तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के कृत्रिम वर्षाले दिल्लीको प्रदूषण कम गराउला
- Author, शर्लिन मुलान
- Role, बीबीसी न्यूज
भारतको राजधानीमा चरम सीमामा पुगेको वायु प्रदूषण नियन्त्रणका लागि दिल्लीका पर्यावरण मन्त्रीले ‘क्लाउड सीडिङ’ भनिने कृत्रिम वर्षा गराउनेबारे छलफल भइरहेको बताएका छन्।
प्रदूषणको स्तर कम गर्नका लागि अघि सारिएको कृत्रिम वर्षाको योजनाका लागि सर्वोच्च अदालत र विभिन्न केन्द्रीय मन्त्रालयको स्वीकृति आवश्यक छ। स्वीकृति प्राप्त भएको अवस्थामा यो योजना वातावरणको अवस्था हेरेर अर्को महिना लागू गर्न सकिन्छ।
दिल्लीमा प्रदूषण कम गर्न कृत्रिम वर्षाको सुझाव दिइएको यो पहिलो पटक चाहिँ होइन। तर केही विज्ञहरू भने यो जटिल र महँगो हुनुका साथै पूर्ण रूपमा प्रदूषणसँग कम गर्न यसको प्रभावकारीका प्रमाणित नभएको बताउँछन्।
वातावरणमा यसको दीर्घकालीन प्रभाव बुझ्न अझै धेरै अनुसन्धान आवश्यक ठानिएको छ।
दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण जनता निसास्सिरहेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेका कारण त्यसको समाधान खोज्न भारतको राजनीतिक नेतृत्व आतुर देखिन्छ।
प्रदूषणको अवस्था
दिल्लीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) पछिल्लो दुई हप्तादेखि लगातार ४५० भन्दा माथि रहेको छ।
एक्यूआईले पीएम भनिने हावामा रहेको कण २.५ मापन गर्छ। अहिले दिल्लीको सूचकाङ्क स्वीकार्य सीमा भन्दा दस गुणा बढी छ।
राजधानी दिल्लीमा यसअघि परेको वर्षाले वायु प्रदूषणको स्तर केही घटेको थियो तर दीपावलीमा पटाका र आतिशबाजीका कारण वायुको गुणस्तर सूचकाङ्क फेरि जोखिमयुक्त तहमा पुगेको छ।
दिल्लीमा सवारी साधन, औद्योगिक उत्सर्जन र धुलोका कारण प्रदूषणको स्तर वर्षभर उच्च रहन्छ। तर हिउँदका दिनमा यो समस्या झन् जटिल बन्ने गरेको छ।
यसको एउटा कारण छिमेकी राज्यका किसानले बाली काटिसकेपछि पराल लगायतका बस्तु जलाएर खेत सफा गर्नु पनि हो। यसबाट निस्कने धुवाँ दिल्लीतिर आउँछ र यहाँको हावालाई अझ विषाक्त बनाउँछ।
क्लाउड सीडिङ भनिने कृत्रिम वर्षा के हो?
क्लाउड सीडिङ एक प्रविधि हो जसले बादलमा रहेको आर्द्रताको संक्षेपण प्रक्रियालाई तीव्र बनाउँछ र परिणाम स्वरूप पानी पर्न थाल्छ।
यसका लागि नुनजस्तो सिल्भर आयोडाइड र क्लोराइड जस्ता लवणहरू बादलहरूमा छर्किइन्छन्। सामान्यतया यो छर्कने विशेष मेशिनबाट हावामा पठाइन्छ।
यसरी छर्किइएका नुनका सूक्ष्म कणहरूले ‘आइस-न्यूक्लिटङ्ग’ कणहरू जस्तै काम गर्छन्।
जसका कारण बरफको क्रिस्टल बादलमा परिणत हुन थाल्छ। यसपछि, बादलमा रहेको आर्द्रताले बरफको क्रिस्टललाई घेर्छ र तिनीहरूलाई गाढा बनाउँछ र वर्षामा परिणत गर्छ।
दिल्लीमा हावाको गुणस्तर र स्वास्थ्यमा अनुसन्धान गर्ने स्वतन्त्र अनुसन्धानकर्ता पोलाश मुखर्जी भन्छन्, "यस्तो वर्षाको लागि, बादलमा आर्द्रताको सही मात्रा हुनुपर्छ ताकि बरफको केन्द्रहरू ठिकसँग बन्न सकोस्।"
यसबाहेक हावाको गतिमा पनि धेरै कुरा भर पर्ने उनको भनाइ छ। यस मौसममा दिल्लीमा हावाको गतिमा धेरै परिवर्तन भएको छ।
सन् २०१८ मा ‘डाउन टु अर्थ’ पत्रिकासँग कुरा गर्दा जलवायु विज्ञ एसके बनर्जीले यस्तो वर्षा हुने प्रक्रिया दशकौँ पुरानो भएको बताएका थिए।
भारत मौसम विज्ञान विभागको पहिलो महानिर्देशक रहेका बनर्जीले १९५२ मा यसको प्रयोग गरेका थिए।
सन् १९६० को दशकमा, अमेरिकाले भियतनाम युद्धमा भियतनामी सेनाको सैन्य आपूर्ति अवरुद्ध गर्न यो प्रविधि प्रयोग गरेको थियो। त्यसबेला यो विषयमा यो प्रयोग निकै विवादित भएको थियो।
चीन र संयुक्त अरब इमिरेट्स जस्ता देशहरू र कहिलेकाहीँ भारतका केही राज्यहरूले पनि खडेरीको सामना गर्न यो प्रविधिको प्रयोग गरेका छन्।
दिल्ली सरकार के गर्न चाहन्छ?
