तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अमेरिका चन्द्रमामा फर्किएको छ': पहिलो पटक निजी कम्पनीको व्यावसायिक यान अवतरण
- Author, जोनाथन एमस
- Role, विज्ञान संवाददाता
अमेरिकाको एउटा निजी कम्पनी चन्द्रमामा आफ्नो अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ।
ह्यूस्टनस्थित 'इन्टूइटिभ मशीन्स'ले आफ्नो ओडिसिअस रोबट चन्द्रमाको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण गराएको हो।
पृथ्वीबाट उक्त अन्तरिक्षयानको उडान र अवतरण नियन्त्रण गर्ने टोलीलाई ओडिसिअस चन्द्रमामा ओर्लिएको निर्क्योल गर्न केही बेर लाग्यो। केही मिनेटमा सङ्केत पाएपछि उनीहरूले सफल अवतरणबारे जानकारी दिए।
"कुनै द्विविधाबिना हाम्रो उपकरण चन्द्रमाको सतहमा छ भन्ने हामी पुष्टि गर्न सक्छौँ अनि हामी सञ्चार गरिरहेका छौँ," फ्लाइट निर्देशक टिम क्राइनले घोषणा गरे।
उक्त खबरसँगै सो कम्पनीका कर्मचारीहरूले ताली बजाइर हर्षोल्लास गरेका थिए।
इन्टूइटिभ मशीन्सको सफलता अन्तरिक्षको व्यावसायिक उपभोगका लागि मात्र नभएर सामान्य रूपमै समेत अमेरिकी अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि हो।
अब चन्द्रमाको सतहमा आधा शताब्दीदेखि अमेरिकाको अनुपस्थिति मेटिएको छ।
यसअघि सन् १९७२ अन्तिम अपोलो मिशनले नियन्त्रित रूपमा चन्द्रमामा अवतरण गरेको थियो।
नासाले दियो बधाई
अमेरिकी अन्तरिक्ष निकाय नासाले छवटा वैज्ञानिक उपकरण पठाउन ओडिसिअसलाई पैसा तिरेको थियो।
नासाका प्रशासक बिल नेल्सनले अवतरणपछि तत्कालै इन्टूइटिभ मशीन्सलाई बधाई दिँदै यो अभियानलाई "विजय" को सङ्ज्ञा दिए।
"संयुक्त राज्य अमेरिका चन्द्रमामा फर्किएको छ," उनले भने।
"आज मानवजातिको इतिहासमा पहिलो पटक एउटा व्यावसायिक कम्पनी - अमेरिकी कम्पनी - लामो यात्रा सुरु गरेर माथि त्यहाँ पुगेको छ। अनि आजको दिनले नासाका व्यावसायिक साझेदारको शक्ति र सम्भावना देखाउँछ।"
अवतरणअघि देखिएको समस्या
अन्तरिक्षयान ओर्लिन थाल्नुअघि नै नियन्त्रकहरूले झन्डै यो अभियान नै रोकिन सक्ने खालको प्राविधिक समस्या खेपेका थिए।
ओडिसिअसको उचाइ र गत मापन गर्ने 'रेन्जिङ लेजर'हरूले राम्ररी काम नगर्दा समस्या उत्पन्न भएको थियो।
संयोगवश उक्त यानमा नासाले पठाएका केही प्रयोगात्मक लेजरहरू थिए। प्राविधिकहरूले अन्तरिक्षयानको उडान नियन्त्रण र मार्गनिर्देशन गर्न प्रयुक्त नेभिगेशन कम्प्युटरहरूसँग तिनलाई जोड्न सफल भए।
ओडिसिअस जीएमटीअनुसार राति ११ बजेर २३ मिनेट (नेपाली समयानुसार शुक्रवार बिहान ५ बजेर ८ मिनेट) जाँदा चन्द्रमामा अवतरण गरेको थियो।
सुरुमा उक्त रोबटबाट कुनै सङ्केत प्राप्त भएन। प्रत्येक मिनेट बित्दै जाँदा अन्योल बढेको थियो।
