सीसीटीभीमा उस्तै हुलिया देखिएपछि गहना लुटेको आरोपमा जेल

भीके ताजुद्दीनको परिवार

तस्बिर स्रोत, VK THAJUDHEEN

    • Author, अशरफ पदाना
    • Role, संवाददाता, त्रिवेन्द्रम केरला

दक्षिण भारतको केरलामा सन् २०१८ मा लुटपाट गरेको आरोपमा एक व्यक्ति पक्राउ परे। उनी छ साता जेलमा बिताउन बाध्य भए। पछि अदालतले उनलाई सफाइ दियो तर त्यति बेलासम्म उनले ठूलो क्षति बेहोरिसकेका थिए। उनी अझै पनि न्यायका लागि सङ्घर्ष गरिरहेका छन्।

सीसीटीभीमा देखिएको एउटा दृश्यका आधारमा प्रहरीले भीके ताजुद्दीनलाई एक महिलाको गलाबाट सुनको गहना लुटेर भाग्ने व्यक्ति भन्ठान्यो। घटनाको समयमा आफू अरू नै ठाउँमा भएको सबुत उनीसँग थियो। तर उनका साथी र परिवारले वास्तविक लुटेरा पत्ता लगाउन थप प्रमाण सङ्कलन गरेपछि मात्रै उनी निर्दोष ठहर भए।

ताजुद्दीनको जस्तो घटना भारतमा असामान्य चाहिँ होइन। यसै वर्षको सुरुमा हैदराबादमा अस्पष्ट सीसीटीभी दृश्यका आधारमा पक्राउ गरिएको भनिएका एक मजदुरको प्रहरी यातनाका कारण मृत्यु भएको आरोप लाग्यो। प्रहरीले उनलाई यातना दिएको आरोप अस्वीकार गरेको छ।

यो घटनाका कारण ठूलो आक्रोश उत्पन्न भयो र भारतीय सहरहरूमा सुरक्षा क्यामरा र अरू निगरानीका उपकरणहरूको बढ्दो व्यापक प्रयोगबारे मानिसहरूको ध्यानाकृष्ट गर्‍यो।

कानुन कार्यान्वयन गर्ने निकायहरू अपराधसँग सम्बन्धित रहस्य पत्ता लगाउन र प्रमाण खोज्न सीसीटीभी क्यामरा र अनुहार पहिचान गर्ने अन्य प्रणालीमा निर्भर हुन थालेका छन्। तर अभियानकर्मीहरूले त्यसबाट मानवाधिकार उल्लङ्घन हुने सम्भावना औँल्याएका छन्।

उस्तै हुलिया भएकाले जेल पर्दाको कटु अनुभवका कारण आफू निकै विचलित भएको ताजुद्दीन बताउँछन्।

उनलाई पक्राउ गर्ने प्रहरी अधिकारी कारबाहीमा परे। उनको सरुवा भयो र तलब वृद्धि रोकियो। तर त्यो कारबाही अत्यन्तै सामान्य भएको ताजुद्दीनको भनाइ छ।

रेड लाइन
रेड लाइन

पत्नी पनि झुक्किइन्

ताजुद्दीन अहिले प्रहरीबाट क्षतिपूर्ति पाउनका लागि अदालतमा मुद्दा लडिरहेका छन्। उनले आफ्नो कथा पत्रकार शेभ्लिन सेबास्टियनले सहलेखन गरेको पुस्तकमा सार्वजनिक गरेका छन्।

ताजुद्दीनको कथा सुनेपछि उक्त घटनाबारे पुस्तक लेख्ने निर्णय गरेको सेबास्टियनले बताए।

“मलाई ‘यदि उनीसँग यस्तो भयो भने मलाई पनि हुनसक्छ’ भन्ने लाग्यो,” उनले भने।

सन् २०१८ को जुलाई १० मा ताजुद्दीनको दुर्दशा सुरु भएको थियो। त्यो दिन राति उनी आफ्नी छोरीको बिहेभोजबाट घर फर्किँदै थिए। उनकी छोरीको विवाह केही दिनअघि भएको थियो।

ताजुद्दीन दोहामा कार भाडामा दिने व्यवसाय गर्थे। उनी छोरीको बिहेका लागि १५ दिन बिदा लिएर आएका थिए।

“सबै कुरा योजनाअनुसारै भएकाले म निकै आनन्दित महसुस गरिरहेको थिएँ,” उनी भन्छन्।

“तर अचानक मेरो जीवन नरकजस्तो बन्यो।"

उनी घर पुग्दा मध्यरात हुनै लागेको थियो। ताजुद्दीनको घरमा प्रहरी बसिरहेको थियो।

उनलाई कारबाट ओरालियो र उनकी पत्नी नसीरालाई अस्पष्ट सीसीटीभी दृश्यमा देखिएका व्यक्तिको पहिचान गर्न भनियो।

“बाहिर अँध्यारो पनि थियो र उनी अलमलिइन्,” त्यो दिन सम्झँदै उनी भन्छन्। “उनले त्यो मान्छे मजस्तै देखिन्छ भनिन्।”