भारतको प्रमुख इन्जिनियरिङ कलेजका रूपमा नाम कमाएको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आईआईटी कानपुरका अनुसन्धानकर्ताहरूले दिल्लीमा कृत्रिम वर्षाका लागि परियोजना रिपोर्ट बुझाएका छन्।
योजना अनुसार यो आयोजना दुई चरणमा सञ्चालन हुनेछ। पहिलो आयोजनाअन्तर्गत ३०० वर्ग किलोमिटर क्षेत्रफल समेटिनेछ।
यो आयोजना नोभेम्बर २० र २१ गते सुरु गर्नुपर्ने विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार त्यसबेलाको मौसम यसका लागि उपयुक्त हुनेछ।
परियोजनाको नेतृत्व गरिरहेका मनिन्द्र अग्रवालले समाचार एजेन्सी रोएटर्ससँग कृत्रिम वर्षाको प्रक्रियाबाट पूरै दिल्लीलाई ढाक्न पर्याप्त बादल उत्पादन नहुने भएकाले यो केही सय किलोमिटरमा मात्र समेटिने बताए।
के कृत्रिम वर्षाले प्रदूषण घटाउँछ?
वर्षाले हावामा रहेका प्रदूषणका कणहरू पखालेर हावा सफा गर्नुका साथै र सास फेर्न योग्य हुने यो प्रविधि प्रयोग गर्नुको पछाडिको प्रमुख कारण हो।
गत साता दिल्लीमा भएको सामान्य वर्षाले प्रदूषणको स्तर केही घटाएको छ, त्यसैले यो प्रविधि प्रभावकारी साबित हुने मानिसहरूको भनाइ छ।
तर यो प्रविधि प्रदूषण कम गर्न कत्तिको सहयोगी हुन्छ भन्ने अझै स्पष्ट भइनसकेको विज्ञहरू बताउँछन्।
अन्य देशमा हावाको गुणस्तर व्यवस्थापन र धूलो दबाउनका लागि कृत्रिम वर्षाको प्रयोग गरिएको मुखर्जी बताउँछन्।
“वर्षाले हावाको गुणस्तरमा पार्ने प्रभाव हेर्दा यसले प्रदूषणको स्तर कम भएको देखिन्छ तर ४८ देखि ७२ घण्टाभित्रै फेरि प्रदूषण उस्तै हुन्छ,” मुखर्जी भन्छन्।
“कृत्रिम वर्षा महँगो प्रक्रिया हो र यसले पहिले नै सीमित स्रोतहरूलाई परिचालन गर्छ तर यसको तत्काल वा दिगो प्रभाव अहिलेसम्म प्रमाणित भएको छैन।”
यस विषयमा गहन छलफल र बहस हुनुपर्ने उनको भनाइ छ। उनी यसलाई कामचलाउ निर्णयको रूपमा कार्यान्वयन गर्न नहुने र मौसमविद्, वायु गुणस्तर नीति विशेषज्ञ र महामारी विशेषज्ञहरू सहितका विशेषज्ञहरूको टोली बनाएर छलफलको शृङ्खला चलाउनुपर्ने बताउँछन्।
केही विशेषज्ञहरूले यसको प्रक्रियाबारे कैयौँ कुराहरू सार्वजनिक नभएकोबारे चासो राखिरहेका छन्।
“कृत्रिम वर्षाका कारण हावाको गुणस्तर सूचकाङ्क कति घट्छ भन्ने अझै थाहा हुन सकेको छैन। यो पनि थाहा छैन कि यसले कस्तो प्रभाव पार्छ किनकि यसो गर्दा हामी प्रकृतिको प्रक्रियालाई उल्ट्याउन खोज्दै छौँ र यसको पनि सीमा हुन्छ,” जलवायु परिवर्तन तथा दिगोपना विज्ञ अविनाश मोहन्ती भन्छन्।
यसरी पानी परेर वा हावाको गति परिवर्तन गरेर मात्रै प्रदूषणको समस्या अन्त्य नहुने उनको भनाइ छ।
“बेलाबेलामा यस्ता अप्रमाणित प्रयोग मात्र गर्नुको सट्टा प्रदूषण अन्त्यका लागि निरन्तर प्रयास जारी राख्नुपर्छ,” उनी भन्छन्।
जोया मतिनबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।