प्रदेशसभातर्फ कुन प्रदेशमा कसको अवस्था कस्तो?

सुनसरी-२ को प्रदेशसभा-१ बाट विजयी एमाले रेवतीरमण भण्डारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुनसरी-२ को प्रदेशसभा-१ बाट विजयी एमाले रेवतीरमण भण्डारी

यसपालिको आम निर्वाचनमा प्रदेशसभातर्फ पनि अधिकांश प्रदेशहरूमा सत्ताधारी गठबन्धनको बहुमत पुग्नसक्ने मतगणनाको पछिल्लो विवरणले देखाएको छ।

यद्यपि अझै केही स्थानमा मतगणना जारी रहेको र समानुपातिकतर्फको अन्तिम मत परिणाम आउन बाँकी भएकाले त्यसको यकिन विवरण उपलब्ध छैन।

मतगणनाको मङ्गलवार साँझसम्मको विवरणका आधारमा देशका कुल सात प्रदेशमध्ये चारवटा प्रदेशमा सत्ताधारी गठबन्धनको बहुमत पुग्नसक्ने देखिएको छ।

निर्वाचन आयोगको विवरण हेर्दा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा समाजवादी र जनमोर्चालगायतका दलहरूको बहुमत पुग्ने देखिन्छ।

यद्यपि समानुपातिकतर्फको मतका हिसाबले दलगत रूपमा सातवटामध्ये अधिकांश प्रदेशमा नेकपा एमालेको मत अरूको भन्दा बढी देखिन्छ।

समानुपातिक मतमा मधेस प्रदेशमा बाहेक अन्य सबै प्रदेशमा एमाले सबै दलभन्दा अगाडि देखिएको हो भने मधेसमा चाहिँ नेपाली कांग्रेस अगाडि छ।

प्रदेश-१ मा एमाले ठूलो दल बन्ने

विजयी उम्मेदवार

तस्बिर स्रोत, RSS

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ नेकपा एमाले प्रदेश-१ मा अन्य दलहरूभन्दा अगाडि देखिएको छ। यद्यपि उक्त दल एक्लैले सरकार बनाउने अवस्था छैन।

एमालेसँग चुनावी तालमेल गरेका राप्रपा र जसपा तथा समानुपातिकमा कम्तीमा १ सिट ल्याउन सक्ने ठानिएका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मङ्गोल न्याशनल अर्गनाइजेसनसँग मिलेर उसले सरकार बनाउन सक्ने कतिपयले बताइरहेका छन्।

प्रदेश-१ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी ९३ जना सदस्य चयन हुनेछन्।

त्यहाँ एमालेले प्रत्यक्षतर्फ २५ स्थानमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ हालसम्म ६ लाख २३ हजारभन्दा बढी मत ल्याएको छ।

सत्ताधारी कांग्रेसले भने उक्त प्रदेशमा १४ स्थानमा जित हासिल गरेको छ र ३ स्थानमा अगाडि रहेको छ। उसले समानुपातिकमा पाँच लाख २२ हजारभन्दा बढी मत ल्याएको छ।

त्यस्तै ७ स्थानमा जित हासिल गरेको माओवादी २ स्थानमा अगाडि छ। एकल चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीले समानुपातिकमा १ लाख ७६ हजारभन्दा बढी मत ल्याएका छन्।

त्यसै गरी २ स्थानमा विजयी राप्रपाले समानुपातिकमा १ लाख ८९ हजारभन्दा बढी मत ल्याएको छ।

दुई स्थानमा जित र एक स्थानमा अगाडि रहेको नेकपा समाजवादीले समानुपातिकमा ५४ हजारभन्दा बढी र प्रत्यक्षमा नजितेको जसपाले ५७ हजारभन्दा बढी मत ल्याएका छन्।

उक्त प्रदेशमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मङ्गोल न्याशनल अर्गनाइजेसनले पनि २५ हजार भन्दा बढी मत ल्याएका छन्।

तर उनीहरूले प्रदेशको थ्रेसहोल्ड १.५ प्रतिशत मत कटाउँछन् कि कटाउँदैनन् निश्चित भइसकेको छैन।

मधेस प्रदेशको अवस्था

मधेस प्रदेशमा पनि प्रत्यक्षतर्फ नेकपा एमाले अघि देखिएको छ।

एमालेले प्रत्यक्षतर्फ १५ स्थानमा जित हासिल गरेको छ भने समानुपातिकमा हालसम्म ३ लाख ३७ हजारभन्दा बढी मत प्राप्त गरेको छ।

त्यहाँ कांग्रेसले प्रत्यक्षमा १३ स्थानमा जितेको छ भने समानुपातिकतर्फ सबैभन्दा बढी ३ लाख ७३ हजारभन्दा बढी मत पाएको छ।

जसपाले प्रत्यक्षतर्फ ९ स्थानमा जितेको छ भने समानुपातिकमा २ लाख ७३ हजारभन्दा बढी मत ल्याइसकेको छ।

यद्यपि समानुपातिकमा जनमत पार्टी जसपाभन्दा अगाडि छ। उक्त दलले प्रत्यक्षतर्फ ६ स्थान जितेको छ भने समानुपातिकमा २ लाख ८५ हजारभन्दा बढी मत पाइसकेको छ।