ताजुद्दीनका अनुसार प्रहरीले उनलाई तत्कालै आफ्नो गाडीमा राखेर प्रहरी चौकी लग्यो।

“मेरी श्रीमती र बच्चाहरूले के भइरहेको थियो भन्ने पत्याउनै सकेनन्,” उनी भन्छन्।

ताजुद्दीनलाई स्कूटरमा चढेर गई एउटी महिलाले लगाएको सुनको सिक्री लुटेर भागेको भन्दै मुद्दा चलायो। मुद्दा चलाउन नसीराले गरेको 'सनाखत'लाई प्रहरीले प्रमाणका रूपमा पेस गरेको उनको परिवारले पछि मात्रै थाहा पायो।

सीसीटीभी दृश्य

तस्बिर स्रोत, VK THAJUDHEEN

ताजुद्दीन ब्यूटी पार्लरमा थिए

सीसीटीभी दृश्यमा सेतो स्कूटरमा दाह्री पालेका एक व्यक्ति देखिन्थे। झट्ट हेर्दा ताजुद्दीनलाई पनि ती व्यक्ति आफूजस्तै लागेको थियो।

प्रहरीले छोरीको विवाहको लागि र घर बनाउन पैसा चाहिएका कारण उनले सुन लुटेको आरोप लगायो।

ताजुद्दीनलाई देखेपछि सुनको सिक्री लुटिएकी महिलाले पनि लुट्न आउने व्यक्ति उनै भएको बताइन्।

तर घटना भएको समयमा ताजुद्दीन एउटा ब्यूटी पार्लरमा रहेको बयान त्यसको सञ्चालकले दिएकी थिइन्। घटनाका एक प्रत्यक्षदर्शीले पनि उनी लुट्न आउने व्यक्ति नभएको बताएका थिए।

तर प्रहरी आफूविरुद्धको मुद्दा टुङ्ग्याउने हतारमा भएको ताजद्दीन बताउँछन्।

“मसँग के भइरहेको थियो भन्ने नै मैले बुझिरहेको थिइनँ,” उनी भन्छन्।

“उनीहरूले प्रहरी चौकीमा मलाई भेट्न आएकी श्रीमती र छोराछोरीसँग कुरा गर्न पनि दिएनन्।”

हिरासतमा आफूलाई यातना पनि दिइएको ताजुद्दीनको आरोप छ। तर प्रहरीले यस्तो आरोप अदालतमा अस्वीकार गरेको छ।

धरौटीमा रिहा हुनुअघि उनले ५४ दिन जेलमा बिताए।

भिके ताजुद्दीनको परिवार

तस्बिर स्रोत, VK THAJUDHEEN

जेलबाट फर्किँदा २३ केजी तौल घट्यो

घर फर्किँदा उनको तौल २३ किलोग्राम घटेको थियो।

छिमेकीहरूले आफूबारे के सोच्लान् भन्ने डरले उनी घरबाहिर निस्किन पनि छोडे। ताजुद्दीनको दुःख देखेर विचलित भएका उनका सातवर्षे छोरा विद्यालय जान छोडे।

अदालतमा सरकारी वकिलले सीसीटीभी दृश्यमा देखिएका व्यक्ति ताजुद्दीनसँग मिल्ने र उनको परिवारले नै ती व्यक्ति उनै हुन् भनेर सनाखत गरेको तर्क गरे।

उनले आशा गुमाउँदै गर्दा दोहामा भएका उनका साथीहरूले उनको न्यायका लागि अभियान सुरु गरे।

उनका जेठा छोराले पनि आफ्ना साथी र प्रहरी अधिकारीको सहयोगमा सीसीटीभी दृश्यमा देखिएका व्यक्तिको खोजी सुरु गरे।

रेड लाइन
रेड लाइन

कतारमा अर्को आपत्

उनीहरूको संयुक्त प्रयासले साँच्चिकै दोषी फेला पार्न सहयोग पुग्यो। ती व्यक्ति अर्को चोरीको आरोपमा जेल परिसकेका थिए।

त्यसपछि ताजुद्दीनको परिवारले राज्यका मुख्यमन्त्री र प्रहरी प्रमुखलाई भेटेर उक्त मुद्दाको अनुसन्धानमा फरक प्रहरी अधिकारीलाई खटाउन आग्रह गर्‍यो। प्रहरीले ती सन्दिग्ध लुटेराले प्रयोग गरेको स्कूटर र उनले लुटेको गहना बरामद गर्‍यो।

ताजुद्दीनले सफाइ पाए। तर उनको दुःख सकिएन।

सात महिनापछि उनी कतार फर्किए। तर त्यहाँ पनि उनलाई हिरासतमा लिइयो। उनका रोजगारदाताले उनी फरार भएको भनेर उजुरी दर्ता गरेका रहेछन्।

उनलाई भारत निष्कासन गरेर पुन: कतार प्रवेशमा प्रतिबन्ध लगाइयो।

त्यसपछि उनको परिवारले अपमान र कलङ्कबाट मुक्तिको बाटो खोज्दै केरला छोड्यो। उनीहरू अहिले कर्नाटक राज्यमा बस्छन् र ताजुद्दीनले कपडाको व्यवसाय सञ्चालन गरिरहेका छन्।

उनले एक करोड १० लाख क्षतिपूर्ति माग गर्दै प्रहरीविरुद्ध मुद्दा दर्ता गराएका छन्।

उनी आफूबारे प्रकाशित पुस्तकले प्रहारीले गलत रूपमा पक्राउ गरेका व्यक्तिहरूबारे सर्वसाधारण मानिसको ध्यानाकर्षण गराउला भन्ने अपेक्षा गर्छन्।