अन्ततः कमजोर नै भए पनि एक पटक सञ्चार सम्पर्क स्थापित हुन सक्यो। त्यसबाट उक्त ल्यान्डरको अवस्थाबारे केही चिन्ता उत्पन्न भयो।
यद्यपि दुई घण्टाभित्रै इन्टूइटिभ मशीन्सले ओडिसिअस सही तरिकाले ओर्लिएको जानकारी दियो तथा तस्बिर र अन्य डेटा पठाउन थाल्यो।
सधैँ अँध्यारो हुने ठाउँमा पानी हुन सक्छ
ओडिसिअसलाई ‘म्यालपर्ट’ नाम दिइएको पाँच किलोमिटर अग्लो पर्वतीय क्षेत्रनजिकै रहेको खाडलमा अवतरण गराउने लक्ष्य राखिएको थियो।
चन्द्रमामा त्यति दक्षिणमा कुनै अन्तरिक्षयान पुगेको अहिले पहिलो पटक हो।
नासाले ‘आर्टमिस’ परियोजनाअन्तर्गत आफ्ना अन्तरिक्षयात्री पठाउन छानेका स्थानहरूमा उक्त ठाउँ पनि पर्छ।
उक्त क्षेत्रमा सूर्यको प्रकाश कहिल्यै नपुग्ने गहिरा खाडलहरू छन्। त्यहाँ सधैँ छाया पर्छ।
वैज्ञानिकहरूले त्यहाँ जमेको पानी हुन सक्ने अनुमान गरेका छन्।
“बरफ निकै महत्त्वपूर्ण छ किनभने यदि चन्द्रमामा त्यो बरफबाट फाइदा लिन सकियो भने हामीले थोरै सामान लिएर गए हुन्छ,” नासाको ग्रहविज्ञान विभागकी निर्देशक लोरी ग्लेजले भनिन्।
“हामी त्यो बरफबाट पानी बनाउन सक्छौँ – सेवनयोग्य खानेपानी – अनि हामी अन्तरिक्षयात्रीहरूलाई सास फेर्नका लागि अक्सिजन र इन्धनका लागि हाइड्रोजन निकाल्न सक्छौँ। त्यसलै यसले अन्वेषणमा हामीलाई साँच्चै सघाउँछ।“
नासाको कस्तो अनुसन्धान
ओडिसिअसमा नासाका छवटा ‘पेलोड’ छन्। तिनमा ‘टेक डिमो’ अर्थात् ‘प्रोटटाइप’ र विज्ञानसँग सम्बन्धित उपकरणहरू छन्।
एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे एउटा महत्त्वपूर्ण अध्ययन गर्ने छ।
पहिला अपोलो यानमा गएका अन्तरिक्षयात्रीहरूले धुलोका कारण आफ्ना उपकरणमा कोरकार भएको र मैला जमेकोले त्यसलाई “गम्भीर समस्या” मानेका थिए।
अहिले वैज्ञानिकहरू यान अवतरण हुँदै गर्दा धुलो कसरी उड्छ र फेरि भुइँमा बस्नुअघि सतहमाथि तैरिएर बस्छ भनेर राम्ररी जान्न चाहन्छन्।
सेल्फी खिच्ने क्यामरा र स्टीलका बल
ती छवटा पेलोडमध्ये एउटा एम्ब्री-रiडल एअरोनोटिकल यूनिभर्सिटीले पैसा तिरेर पठाएको एउटा 'स्टूडन्ट क्यामरा सिस्टम' पनि छ।
उक्त यो क्यामरा प्रणाली ओडिसिअस यान चन्द्रमाको सतहभन्दा ३० मिटरमाथि हुँदा नै निस्किने र काम गर्न थाल्ने प्रबन्ध मिलाइएको थियो।
ओडिसिअसले रोबटले आफ्नो अभिलेख राख्दै गर्दा सेल्फी खिच्न सक्ने गरी यसलाई बनाइएको थियो।
अमेरिकी कलाकार जेफ कुन्सले ल्यान्डरको एउटा छेउमा स्टीलका १२५ वटा बल भएको एउटा बाकस पनि पठाएका छन्।
ती बल एक महिनामा देखिने चन्द्रमाका विभिन्न कलाका प्रतीक हुन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।