुद्धिको विजय गराउन सघाउँछ।"

तर अहिले ती नयाँ औषधि क्लिनिकल परीक्षणका निम्ति तयार भइसकेका छैनन्। तिनलाई थप परिष्कार गर्न जरुरी छ जसलाई अर्को एक दुई वर्ष लाग्न सक्छ। त्यसपछि मानिसमा परीक्षणको अर्को लामो चरणबाट गुज्रनु पर्छ।

फ्लेमिङ् इनिसिएटिभ तथा इम्पेरिअल कलेज लण्डनका डा एन्ड्र्यु एड्वार्ड्स भन्छन् यो अध्ययन 'निकै महत्त्वपूर्ण' छ र यसले 'विशाल सम्भावना' बोकेको छ किनभने यसले 'नयाँ एन्टिबायोटिक्स पत्ता लगाउने नवीन उपाय अपनाएको छ।'

तर उनले भने: "औषधि पत्ता लगाउन र विकास गर्न एआईले नाटकीय योगदान दिन सक्ने भए पनि हामीले यसको सुरक्षा र प्रभावकारिताबारे आवश्यक कठिन परीक्षणहरू गर्नै पर्छ।"

त्यस्ता परीक्षण भनेको लामा अनि महँगा प्रक्रिया हुन्। अन्त्यमा ती औषधि बिरामीलाई सिफारिस गरिने छन् भन्ने पनि ग्यारेन्टी हुँदैन।

कतिपयले चाहिँ औषधि पत्ता लगाउने एआई प्रणालीमा थप सुधार हुनु पर्ने बताइरहेका छन्। प्राध्यापक कलिन्स भन्छन् प्रयोगशालामा काम गर्ने भन्दा पनि मानव शरीरमा प्रभावकारी हुने औषधि पत्ता लगाउने 'सुधारिएका एआई मोडेल' आवश्यक छ।

एआई डिजाइनहरूको निर्माण पनि चुनौतीपूर्ण हुन्छन्। सैद्धान्तिक रूपमा गनरियाको लागि भनेर डिजाइन गरिएका ८० थरी उपचारमध्ये केवल दुई वटाको मात्र औषधि निर्माणमा उपयोग गरिएको थियो।

युनिभर्सिटी अफ वारविकका प्राध्यापक क्रिस डवसन भन्छन् पछिल्लो अध्ययन उत्साहजनक छ। उनी यसलाई 'प्रतिरोधी सङ्क्रमणको उदयलाई निराकरण गर्ने एन्टिबायोटिक्सको खोजतर्फ महत्त्वपूर्ण पाइला' भन्छन्।

तर औषधि प्रतिरोधी सङ्क्रमण रोक्ने खोजमा एउटा जटिल आर्थिक समस्या रहेको उनले औँल्याए - "व्यापारिक मूल्य नहुने औषधि कसरी बनाउने?"

यदि नयाँ एन्टिबायोटिकको आविष्कार हुन्छ भने, आदर्श स्थिति त के हुन्छ भने तिनको प्रयोग कम भन्दा कम गरियोस् ताकि ब्याक्टेरियाले तिनको विरुद्ध प्रतिरोधी क्षमता विकास गर्न नसकुन्। तर त्यसो गर्दा औषधि बेचेर नाफा कमाउन चाहिँ कठिन हुन पुग्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।