त्यहाँ प्रत्यक्षतर्फ ७ स्थानमा लोसपाले, ४ स्थानमा माओवादीले र समाजवादीले जितेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

समानुपातिकमा एकल चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीले १ लाख ७३ हजारभन्दा बढी तथा लोसपा र समाजवादीले एक लाखभन्दा बढी मत ल्याएका छन् भने राप्रपा, सङ्घीय समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतले पनि समानुपातिकमा सिट पाउने सम्भावना देखिएको छ।

मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य चयन हुनेछन्।

वाग्मती प्रदेशको अवस्था

विजयी

तस्बिर स्रोत, rss

वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस २४ स्थानमा विजयी भएको छ भने माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा समाजवादीले ५, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक-एक स्थानमा जितेका छन्।

वाग्मतीमा मङ्गलवार साँझसम्म समानुपातिकतर्फ एमालेले ५ लाख ३८ हजारभन्दा बढी, नेपाली कांग्रेसले ४ लाख ५० हजारभन्दा बढी र एउटै चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीको २ लाख ६३ हजारभन्दा बढी मत आइसकेको छ।

उक्त प्रदेशमा राप्रपाले २ लाख ६२ हजारभन्दा बढी, नेमकिपाले ६६ हजारभन्दा बढी, नेकपा एकीकृत समाजवादीले ६२ हजारभन्दा बढी र हाम्रो नेपाली पार्टीले ४६ हजारभन्दा बढी मत ल्याएका छन्।

वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन्।

गण्डकी प्रदेशमा को अघि?

गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस १६, नेकपा एमाले १२, माओवादी केन्द्र ४ तथा नेपाल समाजवादी पार्टी एक स्थानमा विजयी भएका छन्।

एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले ३ लाख ४० हजारभन्दा बढी मत सहित अग्रस्थानमा रहेको छ।

नेपाली कांग्रेसको ३ लाख १७ हजारभन्दा बढी, एउटै चिह्न लिएर चुनाव लडेका माओवादी र नेपाल समाजवादीको १ लाख १५ हजारभन्दा बढी, राप्रपाको ५७ हजारभन्दा बढी, हाम्रो नेपाल पार्टीको १८ हजारभन्दा बढी मत रहेको छ।

गण्डकी प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सदस्य चयन हुनेछन्।

लुम्बिनी प्रदेशको अवस्था

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले १८, कांग्रेस १७, माओवादी केन्द्र ५, जसपा, लोसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टी २-२ स्थानमा विजयी भएका छन्।

त्यस्तै जनमत पार्टीले १ स्थानमा र ३ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्।

त्यहाँ समानुपातिकमा एमाले ५ लाख ७० हजारभन्दा बढी मतका साथ पहिलो स्थानमा छ भने कांग्रेसले करिब ५ लाख मत पाइसकेको छ।

एकल चिह्नमा चुनाव लडेका माओवादी र नेपाल समाजवादीले करिब २ लाख मत पाएका छन्।

त्यस्तै राप्रपाले १ लाख २७ हजारभन्दा बढी र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजारभन्दा बढी मत पाइसकेका छन्।

जनमत पार्टीले ८१ हजारभन्दा बढी, नेकपा समाजवादीले ४२ हजारभन्दा बढी र जसपाले ६० हजारभन्दा बढी तथा लोसपाले ३७ हजारभन्दा बढी मत पाएका छन्।

त्यहाँ जनमोर्चाले ३२ हजार र हाम्रो नेपाली पार्टीले २७ हजारभन्दा बढी मत पाएका छन्।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना सदस्य चयन हुनेछन्।

कर्णाली प्रदेशको अवस्था

खलङ्गा

तस्बिर स्रोत, RSS

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस ९, माओवादी केन्द्र ९, एमाले ५ र स्वतन्त्र १ जना विजयी भएका छन्।

समानुपातिकतर्फ नेकपा एमाले १ लाख ८३ हजारभन्दा बढी मतका साथ पहिलो नम्बरमा रहेको छ भने नेपाली कांग्रेस १ लाख ७० हजार मतका साथ दोस्रो स्थानमा छ।

एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादी दलको १ लाख ३७ हजारभन्दा बढी मत आएको छ।

नेकपा एकीकृतको ३५ हजारभन्दा बढी र राप्रपाको २५ हजारभन्दा बढी मत आएको छ।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सदस्य चयन हुनेछन्।

सुदूरपश्चिमको अवस्था

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ११, माओवादी ८, नागरिक उन्मुक्ति ५, एमाले ३, नेकपा समाजवादी २ र स्वतन्त्र १ जना निर्वाचित भएका छन्।

त्यहाँ समानुपातिकतर्फ एमालेको २ लाख ३३ हजारभन्दा बढी मत आउँदा कांग्रेसको २ लाख २६ हजारभन्दा बढी मत आएको छ।

एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादीको १ लाख १३ हजारभन्दा बढी, नागरिक उन्मुक्तिको ८७ हजारभन्दा बढी, नेकपा समाजवादीको ४० हजारभन्दा बढी र राप्रपाको ३६ हजारभन्दा बढी मत आएको छ।

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य हुनेछन्।